५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: ६ दलका ११ जना मन्त्री बन्ने

फाइल तस्बिर।

सत्ता गठबन्धनले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने दलहरुको टुंगो लगाएको छ। साथै उनिहरु बिच मन्त्रालय संख्याको भागबण्डा समेत गरिएको छ।

प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेका अनुसार सरकारमा कांग्रेस, माओवादी सहित साना चार दलहरु सहभागी हुने गरी भागबण्डा मिलाइएको छ। अहिले भएको भनिएको सहमति अनुसार लुम्बिनी प्रदेश मन्त्री परिषद् ११ सदस्यीय हुने छ। तर कुन दलले कुन मन्त्रालय पाउने भन्ने बारेमा पनि टुंगो लागेको छैन।

‘मन्त्रालय संख्या बाँडफाँडमा सहमति भैसकेको छ,’ प्रवक्ता पाण्डेले भने ‘तर कसले कुन मन्त्रालय पाउने भन्ने बारेमा टुंगो लाग्न बाँकी छ, त्यो पनि छिट्टै टुंगो लाग्छ।’

प्रवक्ता पाण्डेका अनुसार सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले मुख्यमन्त्री सहित थप तीन मन्त्रालय पाउने भएको छ। कांग्रेसले पाएको थप तिन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा कांग्रेसले निर्णय गरिसकेको छैन।

‘कांग्रेसले मुख्यमन्त्री सहित थप तिन मन्त्री पाउने गरी मोटामोटी सहमति भए जस्तै हो,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ‘कांग्रेसले पाएका तिन मन्त्रालयमा कसलाई पाउने भन्ने बारेमा हामीहरुले होमवर्क गरिरहेका छौँ, उपयुक्त साथीहरूलाई पठाउने गरी निर्णय लिन्छौँ।’

यसैगरि गठबन्धनको दोस्रो ठुलो दल माओवादीले तीन मन्त्रालय पाउने गरी टुंगो लगाइएको छ। माओवादीले आफूले यसअघि पाएकै मन्त्रालयको पाउनु पर्ने अडान लिएको छ। उसले यसअघिको लीला गिरी नेतृत्वको सरकारका पालामा पनि तिन मन्त्रालय पाएको थियो।

उसले त्यो बेला पाएका अर्थ, भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई नै निरन्तरता दिनु पर्ने भनिरहेको छ।

‘हामीहरुले यसअघिको सरकारका बेला पाएका मन्त्रालय नै पाउनु पर्छ भनिरहेका छौँ,’ माओवादीका एक सांसदले भने ‘यस बारेमा ठोस निर्णय भैसकेको छैन।’

तिन मन्त्रालय पाउने माओवादीका तर्फबाट एक जना मन्त्री नियुक्त भैसकेका छन्। माओवादीका तर्फबाट धनबहादुर मास्की मन्त्री चुनिएका छन्। विना विभागीय मन्त्री उनको पनि विभागीय जिम्मेवारी अझै तोकिएको छैन।

यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीले एक मन्त्रालय पाउने भएको छ। यो पार्टीबाट सन्तोष कुमार पाण्डे मन्त्री नियुक्त भैसकेका छन्। यो पार्टीबाट तिन जना प्रदेश सांसद छन्। एक मन्त्रालयको भागबण्डामा परेको नागरिक उन्मुक्ति पार्टीबाट पनि धर्मराज चौधरी मन्त्री भैसकेका छन् । यो पार्टीका सांसद ४ जना छन्।

यसैगरि संसद्मा तिन सदस्य रहेको जनता समाजवादी पार्टीले पनि एक मन्त्रालय पाउने भएको छ। उसले आफू सरकारमा सहभागी हुने भन्दै मन्त्री नियुक्तिका लागि एक जनाको नाम समेत बुझाईसकेको छ। जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवका अनुसार जसपाले मन्त्री नियुक्तिका लागि भण्डारीलाल अहिरको नाम सिफारिस गरिसकेको छ।

‘भागवण्डाका विषयमा के कुरा भएको छ त्यो चाहिँ मलाई थाहा भएन,’ यादवले भने ‘तर हामीहरुले सरकारमा सहभागी हुने मन्त्रीका रुपमा भण्डारी लाल अहिरको नाम सिफारिस गरिसकेका छौँ।’ यसैगरि जनमत पार्टीले पनि एक मन्त्रालय पाउने भएको छ। ‘मन्त्रालय भागण्डामा परेका दलहरुका तर्फबाट अब नाम आएपछि मन्त्री परिषद्लाई सरकारले पूर्णता दिने छ,’ सरकारका प्रवक्ता पाण्डेले भने ‘चाँडै नै सरकारलाई पूर्णता दिनका लागि हामीहरू लागि परेका छौँ।’

सकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ। प्रदेशमा यो पार्टीको सांसद संख्या १ छ। यसैगरि एकै प्रदेशसभा सदस्य संख्या रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि सरकारमा सहभागिता बारे स्पष्ट नबताएका कारण अहिले भागवण्डामा नपारिएको प्रवक्ता पाण्डेले बताए।

‘राष्ट्रिय जनमोर्चाको निर्णय सरकारमा नजाने भन्ने हो,’ पाण्डेले भने ‘तर नेकपा एकीकृत समाजवादीको पनि केन्द्रबाट कुनै सर्कुलेशन नआएका कारण अहिले यो दललाई भागवण्डामा नपारिएको हो।’ मुख्य मन्त्री सहित अहिले प्रदेश सरकारमा थप ३ मन्त्री नियुक्त भैसकेका छन्। अब ७ मन्त्री नियुक्त गर्नुपर्ने छ।

अहिले मन्त्री संख्याको भागवण्डा मिलाएको भए पनि कुन दललाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने टुंगो लागेको छैन। प्रवक्ता पाण्डेका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्री नियुक्ति र मन्त्रालय जिम्मेवारीको काम पनि टुङ्गिने छ। मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन्।

‘मुख्यमन्त्री ज्यूले विश्वासको मत मागेपछि मन्त्री नियुक्ति र विभागीय जिम्मेवारी पनि टुंगो लाग्छ, ’पाण्डेले भने ‘आगामी मंगलबार पछि यी सबै विषयहरू टुङ्गिनेछन्।’

एमाले सहित संसद्मा रहेको राप्रपा भने सरकार बाहिरै रहने भएको छ। राप्रपा यसअघि एमाले नेतृत्वको सरकारमा सहभागी भएको थियो।

प्रकाशित: १७ वैशाख २०८० १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App