१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशसभामा पनि गृहमन्त्रीमाथि छानबिनको माग

बागमती प्रदेशसभामा धारणा राख्दै कांग्रेस संसदीय दलका नेता लामा।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने विषय प्रदेशसभामा पनि उठेको छ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।

सोमबारबाट सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेता लामाले लामिछानेमाथि संसदीय समिति छानबिन हुनुपर्ने र नभएको खण्डमा प्रदेशसभा चल्न नदिने चेतावनी दिएका हुन्।

विना धितो, विना जमानी सहकारीबाट करोडौँ रकम निकालेर अनियमितता गरेको आरोप लागेका गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने उनको माग थियो। 

‘आफू प्रतिपक्षमा हुँदा छानबिन हुनुपर्ने, आफू सरकारमा हुँदा नपर्ने भन्ने तर्क सरासर गलत हो। यदि गृहमन्त्रीमाथि छानबिन भएन भने सङ्घमा जस्तै यहाँ पनि संसद् अवरुद्ध हुन सक्छ’, नेता लामाले भने।

लामाले प्रतिपक्षको आवाजलाई कमजोर नठान्न चेतावनी दिँदै जनताले दुःख गरेर जम्मा गरेको रकम हिनामिना गर्नेलाई कांग्रेसले त्यत्तिकै नछाड्ने चेतावनी दिए।

यस्तै, उनले बागमती प्रदेशमा मन्त्रालय संख्या बढाउन लागेकोमा विरोध समेत गरे। आफूलाई चाहिँदा र सत्ता टिकाउन मन्त्रालय जति पनि बढाउन मिल्ने हो ? भन्दै उनले प्रश्न गरे।

‘हेटौंडा अस्पताल कब्जा गर्न खोजे ठिक हुन्न’

कांग्रेस प्रदेश संसदीय दलका नेता लामाले हेटौंडा अस्पतालको अस्थित्व मेटाउने प्रयास गरे ठिक नहुने चेतावनी दिएका छन्।

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हस्तान्तरण गर्न लागेको विषय बाहिरिएको भन्दै उनले अस्पतालको अस्थित्व छुट्टै हुनुपर्ने धारणा राखेका हुन्।

‘प्रतिष्ठानले सरकारको सबै सम्पत्ति लिन्छ भन्ने कहिल्यै सोचेका थिएनौँ। प्रतिष्ठान गठन गरेर सरकारी सम्पत्ति कुम्ल्याउन खोजेको हो ? हेटौंडा अस्पताल कब्जामा लिन पाइँदैन’, लामाले भने, ‘यदि हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न खोजिए हाम्रो आपत्ति रहनेछ।’

अमुक व्यक्तिले हेटौंडा अस्पताललाई प्रतिष्ठान मार्फत कब्जा गर्न खोजेको उनको आरोप थियो। सरकारी कर्मचारीलाई समेत प्रतिष्ठानको बनाएर के गर्न खोजेको भन्दै उनले प्रश्न गरे।

प्रतिष्ठान गठन हुने बेलाको सहमति भन्दा बाहिर जान खोजे ठिक नहुने उनले चेतावनी दिए। मुख्यमन्त्रीले यस विषयमा तुरुन्तै ‘एक्सन’ लिनुपर्ने उनको माग थियो।

विभिन्न नाममा खोलिएका प्रतिष्ठानलाई अनावश्यक अधिकार दिँदै जाने हो भने आगामी दिनमा थुप्रै प्रतिष्ठान बढ्दै जाने नेता लामाको भनाई थियो।

प्रकाशित: ३१ वैशाख २०८१ १९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App