१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आयोगले थाल्यो राष्ट्रियसभा निर्वाचन तयारी

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहने सदस्यका लागि निर्वाचन तयारी सुरु गरेको छ। मंगलबार आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आगामी माघ १५ गतेभित्र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्वाचनको तयारी सुरु गरिएको जानकारी गराए।

राष्ट्रियसभाका सदस्य पद रिक्त हुने ३५ दिनअघि निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। ‘उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्नेछ,’ राष्ट्रियसभा निर्वाचन ऐनको दफा ५ मा उल्लेख गरिएको छ।

सोही प्रावधानअनुसार फागुन २१ बाट रिक्त हुन लागेका पदमा माघको दोस्रो साता निर्वाचन गर्ने तयारी आयोगले गरेको उनले बताए। राष्ट्रियसभाका एकतिहाइ सदस्य हरेक दुई–दुई वर्षमा रिक्त हुने गर्छन्। ‘राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ जनासहित २० जना सांसदको पद आगामी फागुन २१ गते सकिँदैछ,’ उनले भने, ‘सो मितिभन्दा ३५ दिनअघि माघ १५ गतेभित्र राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्वाचनको तयारी सुरु गरेका छौं। आगामी माघ १२ वा १३ गतेको दिन राष्ट्रियसभा निर्वाचनको मिति तोक्न सरकारसँग परामर्श गरिरहेका छौं।’

राष्ट्रियसभामा २०७५ असार ४ गते गोला प्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरूको पदावधि सकिन लागेको हो। राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनासहितका एमालेका नौ, नेपाली कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई, जसपा र स्वतन्त्र सांसद एक÷एकजना गरी २० जना सांसदहरूको पदावधि आगामी फागुन २१ गतेदेखि सकिँदैछ, जसमा एक मनोनितबाहेक १९ सदस्यका निम्ति निर्वाचन हुनेछ।

पदावधि सकिनेहरुमा एमालेबाट राष्ट्रियसभा अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल (मनोनित)को पदावधि सकिँदैछ।

 त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव, माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, नेकपा एकीकृत समाजवादीका नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि सकिँदैछ। उनले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी वैशाखमा निर्वाचन गर्न सरकारसँग परामर्श भइरहेको बताए।  

प्रकाशित: २२ कार्तिक २०८० ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App