१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोस्रोपटक महाधिवेशन सामना गर्दै उपेन्द्र

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को पहिलो महाधिवेशन जेठ अन्तिम साता हुने भएको छ। पार्टीको नाम परिर्वतन गर्दै निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका लागि भने यो दोस्रो महाधिवेशन हो। 

राजनीतिक जीवनमै दोस्रोपटक महाविधेशनको सामान गर्ने तयारीमा रहेका यादव नेतृत्वको जसपाले जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरेको हो। सोमबार बसेको जसपा कार्यकारिणीको बैठकले महाधिवेशनको मितिसहितको कार्यतालिका पनि सार्वजनिक गरेको छ। ‘अब तोकिएको समयमा महाविधेशन हुने निश्चित भइसकेको छ। अब यसमा शंका गर्नु पर्दैन,’ जसपाका प्रवक्ता मनीष सुमनले भने।

उपेन्द्र सामना गर्ने यो महाधिवेशनको उनको जीवनमा दोस्रो हुनेछ। यसअघि २०६५ फागुनमा तत्कालीन मधेसी जन अधिकार फोरमको पहिलो महाधिवेशन वीरगञ्जमा गरिएको थियो। त्यतिबेला उनी फोरमको अध्यक्षमा निर्विरोध चुनिएका थिए। त्यसपछि महाधिवेशन भएको छैन।

२०५४ मा मधेसी जनअधिकार फोरम गठन भएको थियो तर त्यतिबेला फोरम पार्टीको रूपमा गठन भएको थिएन। फोरम दर्ता हुँदा संस्थाको रूपमा दर्ता गरिएको थियो। २०६३सालमा फोरम पार्टीको रूपमा निर्वाचन आयोगमा दर्ता भयो। त्यसपछि यसले पार्टीको मान्यता पायो। संस्थाको रूपमा दर्ता हुँदा फोरमका पहिलो महाविधेशन २०६० मा वीराटनगरमा गरिएको थियो। तर, त्यो महाधिवेशन पार्टीको महाधिवेशन नभई संस्थाको थियो। पार्टीका रूपमा महाधिवेशन नभएको यो दोस्रोपटक हो,’ राउतले भने। तर पनि अब हुन लागेको महाधिवेशनलाई जसपाले पहिलो महाविधेशन भनेको छ। ‘२०६५ सालमा फोरमको महाधिवेशन थियो। अहिले जसपाको महाधिवेशन हो। त्यसैले यो महाधिवेशन पहिलो हो,’ सुमनले भने।

२०७७ वैशाख १२ गते जसपा पार्टी गठन गरिएको थियो। कानुनअनुसार पार्टी गठन भएको पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्छ। जसपा स्थापना भएदेखि नै पटक–पटक जुट्दैफुटदै आएको छ। दुई पाटीबीच एकीकरण भई नयाँ पार्टी गठन भएमा एकीकृत पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यता छैन। पार्टी गठन भएको पाँच वर्ष नपुग्दै यादवले अर्को पार्टीसँग एकीकरण गरी नयाँ पार्टीको घोषणा गर्ने गर्छन्। नयाँ पार्टी घोषणा हुनबित्तिकै महाधिवेशन गर्ने समय अरू पाँच वर्ष धकेलिने गर्छ। त्यसैले यादवले हम्मेसी महाधिवेशनको सामना गर्नुपरेको छैन।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनाधिकार फोरमले संविधान सभामा ५२ सिट ल्याई चौथौ ठूलो पार्टी बनेको थियो। त्यसपछि फोरम फुट्ने र जुट्ने क्रम निरन्तर चल्यो। पहिलोपटक फोरमलाई विजयकुमार गच्छेदार, शरत्सिंह भण्डारीलगायतका नेताहरूले फुटाए। त्यसपछि फोरमलाई राजकिशोर यादवले फुटाए। फोरमलाई जति पटक फुटाए पनि उपेन्द्रले अर्को नयाँ पार्टीसँग एकीकरण गरी पार्टीको नाम फेर्दै गरे। यस अवधिमा उनले डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी, अशोक राईले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादीलगायतका पार्टीसँग एकीकरण गरे। तर, अध्यक्ष पद भने कहिले छाडेनन्। बाबुराम भट्टराईसँग एकीकरण गरेपछि उनी दोस्रो अध्यक्ष भए। तर, कार्यकारी अध्यक्ष पद भने आफैंले राखे। भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाए।

जसपा स्रोतका अनुसार यही जेठमा हुने महाधिवेशनमा पनि उनी अध्यक्ष बन्ने करिब निश्चित छ। ‘यसपटक अध्यक्ष पदमा उहाँको विकल्प नै छैन। अध्यक्ष उहाँ नै हुने निश्चित छ,’ राउतले भने।

जसपाका अध्यक्षमा दाबी गर्न सक्ने सम्भावित नेताहरू भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र यादवलगायतका नेताहरू अहिले जसपाबाट अलग भइसकेका छन्। उनीहरूले अर्को पार्टी बनाइसकेका छन्। त्यसैले यसपटक अध्यक्ष बन्ने यादवलाई खासै चुनौती छैन। यद्यपि, जसपाका प्रवक्ता सुमनले अध्यक्ष पदमा कसले उम्मेदवारी दिने भन्नेबारेमा अहिले चर्चा नभएको बताए। ‘यतिबेला महाधिवेशनको सुनिश्चिता मात्र भएको छ। अध्यक्षबारेमा बहस र चर्चा सुरु भइसकेको छैन,’ उनले भने।

प्रकाशित: ४ वैशाख २०८१ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App