१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा एसलाई दाहाल-ओलीको ‘नो’

नयाँ गठबन्धनमा एक महिना १० दिनमै धाँजो फाटेको छ। पूर्वसहमति उल्लंघन गरेको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर हिँडेपछि यस्तो अनुमान गरिएको हो।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकमा सहभागी अध्यक्ष नेपाल ‘प्रधानमन्त्रीबाटै पूर्वसहमति उल्लंघन भयो’ भन्दै बिचैमा उठेर हिँडेका थिए।

 ‘पहिलेको सहमति उल्लंघन भएपछि हाम्रो पार्टीका अध्यक्ष बैठक छाडेर हिँड्नुभएको हो,’ नेकपा एसका कार्यालय सचिव जीवनराम श्रेष्ठले भने। उनका अनुसार आइतबार बिहान बालुवाटारमा गठबन्धन दलहरूको बैठक बसेको थियो।

बैठकमा नेकपा एसका अध्यक्ष नेपालले सहमति क्रमशः कार्यान्वयन गर्दै जानुपर्ने प्रस्ताव राखेका थिए। प्रदेश प्रमुखहरू एमाले र माओवादी केन्द्रको भागमा परेपछि नेकपा एसले राष्ट्रियसभाको उपाध्यक्ष दाबी गरेको थियो। तर त्यहाँ पनि एमालेले आफ्नो उम्मेदवार उठाएपछि नेकपा एस असन्तुष्ट बनेको थियो। त्यसपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भयो। तर सहमति कार्यान्वयनमा शिथिलता देखिँदा बेमेलको अवस्था निम्तिएको बताइएको छ।

‘सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशको आधा–आधा कार्याकाल बाँड्ने सहमति भएको थियो। बागमतीमा माओवादी केन्द्रले सुरुमा मूख्यमन्त्री लिएपछि सुदूरपश्चिममा सुरुमा आफूले पाउनुपर्ने चाहना नेकपा एसले राखेको थियो,’ बालुवाटार स्रोतले भन्यो।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई पहिले मुख्यमन्त्रीको प्रस्ताव गरेपछि अध्यक्ष नेपालले ‘सहमति उल्लंघन नगरौं, मिलाएर जाऔं, नाउपालाई दुई वर्षपछि सहयोग गरौं, पहिलाको सहमति कार्यान्वयनमा लजाऔं’ भनेका थिए। नेकपा एसलाई जसरी पनि पछि धकेल्ने प्रयास भएपछि अध्यक्ष नेपाल बैठक स्थलबाट बाहिरिएको बताइएको छ।

अध्यक्ष नेपाल बैठक छाडेर हिँडेपछि सरकारको आलोपालो नेतृत्व गर्ने सहमति संकटमा परेको भन्दै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै छलफल गरेका थिए। सत्ता गठबन्धनमा खटपट देखिँदा उता कांग्रेसले नाउपा र नेकपा एसलाई मिलाएर छुट्टै गठबन्धन बनाउने प्रयाससमेत गरेको थियो।

त्यसका लागि नाउपाको रेशम पक्ष, कांग्रेस, नेकपा एस, राप्रपाका सांसदहरू मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। तर काठमाडौंबाट नेकपा एसका अध्यक्ष नेपालले फोन गरेर तत्काल कांग्रेसको गठबन्धनमा सहभागी नहुुन निर्देशन दिएका थिए।

केन्द्रको निर्देशनविपरीत सुदूरपश्चिममा अर्कै गठबन्धन बन्न लागेपछि दाहाल–ओली झस्किएका थिए। दाहाल-ओलीबीच छलफल लम्बिएपछि एमालेको सचिवालय बैठकसमेत प्रभावित बनेको थियो।

नेकपा एसका नेताहरूले आफूहरूलाई अहिलेको गठबन्धनले सुरुबाटै पेलेको गुनासो गरेका छन्। बागमती प्रदेशको सरकार बनाउँदा सल्लाह नै नगरेको र सुदूरपश्चिम प्रदेशको सरकारमा पनि दाहाल–ओलीको बोली फेरिएको उनीहरूले जनाएका छन्।

‘पहिला जे सहमति भएको थियो, त्यसमा बोली फेरियो, कसले बोली फेर्‍यो भन्नेतर्फ अहिले नजाऔं,’ नेकपा एसका कार्यालय सचिव श्रेष्ठले भने। आइतबार बिहान केही समय तीन नेता दाहाल, ओली र नेपालबीच पनि छुट्टै छलफल भएको थियो। तर नेकपा एसको पक्षमा माहोल बन्न सकेको थिएन।

बालुवाटारको बैठकमा नाउपालाई मुख्यमन्त्री प्रस्ताव गरेपछि नेकपा एसले आफ्नो दाबी यथावत् रहेको जनाएको थियो। तर दाहाल–ओलीले नेकपा एसलाई नाउपापछि मात्र भनिरहेकाले नेपालले बैठक छाडेर हिँड्ने अवस्था बनेको थियो। सुदूरपश्चिममा नाउपाका कैलाश चौधरीलाई एमाले र माओवादी केन्द्रको समर्थन छ।

आफ्नो पार्टीलाई निरन्तर उपेक्षा गरेको भन्दै नेपालले पार्टी कार्यालयमा उपलब्ध सचिवालय सदस्यहरूको बैठक राखेर ‘ब्रिफिङ’ गरेका थिए। उनले अहिलेको गठबन्धनबारे ‘रिथिंक’ गर्नुपर्ने आशयसमेत व्यक्त गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

‘बालुवाटारमा दाहाल–ओली एकमुख भएपछि दाहालले फोन गरेर ओलीजी मान्नुभएन भन्नुहुन्छ। यसको अर्थ सधैं एकले अर्कालाई अघि सारेर पेलिरहने अवस्था देखियो। सरकारमै बस्नुको औचित्य सकिएको हो कि,’ अध्यक्ष नेपालले पदाधिकारीहरूलाई ‘ब्रिफिङ’का क्रममा भनेका थिए।

सुदूरपश्चिम प्रदेशसभा ५१ सदस्यीय छ। त्यहाँ नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका १०, एमालेका १०, नाउपाका सात, नेकपा एसका चार, स्वतन्त्र र राप्रपाका एकएक सांसद छन्।

कांग्रेसका एक सांसदको निधन भएको छ भने नाउपाका एक सांसद निलम्बनमा छन्। त्यहाँ सरकार बनाउन २७ सांसदको आवश्यकता पर्छ। त्यहाँ माओवादी केन्द्र, एमाले, नाउपा र एक स्वतन्त्र सांसद मिले पनि सरकार बन्ने अवस्था छ। त्यसकारण पनि नेकपा एसलाई बेवास्ता गरिएको स्रोतको दाबी छ।

बालुवाटार बैठकपछि बसेको एमाले सचिवालय बैठकमा पनि प्रदेश सरकारबारे छलफल भएको थियो। आगामी वैशाख ८ र ९ गते हुने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबारे छलफल गर्न बसेको बैठकमा प्रदेश सरकारबारे छलफल भएको थियो। बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश सरकार संघीय सरकारकै ढाँचामा गठन हुने बताए।

‘नाउपाभित्र केही समस्या देखियो। केही कानुनी जिज्ञासा खडा भएका छन्। सोहीअनुसार नै प्रदेश सरकार बन्छ। नेकपा एसले पनि तल निर्देशन दिइसकेको छ। केन्द्रको गठबन्धनअनुसार नै सुदूरपश्चिम सरकार बन्छ,’ सचिवालय बैठकपछि ज्ञवालीले भने।

कोसीका सन्दर्भमा पनि मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्नेमा उनले जोड दिए। ‘संसद्बाट सरकार बन्ने अवस्थासम्म संसद् विघटन नहुने सर्वोच्चको फैसलाको नजिरअनुसार मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ,’ उपमहासचिव ज्ञवालीले भने।

प्रकाशित: ३ वैशाख २०८१ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App