७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पैदल यात्रामा निस्केका मुख्यमन्त्रीलाई हात्ती पीडितको प्रश्न: ‘राहत कहिले पाइन्छ ?’

हात्तीमैत्री पदयात्रामा रहेका मुख्यमन्त्री केदार कार्कीसँग हात्तीले घर भत्काएको लामो समयसम्म राहत र क्षतिपूर्ति नपाएको गुनासो गर्दै मोरङ केराबारी–९की सन्तमाया चुङ्माङ्। तस्बिर: विनोद सुवेदी /नागरिक

हात्ती कोरिडोर निर्माण गर्ने योजनाका साथ पैदल यात्रामा रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हात्ती पीडितहरूले राहत नपाएको गुनासो गरेका छन्। हात्तीले घर भत्काएको, बाली नष्ट गरेको  महिनौँ बित्दा पनि  राहत नपाएको हात्ती पीडितहरूको गुनासो छ।

मोरङ केराबारीकी ९ की सन्तमाया चुङ्माङ्ले पैदल यात्रामा रहेका मुख्यमन्त्री केदार कार्कीलाई हात्तीले आफ्नो घर भत्काएको तीन महिना भइसके पनि राहत नपाएको गुनासो गरिन्। सन्तमायाले हात्तीले घर भत्काएको तीन महिना बितिसक्दा पनि आफूले राहत नपाउँदा घर बनाउन नसकेको गुनासो गरिन्। उनले सोधिन्, ‘मुख्यमन्त्री ज्यू राहत कहिले पाइन्छ।’ समयमै राहत नपाए बर्खा अघि नै घर बनाउन नसकिने चिन्ता उनलाई छ। एकल महिला भएका कारण सन्तमायाको परिवारमा अन्य कोही सहयोगी छैनन्। घर बनाउने सामाग्री महँगो पर्ने हुनाले  राहत नपाए घर बनाउन सक्ने अवस्था नरहेको उनले बताइन्। स्थानीय वडा कार्यालयले हात्तीले घर भत्काएका परिवारलाई घर निर्माणका लागि ५० हजार रुपैयाँ राहत दिने जनाएको थियो। सन्तमायाले पनि राहतको आसमा नाम टिपाएकी थिइन्। तर, अझैसम्म पनि राहत नपाउँदा घर बनाउन समस्या भएको उनले बताइन्।

उनले मुख्यमन्त्री कार्कीलाई चाँडो राहत दिलाइ दिन आग्रह गरिन्। सन्तमाया मात्रै हैन झापा कचनकवल गाउँपालिका—३ का किसान विष्णु कट्टेलले पनि  राहतका लागि प्रदेश स्थित वन मन्त्रालयमा निवेदन दिएका थिए। गत भदौमा हात्तीले धानबाली नष्ट गरेपछि राहत र क्षतिपूर्तिका लागि निवेदन दिएका कट्टेलले अझैसम्म पनि क्षतिपूर्ति नपाएको गुनासो गरे। ‘गत भदौमा हात्तीको बथानले पोटाउँदै गरेको धान नष्ट गरेपछि क्षतिपूर्तिका लागि वन मन्त्रालयमा निवेदन दिएका थियौँ ’ तर, अझैसम्म क्षतिपूर्ति पाइएको छैन।’

झापा, मोरङ, सुनसरी र उदयपुरका जङ्गलछेउका बासिन्दाहरू हरेक वर्ष भारतबाट आउने हात्तीबाट पीडित हुने गरेका छन्। संघ, प्रदेश र स्थानीय तहहरूले हात्ती पीडितलाई राहत र क्षतिपूर्ति दिने कुरा सुनेका पीडितहरूले अझैसम्म राहत र क्षतिपूर्ति नपाएको मुख्यमन्त्री कार्कीलाई गुनासो गरेका छन्। उनीहरूले आफूले पाउने राहत चाँडै उपलब्ध गराई  घर निर्माणमा सहयोग गरिदिन मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका छन्। यो वर्ष लामो समय भारतबाट आएको हात्तीको झुण्ड नेपालकै जङ्गलमा बसेका कारण जङ्गल नजिकका बस्तीहरू र बालीनालीमा निरन्तर क्षति पुर्‍याइरहेको स्थानीयको गुनासो छ।

उनीहरूले हात्ती कोरिडोर बनाउन  पैदल यात्रामा हिँडेका मुख्यमन्त्री कार्कीसँग हात्तीले पुर्‍याउने क्षति न्यूनीकरण गर्ने उपायहरूका विषयमा ध्यानाकर्षणसमेत गराएका छन्। हात्ती पीडितहरूको पीडा सुन्दै पैदल यात्रा गरिरहेका मुख्यमन्त्री कार्कीले हात्तीले घर, तथा बालीनालीमा  क्षति पुर्‍याएका परिवारलाई उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका छन्। मुख्यमन्त्री कार्कीले आगामी बजेटमा हात्ती पीडितहरूका गुनासोको सम्बोधन गरिने स्पष्ट पारे। मुख्यमन्त्री कार्कीले हात्तीबाट पीडित, मृतकका परिवारहरू  र स्थानियवासीहरूसँग छलफल गर्दै पदयात्रा अघि बढाइरहेको बताए।  ‘हात्ती नियन्त्रण गर्नुपर्ने र हात्तीमैत्री व्यवहार गर्नुपर्ने दुई धारणा रहेको पाइयो’ कार्कीले भने ‘दुबै खालका मानिसहरूको बुझाई समस्या र समाधानका उपायका विषयमा पैदल यात्राका क्रममा अध्ययन गरिएको  छ।’ हात्तीलाई सिमानामै नियन्त्रण गर्न सकिने अवस्था नरहेको कार्कीले बताए। विगतमा पनि हात्तीलाई भारतबाट नेपाल प्रवेश गर्न नदिन विभिन्न उपायहरू अपनाइएको तर, सबै प्रयास असफल भइसकेकाले हात्ती नियन्त्रण भन्दा पनि हात्तीमैत्री वातावरण आवश्यक रहेको कार्कीले बताए।

हात्तीलाई एक ठाउँमा रोके गाउँ पसेर अर्को ठाउँमा क्षति पुर्‍याउने गरेको पाइएको कार्कीले जानकारी दिए। कार्कीले हात्तीका लागि जङ्गलमै बस्ने वातावरण तयार पार्ने योजना रहेको छ। कार्कीले भने,‘कुन ठाउँमा पानीको पोखरी बनाउने,जङ्गलमा हात्तीका लागि खानेकुराको व्यवस्था कसरी गर्ने, हात्तीले बच्चा जन्माउने ठाउँलाई कसरी व्यवस्थित गर्ने हात्ती जङ्गलमै घुम्ने, खाने र रमाउने वातावरण बनाउन के–के गर्ने भन्ने कार्य योजना सरकारले अब, तयार पार्नेछ।’ हात्तीले पुर्‍याएको क्षति न्यूनीकरणसँगै स्थानीय वासी र बालिको बिमा गर्ने विषयमा पनि प्रदेश सरकारले स्थानीय तहसँग छलफल गर्दै पैदल यात्रालाई अघि बढाइरहेको छ। आगामी बजेटमा समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।

कार्कीले पदयात्राका क्रममा भेटिएका हात्तीबाट पीडितहरूले स्थानियतहहरूले दिने भनेको राहत चाँडो पाउने व्यवस्थाका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको बताए। कार्कीले स्थानीयको गुनासो सुनेर समस्या समाधानका लागि आफूले पलहसमेत गरिरहेको र स्थानीय जनप्रतिनिधिहरूले चाँडै राहत रकम उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाइसकेको मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।

झापाको बाहुनडाँगी देखि उदयपुरको वेलसोतेसम्मको हात्तीमैत्री पदयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलगायत छन्।

प्रकाशित: १३ फाल्गुन २०८० १८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App