सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निषेधित क्षेत्र सिंहदरबार परिसरभित्रै प्रवेश गरी नाराबाजी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मा आबद्ध विद्यार्थी नेताहरू रहेको बताइएको छ।
गृहमन्त्री गुरुङ विवादास्पद व्यवसायी दीपक भट्ट समूहसँगको व्यावसायिक साझेदारी र लघु बिमा कम्पनीको सेयर प्रकरणमा मुछिएपछि उनको राजीनामा माग गर्दै प्रदर्शन भएको हो।
प्रदर्शनकारीहरूले ‘भ्रष्ट गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेका थिए।
सेयर कारोबारमा विवादास्पद व्यापारीसँगको पार्टनरसिप देखिएको र सो विवरण सम्पत्ति विवरणमा लुकाएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको चौतर्फी आलोचना भइरहेको छ।
प्रकाशित: ८ वैशाख २०८३ १६:३८ मंगलबार





