२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निजी क्षेत्रमैत्री नीति आवश्यक: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रमैत्री नीति आवश्यक रहेको बताएका छन्। शनिबार विराटनगरमा नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ऐन परिमार्जन गरी निजी क्षेत्रमैत्री बनाउन सरकारलाई आग्रह गरे।

उनले भने, ‘कुल लगानीमा दुईतिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न, मौजुदा नीति र कानुनको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, ऐन, कानुन परिमार्जन गरी निजीक्षेत्र मैत्री बनाउने काम वर्तमान सरकारबाट हुन जरुरी रहेको छ,’ पौडेलले भने, ‘उत्पादन वृद्धि रोजगारी सिर्जना गर्न र अर्थतन्त्र आन्त्मनिर्भर बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ।’

राष्ट्रपति पौडेलले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताए।

कोशी प्रदेश नेपालको उद्योग व्यवसायको धरोहर भएकाले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता र संविधानले निर्देश गरेको समाजवादउन्मुख अर्थ व्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको राष्ट्रपति पौडेलको भनाइ छ।

कोभिड–१९ महामारीको प्रभाव स्वरूप अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि पुनरुत्थान गर्न सरकारले चालेका आर्थिक सुधारका कदमले सकारात्मक प्रभाव पारेको उनले बताए।

 राष्ट्रपति पौडेलले जसरी आन्तरिक अर्थतन्त्र चलायमान हुनपर्ने हो त्यसरी हुन नसकेका कारण रोजगारी सिर्जना लगायत आन्तरिक उत्पादनमा वृद्धि भई निर्यात बढ्न नसकेको र राजस्वको लक्ष्य पनि प्राप्त गर्न गाह्रो परिरहेको बताए। तर, बाह्य क्षेत्रमा आएको सुधारका कारण सोधान्तर अवस्था बचतमा रहेको र विदेशी मुद्राको संचिति बढेकाले अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको पौडेलको धाराणा छ।

कोशी प्रदेशमा अथाह सम्भावना भए पनि त्यसको उपयोगिताका लागि अठोट, प्रतिबद्धता, इमान्दारी र नैतिक आचरणको खाँचो भएको राष्ट्रपति पौडेलले बताए।

राष्ट्रपति पौडेले आफू रहेसम्म संघीयलोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने पनि स्पष्ट पारे।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा सो अवसरमा प्रदेशका २१ जना प्रजातन्त्र सेनानी, पत्रकार, उद्योगीलगायतलाई सम्मानित गरिएको थियो।

प्रकाशित: ८ पुस २०८० ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App