२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

धराने तन्नेरीको रहर

शहरी युवा सुविधाभोगी छन्। उनीहरुको पहिलो रोजाई मोटरसाइकल हुन्छ। मोटरसाइकल र कारमा हुँइकिन पाउँदा सान बढ्ने ठान्छन्। त्यसैले एसएलसी उर्तिण हुनेवित्तिकै मोटरसाइकल किनिदिनुपर्ने बाध्यता छ। लाइसेन्स होस कि नहोस्, बतासिन्छन्। दुर्घटना पर्नेहरु टिनएज र युवा नै बढी छन्।

धरानमा यस्ता युवा पनि छन्, जो साइकललाई जिन्दगी मान्छन्। बिहान र साँझ प्याडल घुमाइरहन्छन्। डाँडापाखातिर पुग्छन्। उनीहरुको अभियानै छ, 'अब छोराछोरीले आमाबुबासँग मोटरसाइकल होइन साइकल किनिदिन आग्रह गरुन्। त्यस्तो समय आओस कि हरेक युवा साइकलमा सरर गुड्न पाउँदा हिनताबोध होइन, गर्व गरुन्।'

धरानेमा स्वास्थ्यप्रति सचेत गराउन साइक्लिष्टको ठुलो देन छ। धरानलाई साइकल सिटी बनाउने उनीहरुको अभियान सफल होस्।

करिब ६ वर्षअघिसम्म धरानमा माउण्टेन बाइकमा हिँड्नेलाई खिसि गरिन्थ्यो। साइकल पनि चढ्ने हो र भन्थे। औलामा गन्न सकिने युवाले सुरु गरेको साइक्लिङले व्यापकता पाइसकेको छ।

युवा स्वास्थ्यका लागि मात्रै साइकल चढ्दैनन्, पैसा तिरेर प्याकेजमा डुल्न पनि निस्कन्छन्। छोटो समयमै 'साइकल पर्यटन'ले गति लिँदै छ। एक पछि अर्को माउण्टेन बाइक शो रुम खुलेका छन्। तिनले प्योजक टुर पनि गराउँछन्।

साइक्लिङ मलाई मनपर्छ। संगतले थुप्रै पटक साइक्लिङ गएको छुँ। पसिनाले निथु्रक्कै भको छु। ज्यानले उर्जा पाएको महसुस हुन्छ। व्यस्त दैनिकिबाट वाक्क भएका बेला प्रकृति र गाउँले जनजीवन नजिकबाट नियाल्ने मौका पाएको छुँ। पछिल्लो समय झण्डै दुई बर्ष भइसकेछ साइक्लिङ नगको। इच्छा हुँदा हुँदै समय मिलेन। साइकल किनेको थिएँ। बिहानै साइक्लिङ जान्थे।

साइक्लिङका राष्ट्रिय खेलाडी सन्तोष राई झण्डै महिना दिनदेखि धरानमा छन्। मनसुन र्यागफ्टिङ जाँदा नै उनले साइक्लिङ जाने प्रस्ताव गरेका थिए। गएको आइतबार साइत जुर्यो्। त्यो पनि ६ संघीय प्रदेशमा चित्त नबुझेको विभिन्न दलको आमहड्तालको दिन। विश्व साइकल यात्री पुष्कार शाह तीन दिनदेखि धरानमै थिए।

हाम्रो गन्तव्य विजयपुर गढीको पञ्चकन्या जंगल। आउँदो मंसिरमा सातांै राष्ट्रिय खेलकुद पुर्वाञ्चलमा हुदैछ भने साइक्लिङ खेल धरानमा। पुष्कर दाई धरान आउनुको कारण त्यही साइक्लिङ च्याम्पियनसिपका लागि रुट रेकी गर्नुरहेछ। दुई दिनसम्म पञ्चकन्या जंगल क्षेत्रमा अवलोकन भइसकेको थियो। तेस्रो दिन सँगै साइक्लिङमा जाने र जिपिएस म्यापिङबाट रुट निश्चित गर्नु थियो।

लामो समय पछि साइक्लिङमा जादै थिएँ। शाह, राई, राइडर्स एण्ड एमटिबि जोन र टक्स माउण्टेन बाइक शो रुमका जुनियर खेलाडी, फोटोग्राफर, इञ्जिनियरिङ क्याम्पसका शिक्षक पनि सँगै थियौं। महेन्द्र बहुमुखी क्याम्पस अघि भेला भएर डेढ दर्जन युवाले प्याडल घुमाउँदा साँढे ७ बजिसकेको थियो।

कवर्ड हल, कलेज रोड हुदै धरान बजारको कोशी राजमार्गमा पुग्दा सडक खुला थियो। त्यहाँ जथाभावी पार्किङ र ओहोर दोहोर गर्ने गाडीको लस्कर हुन्थ्यो। सडकमा ठुला गाडी र मोटरसाइकलकै राज चल्छ। पैदल यात्री र साइकललाई जहिल्यै खतरा। तर, आमहडतालले गर्दा सडक सुनसान छ। कुनै डर, त्रास विना गुडायौं।

धरानमा साइकल सिटीको अवधारणा आएपछि सडक बनाउदा साइकल लेन पनि बनाउनुपर्छ भन्ने आवाज उठेको थियो। साइकल लेनमा सुरक्षित भएर साइकल चलाउने दिन चाडै आओस्।

छाता चोकबाट अघि बढ्दै गर्दा म पछि परें। धेरै पछि साइकल चलाएकाले होला चाँडै गलेजस्तो भयो। तर, सन्तोषले साथ दिए। उनले कुन गियरमा चलाउँदा सहज हुन्छ भन्दै टिप्स दिए। घरि घरि मलाई एक हातले पछाडिबाट ठेलेर मद्दत गरे। हामी अमरहाटस्थित अमर सेवा समाजको कार्यालयअघि रोकियौं। सातौंको लागि खेलको स्टार्टिङ प्वाइन्ट त्यही रहेछ। पाँच जना जुनियर साइक्लिष्ट किरण राई, विवेक चौधरी, सन्देश गुरुङ, अभिषेक राई र कौशल राई प्रतियोगिता जस्तै गरि अघि जाने भए। एक ल्याप सक्दा कति किलोमिटर होला, उनीहरुबाटै जिपिएस म्यापिङ हुदैथियो।

अमरहाटबाट ढुंगा बिछ्याएको ठाडो उकालो बाटोमा। यति उकालो छ कि थोरैले मात्रै चलाउन सक्यौं। सन्तोषका कुरा रमाइला छन्। हामीले साइकल डोर्यायउँदै गरेको देखेपछि 'नेभर गिपअप' भन्दै आइपुगे। मुश्किल त उनलाई पनि भएकै छ। तरपनि 'राम्री श्रीमति हुनेले श्रीमति, छोराछोरी हुनेले छोराछोरी सम्झनु, मेरो त भर्खर छोरा भा छ', उसैलाई सम्झन्छु' भन्दै उकालिए। साइकल डोर्याछउनेहरुले हाँस्दै बाटो छोडिदियौं।

उकालो सकिएपछि पञ्चकन्या जंगल जाने रोड भेटियो। हामी पञ्चकन्या मन्दिरअघि रोकियौं। त्यहाँ पाथीभारा युमाको मन्दिर पनि छ। भक्तजन आउने जाने क्रम चलि रहेको छ। जंगल बीचमा मन्दिर, सितल हावा। कस्तो आनन्द। राष्टि्रय खेलाडी सन्तोषले साइकल बिग्रदा के गर्ने भनेर सिकाए।

'साइक्लिङमा मजा छ, त्यही भएर त पुष्कर दाई ११ बर्षसम्म संसार डुले', उनले यसो भन्दा हाँसो चल्यो।

पुष्कर दाई आमाले दिनु भएको सय रुपैयाँ लिएर साइकलमा संसार डुल्न निस्केका थिए। त्यतिबेला टिभी, पत्रपत्रिकामा पढेको थिए। पछि उहाँको पुस्तक संसारलाई पाँच फन्को किनेर पढे। सन् १९९८ अगष्टदेखि २००९ अगष्टसम्म १५० देश साइकलमा डुलेका। उनकै भनाईमा साइकल चलाउदा दैनिक १ लिटर पेट्रोल खर्च बच्छ।। मासिक सरदर ३ हजार रुपैया बच्छ। एक लिटर पेट्रोल फाल्ने कार्बनडाइअक्साइड खपत गर्न ८ वटा रुख चाहिन्छ। 'त्यसैले एक दिन साइकल चलाउदा ८ वटा रुख रोपे जस्तै हो', पुष्कर दाईले भने।

मानिसलाई गर्मी हुदा निस्कने पसिना बाहिरि लेयर(तह)को मात्रै हो रे। साइक्लिङ गर्दा निस्कने पसिना भित्री बोसो पग्लेर निस्केको। यसले शरीरलाई फाइदा पुर्या'उँछ। पौडी पछि धेरै कसरत हुने खेल साइक्लिङ नै हो। पुष्कर दाईबाट यति साइकल महात्म्य सुनि सकेपछि टन्नै बोसो पग्लिएछ भनेर मन रमायो।

जिपिएस म्यापिङसहित जुनियर भाइ आइपुगे। रुट एक ल्याप सक्दा ५.२ किलोमिटर देखायो। त्यसपछि यात्रा शुरु भयो, जंगलभित्रको सिंगल ट्रयाकमा। यसलाई जंगल सफारी पनि भनिन्छ। घास दाउरा गर्न जानेहरुले बनाएको गोरेटोमा साइकलको चक्का गुडाउनु त्यो पनि उकालो र ओरालोमा। कम्ता आँट चाहिन्छ!

त्यसै साइक्लिङलाई साहसिक खेल भनिएको होइन। ठाउँ ठाउँमा उत्रिएर डोराउनु पर्यो । चराको चिरबिर, सेउती खोलाको आवाज। हामी घरि साइकल डोर्यामउँदै त घरि प्याडल मार्दै बढ्छौं। जिउ तातिएको छ, तर छिन छिनमा वहने सितल हावाले आनन्द दिलाउछ।

जंगलको सिरानमा ऐतिहासिक दरबारको भग्नावशेष छ। हामी ठिक गढी मुनि सुस्तातौं। यो दरबार तत्कालीन विजयपुरे राजा बुद्धिकर्णको भएको मानिन्छ। विसं १८३१ साउन २२ मा गोर्खाली र लिम्बुबीच ऐतिहासिक सन्धी भयो भने १८३३ मा राजा बुद्धिकर्णको हत्या गरिएको इतिहास छ।

दरबारको संरक्षण हुन सकेन। पुरात्तात्विक महत्वका ठुला इटा चोरियो। दरबारस्थलमा पुग्न नसकेपनि स्मरण गर्दै हामी तलबाटै ओरालो झर्यौं। तस्बिर खिच्यौं। झण्डै पाँच घण्टे यात्रा सकिने क्रममा थियो। मेरै असावधानीले एक ठाउँ पछारिए। बाटोको साइडमा ठुलो ढुंगा थियो। प्याडल नउचाल्दा त्यहाँ ठोकियो र लडे। तर, ठुलो चोट लागेन। सम्भि्कए, मोटरसाइकलबाट यसरी नै लडेको भए?

मलाई भानुचौकबाट बन्दको तस्बिर लिनुथियो। साइकलमै हामी पुग्यौं। घण्टाघर, भानुभक्तको सालिक र सुनसान सडकको तस्बिर कैद गरे। हिड्ने बेला एक जना बन्दकर्ता आएर साइकल डोराउदै जाउ, नत्र ठिक हुदैन भन्दै धम्क्यायो। छक्क परे।

बन्दमा साइकल पनि निषेध? केहीबेर प्रतिवाद गरेर हामी बाटो लाग्यौं। संविधान बन्ने संघारमा छ, अब देशमा दिगो शान्ति, स्थिरता आउला कि भनेको त फेरि बन्द, हड्तालको श्रृंखला शुरु भयो। यसको अन्त्य कहिले होला? समुन्नत नेपाल कहिले बन्ला? र आमजनताले साइकलमा आनन्दले डुलने दिन कहिले आउला?

प्रकाशित: ४ भाद्र २०७२ २३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App