१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लोसपामा भाँडभैलाे, राजेन्द्रले अब नयाँ पार्टी खोल्लान् ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको दुई वर्ष बित्दा नबित्दै  भाँडभैलो भएको छ। केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको विवाद तीव्र हुन पुगेको हो। जसले गर्दा आइतबार देखि सुरु केन्द्रीय समिति बैठक नै शीर्ष नेताहरूले नै बहिस्कार गरेका छन्।

पार्टी अध्यक्ष ठाकुरले केन्द्रीय समिति गठन गर्दा एकलौटी गरेको भन्दै शीर्ष नेता द्वय महतो र अनिल झाले बैठक बहिस्कार गरेका हुन्। केही महिना अघि अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार गर्दै ३ सय ११ सदस्यीय बनाएका थिए। तर, समितिमा महतो र झा निकट कार्यकर्ताहरूले निकै कम स्थान पाएपछि विवाद सुरु भएको हो। यसबाट महतो र झा रुष्ट भएका हुन्।

मधेस आन्दोलनमा सक्रिय भएका र पार्टीका वफादार कार्यकर्ताहरूलाई बाहिर राखेर केन्द्रीय समिति गठन गरिएको भन्दै महतो र झाले बैठक बहिस्कार गरेका छन्। दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष ठाकुरले केन्द्रीय समिति गठन गर्दा भएका त्रुटिहरू सच्चाउने र केन्द्रीय समितिमा अट्न नसकेको पार्टीका कार्यकर्ताहरूलाई केन्द्रीय समितिमा राख्ने प्रतिबद्धता गरेका थिए। तर दुई महिनासम्म उनले केन्द्रीय समिति विस्तार गरेनन्। उल्टै केन्द्रीय समिति विस्तार नगरी बैठक बोलाएको उनीहरूको आरोप छ।

‘दुई महिना अघि नै पार्टी अध्यक्षज्यूले त्रुटि सच्च्याउछु र केन्द्रीय समितिमा नबसेका साथीहरूलाई केन्द्रीय समितिमा ल्याउँछु भन्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ महतोले भने, ‘तर उहाँले केही गर्नु भएन। उल्टै बैठक बोलाएर विवाद बढाउने काम गर्नु भएको छ। यो त अति नै भयो।’

नेपाली काँग्रेस परित्याग गरी आएका ठाकुर मधेस आन्दोलनका क्रममा भएका घाइते तथा वफादार कार्यकर्ताहरूलाई समेत बेवास्ता गरेको महतोको आरोप छ। अब तपाईंले नयाँ पार्टी खोल्नु हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अहिले पार्टी खोल्ने कुरा नगर्नुहोस्। हामी अहिले अध्यक्षज्यूको कार्यशैलीको विरुद्धमा विरोधमा उत्रिएका हौ। आवश्यकता अनुसार संघर्ष गर्दै जान्छौं।’

केन्द्रीय समितिको बैठकमा शीर्ष नेता द्वय महतो र झाले बहिस्कार गरे पनि निकट केन्द्रीय सदस्यहरू भने बैठकमा सहभागी भएका छन्। जनता समाजवादी पार्टी ९जसपा० भित्र विवाद उत्कर्षमा भएपछि ठाकुर, महतोका साथै शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले २०७८ भदौमा लोसपा गठन गरेका हुन्।

प्रकाशित: २४ मंसिर २०८० ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App