१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘मैले सभामुख हुँदा धेरै आरोप खेप्नु पर्‍यो’

कांग्रेसका नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलले सभामुखको भूमिका तटस्थ रहने भएकाले सभामुख समक्ष विभिन्न अतिरञ्जित कुराहरू पनि आउने हुँदा जोगिएर काम गर्न नयाँ सभामुखलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नव निर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई तथा शुभकामना दिने कार्यकम माथि बोल्दै उनले सभामुखले लोकतन्त्र जोगाउने भूमिका खेल्न पनि आग्रह गरेका हुन्। उनले आफू सभामुख हुँदा एमाले विभाजन भएको, प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय माथि महाभियोग आएको तथा स्थानीय स्वायत्त शासन ऐन २०५५ पारित भएको विषयले आफूलाई विवादमा पारेको बताए।  

उनले २०५४ सालमा एमाले विभाजन गर्‍यो भनेर आफूमाथि आारोप हिजो अस्ती पनि आइरहेको बताए। प्रधानन्यायाधीश उपाध्याय विरुद्धको महाभियोग प्रस्तावलाई लोकतन्त्र जोागाउनका लागि नै अघि नबढाएको भए पनि आफूमाथि आरोप आएको उनले बताए। स्थानीय स्वायत्त ऐन २०५५ पारित गर्दा प्रक्रिया नपुर्‍याई पारित गरेको भन्ने आरोप पनि आफूले खेपेको उनले बताए। एमालेले हल्ला गरेको थियो मैले प्रस्ताव अघि बढाइरहेको थिएँ तर पछि त्यसै पारित गरेको भनि आरोप लगाएको उनले बताए।  

उनले अस्ती भर्खर पनि एमाले विभाजन गरेको भनि मलाई आरोप लगाएको भन्दै यसबारे बढी स्पष्ट गरेका थिए। २०५४ सालमा भएको एमाले विभाजनमा आफ्नो कुनै भूमिका नभएको बताउँदै उनले भने, महाकाली सन्धिको पक्ष र विपक्षमा रहेका एमालेकै कारण पार्टी फुटेको हो। तर, दोष आफूलाई लगाइएको उनको भनाई थियो। यसअघिको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले तत्कालीन सभामुख पौडेलको कारणले एमाले फुटेको बताएका थिए। नेता पौडेलले संसद्मा भने, ‘सभामुख एमाले विभाजन गर्‍यो भनेर यही अस्ति मेलै सुनेँ, एमाले विभाजन किन भयो, सबैलाई थाहा छ, महाकाली सन्धिले विभाजन गर्‍यो,’ उनले भने, ‘एमालेभित्र महाकाली सन्धि पास भयो भने पश्चिमबाट सूर्य उदाउँछ भन्ने एउटा पक्ष थियो, महाकाली सन्धि पास भयो भने राष्ट्रघात हुन्छ भन्ने अर्को पक्ष थियो।’

महाकाली सन्धीले पार्टी नै विभाजि हुने अवस्था आए पछि आफू सुदूरपश्चिम लागेको बताए। आफ्नो सुदूरपश्चिममा कार्यक्रम छ, तपाईंहरूको त्यस बेलासम्म सोच्नुस् भनेर त्यता लागेको उनले बताए। सुदूरपश्चिम गएको बेला कर्णालीको पुलमा पुगेपछि उच्च अधिकारीले काठमाडांै फर्कन बोलाएको उनले बताए। कसैले पार्टी फोर्नु छ भने काठमाडौं आउँदिन भनेर धनगढी गएको तर त्यहीँ लिन हेलिकोप्टर आएपछि बाध्य भएर आफू काठमाडौ आएको तर एमाले फोर्न हेलिकोप्टर चढेर आयो भनेर आरोप लगाएको उनको भनाइ थियो। काठमाडौ आएपछि एकजना सदस्यको नाम छुटेछ भनेर आफूलाई भन्न आएको तर आफूले तपाईंहरूले जति सदस्य बुझाउनु भएको छ त्यसभन्दा बढी आफूले थप्न नसक्ने बताएको उनले बताए। विधिको संरक्षण र विधिको शासन नै लोकतन्त्र भएको उनले बताए। उनले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको पनि उनले बताए।

प्रकाशित: ११ माघ २०७९ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App