१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालको समग्र लैङ्गिक विकासमा सुधार भएको छ: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको समग्र लैङ्गिक विकासमा सुधार आएको बताएकी छन्। उनले संविधानमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुरक्षित गरिएकै कारण संघ, प्रदेश र स्थानीय तहमा महिलाको प्रतिनिधित्व वृद्धि भएको बताइन्।

‘शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिमा स्वामित्वलगायतका सूचकाङ्कमा वृद्धि भएर नेपालको समग्र लैङ्गिक विकासमा सुधार आएको छ,’ सोमबार कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘जसका कारण महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनकै निम्ति उदाहरणीय बनेका छन्।’

उनले हालसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संंविधानप्रदत्त महिला अधिकारको कार्यान्वयनका साथै पूर्ण लैङ्गिक समानता प्राप्तिको अभियानलाई जारी राख्नुपर्ने बताइन्।

लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएकाे उनकाे भनाइ थियाे। ‘महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेको कुरालाई मैले सधैं जोड दिँदै आएकी छु,’ उनले भनिन्, ‘महिलाको क्षमता, श्रम, सीप र सृजनालाई देशको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट मात्रै लैङ्गिक समानतको उद्देश्य हासिल गर्न सकिन्छ।’

पूर्वराष्ट्रपति भण्डारीले नीति निर्माण एवम् निर्णय प्रक्रियामा महिला सहभागिता अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणका माध्यमबाट सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्न सबैको सामूहिक क्रियाशीलता आवश्यक रहेको बताइन्।

उनले विभिन्न नीतिगत एवम् कार्यक्रमित प्रयासहरु भएता पनि लामो समयदेखि समाजमा विद्यमान पुरानत सोचका कारण महिलाहरु सामाजिक सांस्कृतिक, शैक्षिक, राजनीतिक एवम् आर्थिक रुपमा अझै पनि पछाडि रहेको बताइन्।

‘समाजमा बालविवाह, बहुविवाह, दाइजो तथा तिलक प्रथा, छाउपडी, बोक्सीको आरोपजस्ता महिला दोषी सामाजिक, सांस्कृतिक प्रथा र परम्पराका साथै हत्या र बलात्कार जस्ता जघन्य हिंसा आजको परिवेशमासमेत कायमै रहेका छन्,’ उनले भनिन्, ‘यसको निराकरणका निम्ति कानुनको प्रभावकारी कार्यान्वयन, कानुनमा आवश्यक सुधार, अभिभावक, शैक्षिक संस्थाका साथै कार्य थलोको व्यवस्थापन र सरोकारवालाबीच सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।’

पूर्वराष्ट्रपति भण्डारीले कर्णाली प्रदेशको अधिकांश भाग अग्ला पहाड र हिमालले ढाकेका कारण भौतिक पूर्वाधारमा पछाडि परेको भएपनि भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा तथा प्राकृतिक स्रोत र साधनले सम्पन्न रहेको बताइन्।

उनले कर्णालीको जैविक विविधताको उपयोग र पर्यटन प्रवर्द्धन गर्न सकेमा कर्णाली समुन्नत प्रदेशका रुपमा रूपान्तरण हुनेमा जाेड दिइन्। कर्णालीको भौगोलिक विकटतालाई चिर्नका लागि चीनसँगका सीमा नाकासम्मका सडक निर्माण गर्नुका साथै नदीमा पुल र पहाडहरुमा सुरुङमार्ग र केबुलकार सञ्चालन गर्न सकेमा विकासले वैज्ञानिक रूप लिन सक्ने उनको भनाई छ।

पूर्वराष्ट्रपति भण्डारीले कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पका कारण बेघर बनेकाहरुको पुनस्थापनामा ध्यान दिन सरोकारवाला निकायहरुलाई आग्रह गरिन्।

‘भूकम्पका कारण सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उनीहरुको पुनस्थापना तथा पुननिर्माणको कामलाई गति प्रदान गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन्, ‘जोखिम न्यूनीकरणको पूर्व तयारीका साथै भूकम्पलाई थेग्न सक्ने भौतिक संरचना निर्माणमा विशेष प्राथमिकता दिन आवश्यक छ।’

प्रकाशित: २१ फाल्गुन २०८० १७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App