राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।
बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले समितिले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको बताए।
उनले विधेयक संसद्बाट पारित भइसकेपछि ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेकेदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्रीलाई अनुगमन गर्न सहज हुने उल्लेख गरे।
समितिले पारित विधेयक बुधवारपछि बस्ने संसद्को बैठकमा पेस गर्ने पनि उनले जानकारी दिए। उनले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पनि अन्तिम चरणमा पुर्याएको र अध्यक्ष र बहुमत सदस्य की अध्यक्ष बाहेकको बहुमत सदस्य भन्ने कुरा मिलाउन शीर्ष नेतालाई जिम्मेवारी दिएको सुनाए।
शीर्ष नेताहरुले नटुङ्ग्याएको खण्डमा प्रक्रियागत रुपमा निर्णयमा पुग्ने उनको भनाइ छ।
प्रकाशित: २३ माघ २०८० १५:३९ मंगलबार





