८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचन: इलाम- २ मा २० जनाको मनोनयन दर्ता

मनोनयन क्रममा उम्मेदवार। तस्बिर: नागरिक।

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चेबाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले साझा उम्मेदवारका रूपमा एमालेका ३२ वर्षे सुहाङ नेम्बाङलाई उठाएका छन्। सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन्। उनी २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङसँग पराजित उम्मेदवार हुन्।

सुहाङको मनोनयन दर्ता गर्दा एमालेका केन्द्रीय नेताहरू शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, रामबहादुर राना, जिल्ला अध्यक्ष तथा सांसद महेश बस्नेतलगायत सहभागी भए। सुहाङको प्रस्तावकमा पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदी र समर्थकमा माओवादी केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण छन्।

एमाले उम्मेदवार सुहाङले जित आफ्नै पक्षमा आउने दाबी गरे। ‘अहिले अवस्था र परिस्थितिमा आफूलाई विजयी बन्न सहज भएको छ,’ उनले भने, ‘सबै उम्मेदवार अब्बल हुनुहुन्छ तर धेरैतर्फबाट हाम्रो जित हुने निश्चित नै भएको छ।’

कांग्रेस उम्मेदवार तथा जिल्ला सभापति खड्काले विगत निर्वाचनमा पनि आफूले ज्यादै झिनो मतान्तरले मात्रै पराजित भएको भन्दै जित आफ्नो पक्षमा आउने दाबी गरे।

‘अहिलेका धेरैजसो उम्मेदवारमा म सिनियर छु, सबै नागरिकका दुःख–सुखमा साथ दिएकाले पनि मलाई मतदाताले माया गर्नुहुन्छ,’ उनले भने, ‘अघिल्लो निर्वाचनले पनि मेरो पक्षमा जनलहर आएको देखाएकै छ।’ उनको उम्मेदवारी दर्ता गर्न केन्द्रीय नेता मीनबहादुर विश्वकर्मा, प्रदेश सभापति उद्धव थापालगायत सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। पत्रकारिता क्षेत्रबाट राजनीतिमा होमिएका मिलनको उम्मेदवारी दर्तामा रास्वपा केन्द्रीय उपसभापति तथा श्रम मन्त्री बिपी अर्यालसमेत सहभागी भए। अन्य दलका क्रियाकलाबाट दिक्क मतदाताले अब आफूलाई रोज्ने उम्मेदवार लिम्बूले दाबी गरे।

‘पुराना दलबाट आजित मतदाताले अब नयाँ उम्मेदवार रोज्नेछन्,’ उनले भने, ‘म यहीँको गाउँले उम्मेदवार भएकाले पनि मतदाताले एक पटक मेरो विजय हेर्न चाहेका छन्।’

पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर  किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्। राईको उम्मेदवारी दर्ता गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत सहभागी थिए।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए।

स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ लाई राखिएको छ।

चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। आउँदो उपनिर्वाचनका लागि २० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मनोनयन क्रममा उम्मेदवार। तस्बिर: नागरिक।

प्रकाशित: २४ चैत्र २०८० २०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App