पाँचदलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण गर्न बनेको कार्यदलले मस्यौदा तयार पारी शीर्ष नेतालाई बुझाएका छन्। कार्यदलले मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाएको हो।
सत्ता गठबन्धन फेरिएसँगै न्यूनतम साझा कार्यक्रम बनाउन पाँचवटै दल सहमत भएका थिए। त्योसँगै प्रत्येक पार्टीबाट दुईदुई सदस्य रहनेगरी १० सदस्यीय कार्यदल बनेको थियो, जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जनता समाजवादी पार्टीबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य थिए।
यता न्यूनतम साझा कार्यक्रम तयार पारिएपनि त्यसले उत्साहित हुनुपर्ने केही नरहेको सत्तारुढ दलकै नेताहरूले टीप्पणी गर्दै आएका छन्। ‘फरकफरक दलको सरकार हुँदा सबै मिलेर यो काम गर्ने भनेर न्यूनतम साझा कार्यक्रम बनाउने हो’, केही दिनअघि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘न्यूनतम साझा कार्यक्रम त बनाउलान्, केही दिनअघि सरकारको नीति तथा कार्यक्रम अर्कै बनेर आउँछ। त्यसपछि बजेटमा अर्कै कुरा आउँछ। यो दुनियाँलाई बेकुफ बनाउन मात्रै आउने हो।’
प्रकाशित: ३ चैत्र २०८० १३:१६ शनिबार