१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

साझा सरकारका लागि मुख्यमन्त्री कार्कीले गरे आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले साझा सरकार निर्माणका लागि आग्रह गरेका छन्। नयाँ वर्ष २०८१ का अवसरमा मुख्यमन्त्री कार्यालयमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कार्कीले साझा सरकारका लागि कोशी प्रदेशका सबै दलहरूलाई आग्रह गरेका हुन्।

कार्कीले २०८० सालमा कोशी प्रदेशमा चारवटा सरकार फेरबदल भई पाँचौं सरकार गठन भएको स्मरण गराउँदै सधैं सरकार परिवर्तन गरिरहने प्रवृत्तिले संघीयताप्रति नै नैराश्य उत्पन्न भएकाले जनतामा आशा जगाउन सबै एक ढिक्का भएर साझा सरकारमा सामेल हुन दलहरूलाई आग्रह गरे।

कार्कीले कोशी प्रदेशमा संविधानको अन्तिम विकल्पको सरकार रहेकाले थप गम्भीर भएर सोच्न दलहरूलाई आग्रह गरे। ‘२०८० मा जे –जे भए पनि नयाँ साल २०८१ मा कोशी प्रदेशमा साझा सरकार बनाएर अघि बढौं’, कार्कीले भने, ‘संविधानको अन्तिम विकल्पको सरकारमा सहभागी भई साझा सरकार बनाएर मध्यावधिमा जाने अवस्थाको अन्त्य गरौं।’

मुख्यमन्त्री कार्कीले अहिलेको सरकार संविधानको अन्तिम विकल्पका रुपमा गठन भएको स्मरण गराउँदै आफू नेतृत्वको सरकार दुई वर्ष ढुक्कले चल्ने दाबीसमेत गरे।

संविधानअनुसार विश्वासको मत लिएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने व्यवस्था भएको र संविधानको धारा १६८ को उपधारा ५ अनुसार कुनै दलको नभई सांसदको नेतृत्वको सरकार गठन भएकाले केन्द्रमा दलहरू विभाजित भए वा गठबन्धन टुटे पनि यो सरकारलाई केही फरक नपर्ने कार्कीको धारणा छ।

कार्कीले सरकार संविधानअनुसार अघि बढ्ने बताउँदै अहिलेको सरकार अल्पमतबाटै बनेकाले बहुमत र अल्पमतको कुरा नउठ्ने बताए।

कार्कीले सरकार गठन हुँदा पार्टीभित्रै अल्पमत सांसदको समर्थनमा मुख्यमन्त्री बनेको बताउँदै यो कुनै दलको सरकार नभएकाले दलहरूको निर्णयले सरकारलाई कुनै फरक नपार्ने स्पष्ट पारे।

‘यो सांसदहरूले बनाएको सरकार हो’, उनले भने, ‘कुनै राजनीतिक दलको निर्णयले सरकार बनेको हैन दलको निर्णयले सरकार अल्पमतमा पनि पर्दैन।’ कार्कीले संविधानमै यो सरकारको विकल्प मध्यावधिबाट नयाँ जनादेश लिनेबाहेक अरु नभएको स्पष्ट पारे।

प्रकाशित: १ वैशाख २०८१ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App