हुरीको आउने पालो, पुराना पात झर्ने पालो
हारै हारको जिन्दगीमा, फेरि मेरो हार्ने पालो।
वाचा तोड्ने, बन्धन तोड्ने, मन अन्त कतै मोडियो
नसोचेका ती प्रश्नहरू, मनभित्रै कसरी रोपियो
हिमालको पग्लिने पालो, नदीको उर्लने पालो
हारै हारको जिन्दगीमा फेरि मेरो हार्ने पालो।
सँगै बाँच्ने, सँगै हाँस्ने, भनी औँठी साटियो
तिम्रो मेरो बाटो आज कुन मोडमा काटियो
बादलको बर्सिने पालो, धरतीको रुझ्ने पालो
हारै हारको जिन्दगीमा फेरि मेरो हार्ने पालो।
हारेको त छैन म, जीवनदेखि थाकेको मात्र हुँ
झरेको त छैन म, समयसँगै पाकेको मात्र हुँ
बतासको उडाउने पालो, सम्झनाले डस्ने पालो
हारै हारको जिन्दगीमा फेरि मेरो हार्ने पालो।
प्रकाशित: २७ पुस २०८२ ०८:५७ आइतबार





