१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीमा स्थापना दिवस कटौती, एमाले रुष्ट

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलका पालामा प्रदेशसभा र सरकार स्थापनाका छुट्टा—छुट्टै दिवस मनाउने संस्कार बस्यो। फलतः यो प्रदेशमा माघ २१ गते प्रदेश स्थापना दिवस र फागुन ३ गते प्रदेश सरकारको दिवस मनाउन थालियो। तर वर्तमान सरकारले प्रदेश तहमा दुई पटक मनाइने स्थापना दिवस मध्य एउटा दिवसलाई कटौती गर्ने निर्णय गरिदियो। फलतः माघ २१ लाई मात्रै प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय भएबमोजिम गत २१ गते प्रदेश स्थापना दिवस मनाइयो। अब आगामी फागुन ३ गते हुने प्रदेश सरकार स्थापना दिवस मनाइने छैन। 

वर्तमान सरकारले प्रदेश सरकारको स्थापना दिवस कटौती गर्ने निर्णयले प्रतिपक्ष दल नेकपा एमाले रिसाएको छ। आफ्नो दलका संस्थापक मुख्यमन्त्री पोख्रेलले गरेको निर्णयलाई कटौती गरिएको भन्दै एमाले यो निर्णयदेखि रुष्ट छ। एमाले संसदीय दलका नेता लीला गिरीले सरकारले गरेको यो एकलौटी निर्णय एमालेका लागि सही नभएको बताए। ‘सरकारले गरेको यो कदम एमालेका लागि सही छैन, उहाँहरूले जे मन लाग्यो त्यो निर्णय गर्दै जाने हुन्छ?’ गिरीले भने ‘एकलौटी रूपमा गरिएको यो निर्णय कदापि स्वीकार्य हुने कुरा हुँदैन।’

प्रदेशमा मनाइँदै आएको दिवस कटौती गर्ने जस्तो गहन विषयमा प्रतिपक्ष दलसँग छलफल गरिनु पर्नेमा सरकारमा रहेका दलहरूले सहकार्य नगरेको गिरीले बताए। ‘उहाँहरूले दिवस दुई पटक मनाउने निर्णय ठिक लागेन होला, तर पहिले देखि मनाइँदै आएको दिवस कटौती गर्ने जस्तो गम्भीर विषयमा त प्रतिपक्षसँग पनि सरसल्लाह गर्नुपर्ने होनि,’ एमाले संसदीय दलका नेता गिरीले भने ‘यस्ता महत्त्वपूर्ण विषयहरूमा पनि प्रतिपक्षको आवश्यकता बोध नै नहुनु त अधिक मनपरी ढङ्गले सरकार चल्न खोजेको प्रष्टै हुन्छ नि।’

एमालेसँग स्थापना दिवस कटौती गर्ने सवालमा छलफल नभएकै कारण ‘अहिलेको अवस्था’ आएको उनले बताए। उनले अहिलेको अवस्थाका बारेमा केही खुलाएनन्। तर उनले आफू २१ गते प्रदेश स्थापना दिवसमा नआएको विषयलाई सङ्केत गरे। गिरीले प्रदेश स्थापना दिवस समारोहमा आउने जानकारी गराएका थिए। तर उनी कार्यक्रममा सहभागी भएनन् । प्रतिपक्ष दलको नेता कार्यक्रम सहभागी नहुनुलाई एमालेले स्थापना दिवस बहिष्कार गरेको आशङ्का समेत गरेका थिए। त्यसो त, उक्त समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अमिक शेरचनले समेत सरकारको स्थापना दिवसर्ला कटौती गर्ने निर्णय प्रति एमाले बेखुस रहेको जनाउँ दिएका थिए।

उनले एमाले तर्फ लक्षित गर्दै आफ्नो नेतृत्वमा सुरु भएको कामलाई यसो वा त्यसो भयो भनेर मन दुखाउनु पर्ने आवश्यक रहेको बताएका थिए। तत्कालीन मुख्यमन्त्री पोख्रेलले गरेको यो निर्णय कटौती गरिदिएपछि बेखुस एमालेलाई प्रदेश प्रमुख शेरचनले यो निर्णयलाई सान्दर्भिक भने। ‘हाम्रा पालामा भएको वा हामीले गरेको निर्णय खारेज भयो भनेर कोही कसैले पनि मन दुखाउन जरुरी छैन,’ प्रदेश प्रमुख शेरचनले भने ‘यसले प्रदेशलाई खर्चिलो हुन बाट जोगाएको छ,यसैले यो निर्णय सान्दर्भिक छ।’

आफ्नो पार्टीका नेता पोख्रेल मुख्यमन्त्री हुँदा गरिएको निर्णय खारेज गरिदिँदा एमाले रिसाएको भए पनि सरकारले भने दोहोरो खर्च कम गर्नका लागि एकै पटक एक दिनलाई मात्रै प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय गरेको हो। उसले कुनै पनि दलको मुख्यमन्त्री भएको पालमा भएको निर्णयलाई सरकारले रिस वा प्रतिशोधका हिसाबले खारेज नगरेको बताउँछ। सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेले सरकार स्थापना दिवस छुट्टै मनाउनु पर्ने कारण नरहेको र यसको खारेजी जरुरी रहेको बताए। ‘यो निर्णय कसै प्रति पूर्वाग्रही भएर गरिएको हैन, नत प्रतिशोधको भावना नै राखेर गरिएको हो,’ मन्त्री पाण्डेले भने ‘यो जरुरी विषय थियो, र जरुरी विषयमा गरिएको निर्णय हो।’

एमालेले आफूहरूसँग यसबिषयमा कुनै छलफल नभएको दाबी गर्छ तर मन्त्री पाण्डेले भने एमाले सँगको सहमतिमै सरकार स्थापना दिवसलाई कटौती गर्ने निर्णय भएको दाबी गरे। ‘एमालेसँग छलफल भएर सहमतिमै भएको निर्णय हो,’ प्रवक्ता पाण्डेले भने ‘अहिले उहाँहरूले किन असहमति व्यक्त गरिरहनु भएको छ, यो कुरा बुझ्न सकिएको छैन।’ त्यसो त, उनले प्रतिपक्षको विरोध गर्न पाउने अधिकारका रूपमा एमालेले यो विषयमा असहमति प्रकट गरेको हुन सक्ने बताए। ‘प्रतिपक्षको भूमिकामा रहेपछि विरोध गर्नुपर्छ भन्ने सोँच भएको पनि होला,’ मन्त्री पाण्डेले भने ‘नत्र भने उहाँहरूले सहमति गरेको विषयमा अहिले आएर रिसाउने कुरा सुहाएन नि।’

प्रकाशित: २३ माघ २०८० १९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App