२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

५२ सांसदको हस्ताक्षरसहित कोसीमा हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्रीमा दाबी

फाइल तस्बिर

नेकपा एमाले कोसी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। सोमबार प्रदेश प्रमुख समक्ष कार्कीले दाबी पेश गरेका हुन्।

कार्कीले एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि आह्वान अगावै दाबी पेश गर्नुको कारण हालका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको, सांसदहरूले समर्थन फिर्ता लिएको जनाउ भएको बताए।

भण्डारीले भने ‘हामीले मुख्यमन्त्रीमा दाबी गरेर प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको आह्वान गर्न दबाब दिएको र अहिलेका मुख्यमन्त्री अल्पमतमा परेको जनाउ गरेका हौँ।’ भण्डारीले मुख्यमन्त्री केदार कार्कीले अब, राजीनामा दिनुपर्ने नभए प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने दुई वटा मात्रै विकल्प बाँकी रहेको बताए।

कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ। कोसीमा एमालेका ४० र नेकपा माओवादी केन्द्रका १३ गरी ५३ सांसद छन्। एमालेबाट निर्वाचित उपसभामुखलाई गणना नगरी ५२ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरिएको छ। सत्तारुढ गठबन्धनका दलहरू नेकपा एकीकृत समाजवादी र जसपाका सांसदहरूले भने हिक्मत कार्कीको पक्षमा हस्ताक्षर गरेका छैनन्।  

प्रकाशित: २६ चैत्र २०८० १८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App