यी त केही उदाहरणमात्र हुन्। केही समययता जिल्लामा घटेका अधिकांश अपराधिक क्रियाकलापमा युवाको संलग्नता बढी देखिएको छ। हत्या, बलात्कार, चोरी, लुटपाट, कुटपिट, ठगीलगायतका अपराधिक क्रियाकलापमा 'टिन एज'देखि ३० वर्ष मुनिका युवक संलग्न छन्। त्यसमा पनि मावि तहदेखि कक्षा १२ सम्म पढ्दै गरेका युवक बढी छन्। अपराधिक कृयाकलापमा संलग्न रहेर कानूनको कठघरामा उभ्याइएका कतिपय युवा निमावि तहमा अध्यानरत र एसएलसी अनुत्तिर्णसम्मका छन्। गिरी दम्पत्ती हत्यामा संलग्नमध्ये अधिकांश युवा एसएलसी परीक्षामा अनुत्तिर्ण भएका र निमावि तहमा अध्यानरत युवा हुन्।
लेखपढ गर्ने, आफ्नो व्यक्तित्व, क्षमता विकास गर्ने र देशको योग्य नागरिक बन्ने उमेरका युवा समूह यसरी अपराधिक कृयाकलापमा तानिनु चिन्ता र चुनौतीको विषय बनेको सिर्जनात्मक एकता युवा समुह च्यास्मीतारका अध्यक्ष रसकुमार राई बताउँछन्। देशकालागि योग्य जनशक्तीकारुपमा रुपान्तरण हुनुपर्ने युवा यसरी बिग्रँदै जानु समाज र देश दुबैका निम्ति हितकर नुहने उनको भनाइ छ। यसको मूख्य दोष उपयुक्त 'गार्जेनसीप'को अभावको परिणाम ठान्छन् जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझी । 'अहिलेका अभिभावक आफ्ना छोराछोरीले के गर्दैछन् भन्नेमा बेखबर रहन्छन्,' डिएसपी माझीले भने, 'फलतः बाबुआमाले थाहै नपाई उनीहरुले गलत बाटो समाइसकेका हुन्छन्।' जिल्लामा अशिक्षा, बेरोजगार र मादक पदार्थ सेवन पनि युवा बिग्रनुको कारण देखिएको माझीले बताए। जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाको तथ्यांक अनुशार यस आर्थिक वर्ष गत असारदेखि हालसम्म बिभिन्न अपराध सम्बन्धी ५० वटा मुद्दा दर्ता भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, चोरी, हातहतियार तथा खरखजना, सार्वजनिक अपराध, ठगी, भवितव्य, सवारी ज्यानलगायतका अधिकांश मुद्दामा युवा अनुहार बढी देखिन्छन्।
हरेक ठाउँमा राजनैतिक संरक्षण पाउने अपराधिक मनोबृत्तिका समुहको गतिबिधिबाट गाउँका युवाहरु आकर्षित हुने र त्यसैको सिको गर्नेक्रम बढेको छ । अपराधमा दोषी ठहर भइ कारागारमा राखिएकामध्ये अधिकांश कैदीमा पनि युवाकै संख्या बढी छ। डिएसपी माझीका अनुसार यसलाई बेलैमा रोकथाम गर्नेतर्फ ध्यान नपुगे युवा शक्ति थप अनुत्पादक बन्ने निश्चित छ। अर्कातर्फ हरेक गाउँ र समाजमा युवा शक्तिलाई गलत बाटोमा हिँड्नबाट रोक्ने र सही बाटोमा डार्¥याउने आदर्श अगुवाको पनि कमी छ। गाउँमा सक्षम र अशल व्यक्ति 'नबस्नु वा नपाइनु' पनि युवा बिग्रनुको प्रमुख कारण ठान्छन् बाक्सिलाका समाजसेबी समिर राई । 'मान्छे असल बन्नलाई असल मान्छेकै संगत चाहिन्छ,' बाक्सिला फुटबल क्लबका अध्यक्ष रहेका समिरले भने, 'गाउँमा संगत गर्न योग्य व्यक्तिको अभावमा पनि युवाहरु बरबादीतिर धकेलिरहेका छन्।'
प्रकाशित: १७ चैत्र २०७२ ०३:०४ बुधबार





