५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ: नेता बर्तौला

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचेतक बर्तौला।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले युवाले राजनीतिमा हस्तक्षेप गर्नु जरुरी रहेको औंल्याएका छन्।

मकवानपुरगढी जेसीज (प्रस्तावित) को आयोजनामा शुक्रबारबाट सुरु भएको अन्तर जेसीज फुट्सल प्रतियोगिताको उद्घाटन गर्दै उनले राजनीति सप्रे मात्र मुलुक सप्रिने भन्दै अब युवाहरुले हस्तक्षपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

‘राजनीति प्रति युवाहरुको निराशा बढ्दो छ। राजनीति र नेताप्रति अविश्वास विकास हुँदैछ’, बर्तौलाले भने, ‘युवाहरुको राजनीतिमा सकारात्मक भाव नै छैन। हामीले आशा जगाउन सकेनौं। युवा विदेश पलायन बढ्दो छ। यस विषयमा गम्भीर हुन जरुरी छ।’

उनले तीनै तहको सरकारले युवाको क्षेत्रमा केही गरिरहेको छ र केही हुन्छ भन्ने आभास दिलाउनुपर्नेमा धारणा राखे। युवा बिग्रे देश बिग्रने भन्दै उनले जेसीज लगायत युवाको संस्थाले पनि राजनीतिमा चासो दिनुपर्ने सुझाव दिए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले जेसीजमा लागेका युवाहरुले राजनीतिमा पनि लाग्नुपर्ने धारणा राखे। मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको फुट्सलको उद्घाटनमा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जीवन कार्की, निरूपित उपाध्यक्ष सोनी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।

विजेताले एक लाख पाउने

अन्तर जेसीज फुट्सल प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टिमले नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले जानकारी दिए।

नेपालका २४ वटा जेसीज शाखाहरुको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत शुक्रबार ५ वटा खेल भएका छन्। बस्तीपुर जेसीजले क्वार्टरफाइनलमा स्थान बनाएको छ। बस्तीपुरले बसामाडी र पर्सा खैरहनी जेसीजलाई हराएको हो। तरहराले हेटौंडालाई, अर्जुनधाराले बकैयालाई, वीरगन्जले चैनपुर जेसीज (प्रस्तावित) लाई र मकवानपुरगढीले तरहरालाई हराउँदै अघिल्लो चरणमा स्थान बनाएका छन्।

जेसीज शाखाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फुट्सल प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १६ भाद्र २०८० ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App