२ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बागमतीमा सभामुख र उपसभामुखको आज मनोनयन दर्ता

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ।  

प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, निर्वाचनका लागि आज दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ।

बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्नु हुनेभएको छ। राप्रपाले बुधबार उहाँलाई सभामुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको थियो।

सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो। यस्तै, बागमती प्रदेशसभाको उपसभामुखको भने टुङ्गो लागेको छैन।  

त्यसैगरी बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन्।धादिङ क्षेत्र नं २ प्रदेश १ बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमाले का २७, नेकपा माओवादी केन्द्र का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादी का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन्। 

प्रकाशित: २८ पुस २०७९ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App