हरेक लेखक–पाठकलाई स्वतन्त्रता छ, कुन विधाको बाटो हिँड्ने? परिदृश्य बताउँछ, कविहरू आख्यानकारको दर्ज्यानी चिह्न लगाउन लालायित हुँदै छन्। कतिपय कविहरू त आख्यानको अफिसियल केन्द्रमा सरुवा भएपछि मातृगृहप्रति हेयको दृष्टि फ्याँक्छन्। विधाको विकास र विस्तारमा तामझामवाला बजारको मनोवैज्ञानिक प्रभाव पनि धेरथोर रहन सक्ला। तर, त्यतिमात्र कारणचाहिँ काफी होइन। हरेक विधाका आफ्नै सीमा र शक्ति हुन्छन्। लेखक शब्दशक्तिको माध्यमबाट समाजसँग संवाद गर्न चाहन्छ। तर, आफ्नो अभिव्यक्ति बोक्न सक्ने विधाको डोरी समात्न सकिएन भने लक्षित समूहसम्म पुग्न सकिँदैन। अन्य लेखकलाई जस्तै नारायण ढकाललाई पनि प्रश्नचिह्न प्रयोग गर्न सकिन्छ। किन उनी भूतपूर्व कविको पहिचान बोक्दै छन्? अंग्रेजी रोमान्टिक कवि कलरिज कवितालाई 'द बेस्ट वर्ड्स इन द बेस्ट अर्डर' भन्छन्। अर्थात्, कविता सर्वोत्तम शब्दको सर्वोत्तम व्यवस्था हो। ढकालले कवितामा आफूलाई कमजोर पाए? या उनको अभिव्यक्तिको फैलावटको लागि कविता साँघुरो भयो? ढकालका समग्र रचनालाई अध्ययन गर्दा थाहा हुन्छ, उनी लेखक बन्ने सुकुमार रहरले उत्तेजित भएर मात्र लेखनमा आएका होइनन्। उनको लेखनको केन्द्रविन्दु हो, समाज। भारतीय समालोचक मैनेजर पाण्डेय भन्छन्, 'कवितामा कविको स्वर प्रमुख र निर्णायक हुन्छ। तर, उपन्यासमा समाजको इतिहासका स्वर अनेक रूपमा व्यक्त हुन्छन्। कवितामा अनेकार्थता मूल्यवान मानिन्छ भने उपन्यासमा सुनिश्चित अर्थको स्पष्ट अभिव्यक्ति महŒवपूर्ण हुन्छ।' पाण्डेयको मतलाई समर्थन गर्ने हो भने कवितादेखि उपन्याससम्मको ढकालीय यात्राको अर्थको चुरो बुझिन्छ। उनी समाजसापेक्ष विचारयात्रामा छन् निरन्तर। हरेक व्यक्तिको जीवनयात्राको केन्द्र हुन्छ,खोज। ढकाल 'आफू'लाई खोज्ने क्रममा कहिले विश्वविद्यालयका कक्षामा छिरे, कहिले हिप्पीसँग गाँजाका चिलिम तान्दै बसे। कहिले पुस्तकको जंगलमा हराइरहे। जब मार्क्स पढे, तब उनको जीवनलाई हेर्ने पुरानो दृष्टि बदलियो। र, यसरी आज उपन्यासको जब्बर टाकुरामा उभिएका छन् उनी।
नारायण ढकालका उपन्यास पीतसंवाद (२०५५), दुर्भिक्ष (२०६१), प्रेतकल्प (२०६५) र वृषभ वध (२०७१) को केन्द्र हो, आलोचनात्मक इतिहासचेत। यही बलियो जगको कारण उनको उपन्यासकारिता–भवन बलियो बनेको छ। आफ्ना उपन्यासलाई इतिहासको कुनै कालखण्डको फ्रेममा राखेर कथातन्तुको ब्रसले समाजको पोर्ट्रेट बनाउँछन् उनी। पीतसंवादमा उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि वामपन्थी राजनीतिमा देखिएका वैचारिक विचलन र पत्रकारिताको विसंगतिलाई प्रहार गरेका छन्। २०४६ को जनआन्दोलनपछि शहीदका सपना र प्रजातान्त्रिक मूल्यविघटनको चित्र दुर्भिक्षमा देख्न सक्छौँ। बहुचर्चित उपन्यास प्रेतकल्पमा चन्द्रशमशेरकालीन समयको समाज छ भने वृषभ वधमा पञ्चायतकालीन राजनीतिक प्रतिविम्ब छ।
रूख जति नै अग्लो र विशाल भए पनि जरासँग उसको नाता टुटेको हुँदैन। मान्छे जति नै पर पुगे पनि उसको जरा अतीतसँग जोडिएको हुन्छ, जहाँ स्थान, समय र भाषाको निर्मिति हुन्छ। नारायण ढकालसँग उमेर, अनुभव र अध्ययनले थमाइदिएका अथाह ज्ञान र अनुभूति छन्। तर, तिनको मूल काठमाडौँ मूलपानीकै सेरोफेरो काँठ क्षेत्रमा छ। सुदूर गाउँबस्तीका लागि त मूलपानी पनि अर्को केन्द्र हुनसक्छ। तर, राज्यनीतिको केन्द्रको तुलनामा मूलपानी परिधिकै संकथन हो। शहर र गाउँ, सभ्यता र वर्गको द्वन्द्वात्मक चेपुवामा परेको काँठे जीवनको जिउँदो साक्षी हुन् ढकाल। उनले त्यहाँको जीवनको अन्धविश्वास र अभाव देखे–भोगेका छन्। ग्रामीण स्वाभिमान र हीनताबोध छामेका छन् । परिवर्तित समयको अनुहार नियालेका छन्। र, त उनले काँठको परिवेशलाई सहज ढंगले खेलाउन सकेका छन्।
राजनीति र इतिहासचेत बोकेका नेपाली लेखकमा नारायण ढकाल निकै शक्तिशाली छन्। कतिपय समीक्षक पाठक त उनलाई 'आख्यानको महारथि' भन्छन्। सबै उपन्यासकारका आ–आफ्नै विचारधारा र लेखनशैली छन्। तर, सामाजिक न्यायलाई समयचेतका विविध सन्दर्भसँग जोड्ने शिल्पीमा नारायण ढकाल बेजोड नै हुन्। लाग्छ, उनको प्रतिस्पर्धी नारायण ढकाल नै हुन्। पाठक समीक्षकले अन्य लेखकको लहरमा राखेर अध्ययन–मूल्यांकन गर्नु स्वाभाविक र तार्किक हुँदै हो। तर, ढकालजस्ता गम्भीर लेखकले हिजो र आजको लेखनलाई स्वमूल्यांकनको तराजुमा राख्नु श्रेयस्कर होला। हरेक लेखकले आफूलाई विचार र शिल्पमा परिष्कार गर्दै लैजानु नै गतिशीलता हो। सामाजिक सञ्जाल–मिडियामा प्रकाशित–प्रसारित विभिन्न 'डिस्कोर्स'लाई हेर्दा भन्न सकिन्छ, नारायण ढकाल आत्मसमीक्षा गर्न सक्ने र आफैँप्रति निर्मम हुन सक्ने इमानदार लेखक हुन्। उनी पाठकीय चेतको सम्मान गर्दै आफ्नो लेखनमा थप गाम्भीर्यको रङ दिन्छन्। तर, बहुमत–अभिमतको सम्मानको नाउँमा उपन्यासलाई पूर्णतः बजारिया बनाउने पुँजीवादी तन्त्रको मतियार बन्न तयार छैनन् उनी। उनका उपन्यासका गुरुत्व र गहिराइबाट यही कुरा पुष्टि हुँदै आएको छ। २०७१ सालको पुछारमा वृषभ वध बजारमा देखापर्योा। अरू क्षेत्रमा झैँ भूकम्पको असर पुस्तक बजारमा पनि स्वाभाविक थियो। तर, मानसिक आघात र राष्ट्रिय शोकमा पनि नारायण ढकाल र वृषभ वधका बारे पाठक–पत्रकार–लेखक–समीक्षकबीच बहस व्यापक छ।
आखिर वृषभ वधमा त्यस्तो के छ?
राज्यनीतिको दुश्प्रभावबाट बिथोलिएको जनजीवनको एउटा विरूप चित्र हो, वृषभ वध। २०१७ सालमा राजा महेन्द्रको प्रत्यक्ष शासनले दलगत राजनीतिक अभ्यासको घाँटी निमोठेर पञ्चायती व्यबस्था लाद्यो भन्ने इतिहास छयालिसपछिको पुस्तालाई पनि थाहा छ। त्यस व्यवस्थाले राष्ट्रिय राजनीतिमा मात्र हलचल मच्चाएन, राजनीतिको फेद ग्रामीण जीवनका दैनिकी र रङरोगनमा पनि प्रत्यक्ष प्रभाव पार्योत। कतिपय पाटा अदृश्य थिए/छन्। तिनै केन्द्रको आँखामा नपरेका र झिनामसिनाको रूपमा अपहेलित कथाका पहेली इतिहासकै समकक्षी भएर उभिएका छन् वृषभ वधमा। विगतका अनेकौँ साक्ष्यले बोलेका छन्, इतिहास शासकको दरबारिया मसीले लेखेको कुरा। इतिहास कहिल्यै पनि श्रमजीवी वर्गको लेखिएको छैन। इतिहास निर्माणमा जनताको रगत–पसिनाको त्रिशूली–दरौँदी बगेका हुन्छन्, तर जस पाउनेको टाउकोमा श्रीपेच र श्रीपेचका संस्करण झल्किएका हुन्छन्। छोपिएका इतिहास समयले बिस्तारै अनावृत्त पनि गराउँछ भन्ने गतिलो उदाहरण हो, वृषभ वध। वृषभ वध राष्ट्रिय राजनीतिसँग जोडिँदा–जोडिँदै पनि स्थानीय तिख्खर स्वाद लिएर उपस्थित छ। शासक–इतिहासको बुटले पिटिएका हजारौँ देवेन्द्रहरू हाम्रै अलिखित इतिहासको बाँझो भूमिमा होलान्, जसलाई नारायण ढकालहरू उत्खनन गर्दै छन्। उपन्यासका पृष्ठहरूमा डढे साँढे कहिले थाक्दै, कहिले बलशाली हुँदै आउजाउ गर्छ। राज्यसँग सिंगौरी खेल्ने विम्बको रूपमा डढेको उपस्थिति बलियो छ। चरित्रचित्रणका दृष्टिले देवेन्द्र र डढे केन्द्रीय रूपमा आएका छन्। यी दुइको आत्मीयताले प्रतिरोधीचेतको एकतातिर संकेत गरेको छ। तर, देवेन्द्र पनि वैचारिक पक्षमा सचेत देखिँदैन। रमाइलो र उटपट्याङ गर्ने तहसम्म उभिँदा व्यवस्थाविरोधी देखिएको छ। समाजको आदिम चरित्र हो, सत्ताको पक्ष र विपक्षमा उभिनु। सत्ताको प्रभुत्वलाई स्विकार्नेहरू शासक–प्रशासककै भाषा बोल्छन्। तर, प्रतिरोधीचेतधारी समूह उत्पीडित–निमुखाकै उत्थान चाहन्छन्। हरिहरतीर्थ गाउँ पञ्चायतका नितान्त पारिवारिक अहम् र द्वन्द्वलाई राजनीतिक आवरण दिएर गाउँलेहरू विभाजित छन्। प्रधानपञ्च हरिभक्त खड्का र पूर्वजिम्वाल झक्कडप्रसाद बीचको पुरानो द्वन्द्वको डोरी रामप्रसाद हुँदै देवेन्द्रसम्म तन्किएको छ। सामाजिक प्रतिद्वन्द्विताको घाउ बढेर क्यान्सरकै रूप लिएपछि मूल राजनीति अझ भ्रष्ट भएको छ। देवेन्द्र र डढे साँढे 'अराष्ट्रिय तŒव'को आरोपमा लखेटिएका छन्। सत्ताको तन्तु यस्तै सानो–सानो पेचकिलामा अडि्कएको हुन्छ सायद। देवेन्द्रहरू मनोरञ्जनका लागि केही बदमासी गर्छन्। तर, राजनीतिक चलखेलसँग उति चासो राख्दैनन्। कमजोर धरातलमा उभिएपछि आफ्नै लयमा सुसेल्ने बताससँग पनि तर्सिंदो रहेछ मान्छे। पञ्चहरूको शासननीति साह्रै कमजोर भएकाले नै हो, देवेन्द्रहरू अराष्ट्रिय तŒव कहलिएका।
न्ाारायण ढकाल आफैँ पनि पञ्चायती व्यवस्थाविरोधी राजनीतिमा संलग्न रहेका कारण उनलाई वृषभ वधको कथा बुन्न सहज भएको हुनुपर्छ। महेन्द्रीय राष्ट्रवादको शिकार देवेन्द्र पनि भएको छ र डढे पनि। हिजो त्यो राष्ट्रवाद केन्द्रमा थियो नै। आज पनि पुरानो झुत्रो राष्ट्रवादको दौरासुरुवाल लगाएर हिन्दू राष्ट्रको वकालत गरिँदै छ हाम्रो समाजमा। उपन्यासको एउटा साक्ष्य बोल्छ –
" नेपाल संसारको एक मात्र हिन्दू राष्ट्र हो। हिन्दू राष्ट्रमा साँढे मार्न मिल्छ? संविधानविरुद्ध पनि छ यो हत्या।"
"हिन्दू राष्ट्रमा गाई र साँढे बराबर दर्जाका देवता हुन्।"
"मुलुकी ऐनअनुसार मानिस, गाई र साँढे मारेको अपराध सजाय बराबर हुन्छ। सर्वस्वसहित जन्मकैद।"
नेपालका कतिपय जाति र समुदायका लागि गाई, भैँसी, भेडाबाख्रा एकै प्रकारका मांसखाद्य मात्र हुन्, जसरी आर्यहरूका लागि खसी। महेन्द्रकालीन विभेदमूलक कथामा कतिपय अल्पविराम, कोष्ठक र पूर्णविराम अझै पनि हुबहु छन्। एउटा सामान्य युवक र जनावरविरुद्ध त्यति ठूलो राज्यशक्ति किन केन्द्रित भएको होला? स्वार्थप्रेरित कदम चाल्दा मान्छे हरेकपल्ट तर्सिन्छ भन्ने बलियो नमुना भेटिन्छ वृषभ वधमा। राज्यसत्ताको उपयोग गर्दै कुनै न कुनै बहानामा अराष्ट्रिय तŒवको ट्याग लगाएर दुश्मन बढार्ने अभियानमा लाग्ने पञ्चहरू रुग्ण चिन्तनका प्रतिनिधि चरित्र हुन्। उनीहरू आफू अनुकूल इतिहास लेखाउन चाहन्छन्। र, प्रत्येक लेखाइमा एउटा निर्दोष नागरिकको निधारमा गहिरो चोट दिन्छन्। राज्य ढुकुटीको दुरुपयोग गर्दै निजी अहम् तुष्टि गर्ने समूह र त्यसको विपक्षी मनोदशालाई सफलतापूर्वक प्रस्तुत गरेका छन् ढकालले।
नारायण ढकाल उपन्यास लेखनमा सिद्धहस्त मानिन्छन्। उनको शैली चामत्कारिक छैन। सरल र वर्णनात्मक शैलीबाटै पनि पाठकलाई आफूसँगै हिँडाउन सक्नु उनको शक्ति हो। मन्त्र, प्रेम र हत्या गरी तीन अध्यायमा उनले उपन्यासको कथालाई जीवन दिएका छन्। संस्कृत शब्दबाट उपन्यासको न्वारान गर्ने ढकालको पुरानो बानी वृषभ वधमा पनि छुटेको छैन। यस उपन्यासको भाषा लयात्मक भएकै कारण पाठक पनि लेखकसँगै समानान्तर अघि बढ्न सक्छन्। तर, कहीँ–कहीँ भने औपचारिक भाषाको प्रयोग गरेका छन्, जुन पात्र र परिवेश प्रतिकूल प्रतीत हुन्छ। उपन्यास पठनमा मिठास थप्नका लागि कहीँ हास्यव्यंग्यको सटिक प्रयोग गरेका छन्। शब्दप्रयोगका हिसाबले उनलाई 'प्रकृतवाद उन्मुख' को आरोप लाग्न सक्छ या लागिसकेको हुनुपर्छ। समाजमा विशेषगरी अश्लीलको रूपमा वर्गीकृत शब्दलाई आधार मान्दा त्यस्तो बिल्ला टाँसिन सक्छ। तर, श्लील–अश्लील निरपेक्ष हुँदैन। एक त शब्दको गरिमा र अर्थभेद जाति,समाज र संस्कृतिअनुरूप फरक पर्छ भने अर्को– 'अश्लील' भन्ने शब्द नै पुरुषवादी समाजको बलियो हतियार हो, जो नारी दमनका लागि प्रयोग गरिन्छ। यस कोणबाट व्याख्याको तीर सोझाउने हो भने ढकाल फेरि पनि प्रगतिशील पंक्तिमा दरो उभिन्छन्।
चरित्रविकासमा स्वाभाविकता भएन भने समाख्याताप्रति विश्वसनीयता उड्न जान्छ। घुमिफिरी हेर्दा, समाख्याता त लेखककै आरोपित रूप नै हो। आठ–नौ कक्षामा पढ्ने देवेन्द्र कहिलेकाहीँ गम्भीर राजनीतिक सुझका कुरा बोल्छ। यस्तो बिन्दुमा शंका लाग्छ, कतै सामान्य प्रसंगहरू खप्टिएर महŒवपूर्ण घटना छोपियो कि? न्यारेटरले पात्रको चरित्रचित्रणमा किन विभेदकारी सम्बोधन गरे भन्ने प्रश्न पनि उत्तिकै ज्वलन्त बन्दछ। पात्रको आफ्नै विचार हुन्छ र लेखकको पनि विश्वदृष्टि। तर, न्यारेटरमाथि लेखक हाबी भएमा लेखकीय धारणामाथि शंका गर्न सकिन्छ। न्यारेसनमा न्यारेटर तटस्थ बस्न सकेन भने प्राविधिक गडबडी पनि हुनसक्छ। वृषभ वधमा यस्तो खोट लगाउन सकिने एकाध ठाउँ छन्। तथ्यगत सन्तुलन र विम्बचयनमा रन्दा लगाउन अपुग रहेको प्रस्टै देखिन्छ, जो सामान्य त्रुटि तहमा रहेका छन्। एउटा उपन्यासका लागि बहसका मुख्य पाटा हुन्; कला–शिल्प र वैचारिक धरातल।
नेपालको राजनीतिक ऊहापोहसँग लामो सहयात्रा गरेका लेखकले चयन गर्ने विषय राजनीति नै हो। राजनीतिप्रतिको हाम्रो बुझाइ गलत भएकै कारण अपव्याख्याको विस्तार भएको हो। अमुक दलको झोला–झण्डा बोक्नुलाई मात्र राजनीति देख्ने हाम्रो व्याख्यादृष्टि पनि परिवर्तन गर्न जरुरी छ अब। समाजलाई हेर्ने दर्शनको आभ्यासिक थलो हो, राजनीति। नारायण ढकालको उपन्यास राजनीतिभन्दा बाहिर गएमा पर्यटकीय भ्रमणजस्तो मात्रै हुनसक्ने खतरा छ। युरोपेलीभन्दा हाम्रा उपन्यास बढी राजनीतिक हुनु स्वाभाविक नै हो। र, नारायण ढकालजस्ता गम्भीर लेखकको पहिलो मैदान राजनीति हुनु प्रमुख शर्तसरह नै हो। हुन त हरेक रचना राजनीतिक टेक्स्ट नै हुन्।
उपन्याससिर्जित यथार्थका सामाजिक र राजनीतिक मूल्यांकनले नै उक्त रचनाको गहिराइ र आयु निर्धारण गर्दछ। ढकालले पञ्चायतकालीन राजनीतिको सामाजिक र सांस्कृतिक प्रभावलाई नजिकबाट छामेका कारण पनि वृषभ वधको परिवेश चित्रणमा जीवन छ। उपन्यासमा गणेशमान सिंहको जेलविद्रोह र त्यसपछिका सामाजिक प्रभाव र चीनको हुनान किसान आन्दोलनको चर्चा पनि प्रसंगवश आएका छन्। वैयक्तिक स्वार्थपूर्तिका लागि केन्द्रीय राजनीतिलाई कसरी विकृत बनाइन्छ र त्यसविरुद्ध जनमानसमा कस्तो प्रतिक्रिया उत्पन्न हुन्छ भन्ने चित्रको एक उदाहरण हो लवप्रसाद। लवप्रसादको आवेश बोल्छ –
"अबचाहिँ म साँच्चै अराष्ट्रिय तŒवमा पस्छु र राजनीति गर्छु। के ठानेका छन् यिनीहरूले मलाई? के म मेरुदण्ड नभएको चिप्लेकिरा हुँ, जाबो एउटा मामुली पशुको चकचकको विषयलाई रबडझैँ तन्काएर पुलिस लगाउने! भीष्म पितामह सरहका मेरा बालाई कालो मोसो दल्ने? अनि सार्कीको लँगौटी ओढाउने? अझ त्यतिले नपुगेर अदना पशुको हत्या गर्ने र फेरि रातको बीचमा निरपराध बालकलाई पक्रिने? के राजा महेन्दको शोषणरहित र न्यायपूर्ण समाज बनाउने व्यवहार यही हो? ल बा सुन्नोस्, सुभद्रा अब तँ पनि सुन्, म राजनीति गर्छु। "
अराष्ट्रिय तŒवको कित्तामा पर्दा राज्यले गर्ने व्यवहारको पूर्वानुमान हुँदाहुँदै पनि लवप्रसादको आक्रोेश उम्लन्छ। महेन्द्रीय 'कु' पश्चात् भूमिसुधारको नीतिअनुरूप हरिहरतीर्थमा नापी आएको सन्दर्भमा उपन्यासको घटनाले अकल्पनीय गति मोड लिएको छ।
उपन्यासमा अन्धविश्वासी समाजको जीवनपद्धति ढसमस्स छ। पचास वर्षअघिको नेपाली समाजमात्र होइन, आज पनि हामी अन्धविश्वासको अदृश्य जालोमा घेरिएका छौँ। वर्णव्यवस्थाको जाँतोमा युगौँ पिल्सिएका दलितको अपमानबोध उत्तिकै छ। यो समस्या कुनै गाउँ या काँठका चुल्हाचौकामा मात्र सीमित छैन, शहरभित्रका अत्याधुनिक किचेन–क्याबिनेटमा पनि कुरूप ढंगमा फैलिएको छ। वृषभ वधमा उपस्थित प्रायः महिला घरायसी काममै सीमित छन्। देवेन्द्रकी प्रेमिका अञ्जुलाई पवित्रा भन्छिन् –
"गरिब श्रमजीवीहरू श्ाोषक राज्यको थिचोमिचोमा छन् तर महिलाहरू प्रतिक्रियावादी राज्यसँगै पुरुष सत्ताको थिचोमिचोमा छन्। मेरो आफ्नै कथा पनि त्यस्तै हो। विवाहको अर्थ थाहा नभएको उमेरमा मेरो बिहा गरियो। म बालविधवा बनेँ। अहिले म बिना कारण यही दण्ड भोगिरहेकी छु।"
पवित्राकै माध्यमबाट अञ्जु पुष्पलालको नजिक पुगिन्। एकाध नारी पात्रहरू परिवर्तनका पक्षमा देखिन्छन् वृषभ वधमा। तर, समग्रमा उपन्यासकार ढकाल नारी चरित्रलाई स्थापित गर्नमा चुकेका छन्। रचनाकारले सामाजिक यथार्थ नै लेख्ने भए पनि कहिलेकाहीँ कल्पना या स्वैरकल्पनाको माध्यमबाट पनि यथार्थको अतिक्रमण गर्ने गर्छ। सामाजिक रचना नै हो साहित्य। रचनाशीलता लेखकको सामाजिक अस्तित्वबाट निर्माण हुन्छ। तर, सामाजिक न्याय र उत्तरदायित्वपूर्ण लेखनका लागि उपन्यासकारले सम्भावित यथार्थको सिर्जना गर्दछ। नारी पात्रका सन्दर्भमा उपन्यासकार ढकाल थप जिम्मेवार हुनुपर्ला कि?
वृषभ वध किन लेखियोको प्रश्नात्मक चुम्बकीयताले उपन्यासकारको विश्वदृष्टिसँग जम्काभेट गराउँदछ। हरेक साहित्यिक कृति कुनै आवश्यकतापूर्तिको लागि रचना गरिएको हुन्छ। सिकारु लेखकले आफ्नो कीर्तिको लागि लेख्ला, तर स्थापित लेखकले नयाँ सिर्जना केका लागि गर्छन्? पक्कै पनि रचनाको स्वार्थ हुन्छ। प्रश्न हो, इतिहासमा रहेको कुन रिक्त स्थानलाई लेखक भर्न खोज्दै छन्? अर्थात्, कुन सामाजिक वर्गको आकांक्षा/प्रश्नको समाधानका लागि वृषभ वध लेखियो? जस्ता प्रश्नहरूको डोरीमा झुन्डिएर ढकालको विश्वदृष्टिलाई पनि बाहिर तान्न सकिन्छ। समाजका पात्रहरूलाई आफ्ना अभाव र उत्पीडन थाहा नहुन सक्छ। थाहा न्ौ भए पनि समाधानको क्षितिज नउघि्रएको हुनसक्छ। तर, रचनाकार विश्वदृष्टि र सामाजिक वर्गीय समस्याप्रति अलमलमा हुँदैन/हुन सक्दैन। लुसियन गोल्डमान भन्छन्– 'समाजका सदस्यहरूका विचार, इच्छा, आकांक्षा र भावनाको अन्तरसम्बन्ध हुन्छ। र, तिनकै मिश्रणबाट समाजका सदस्यहरू एकअर्कामा सम्मिलित भएका हुन्छन्। यसैबाट विश्वदृष्टिको विकास भएको हुन्छ।' उपन्यासमा अभिव्यक्त हुने विश्वदृष्टि पनि एउटा वर्ग वा समूहको सम्भावित चेतनाबाट निर्माण हुन्छ। सुरुदेखि वृषभ वधसम्मको ढकालीय लेखनको विश्वदृष्टि मार्क्सवाद–नवमार्क्सवादकै हाताभित्र हुर्किएको देखिन्छ। हुन त ढकालले अनेक मञ्चबाट सरकारी मार्क्सवादको आलोचना गरेका छन्। तर, आलोचनात्मक यथार्थको घर मार्क्सवादकै बलियो जगमा ठडिएको हुन्छ। प्रश्न उठ्छ, देवेन्द्रजस्तै उटपट्याङे केटो एकाएक वाम राजनीतिको बाटोमा कसरी पुग्यो? के मार्क्सवादको नेपाली स्कुलिङ यस्तै हो? मार्क्सवादीय समाजदृष्टि र इतिहास सचेतताविना कसरी देवेन्द्र कम्युनिस्ट राजनीतितिर प्रवेश गर्न सक्छ? उपन्यासकार ढकाल स्वयम् वामपन्थी राजनीतिज्ञ पनि भएकोले ठूलो खुर्पे चिह्न उठाउन मन लाग्छ। के नेपाली इतिहासमा राजनीतिक क्रान्ति लहडबाजी नै भएका हुन्? किन नेपाली कम्युनिस्ट क्रान्तिलाई अपव्याख्याको खाडलतिर धकेलिँदै छ? यदि ढकालको विश्वदृष्टि अपव्याख्याको मानसिकताबाट ग्रसित छैन भने देवेन्द्रको चरित्र विकासमा उनले यथेष्ट ध्यान नपुर्यारएका हुन् पक्कै। बरु लघु चित्रण नै भए पनि तुलनात्मक रूपमा देवेन्द्रभन्दा अञ्जुको विश्वदृष्टि निर्माण प्रक्रिया स्वाभाविक छ। उपन्यासमा एउटा प्रसंग छ–
उनले अञ्जुलाई प्रतिबन्धित पार्टीको दस्तावेज तथा महिला मुक्तिको पक्षमा लेखिएका कथा र निबन्धहरू पढ्न दिइन्। अञ्जुले सुरुमा खासै चाख राखिन। तर, जब उसको विवाहको कुरा एउटा वृद्ध मानिससँग गर्ने सुरसार भयो। त्यसपछि ऊ पवित्राको धेरै नजिक पुगी र आफ्नो मुक्तिका लागि गुहार मागी।
'मलाई जोगाउनुस् दिदी। म जानाजान नरकमा पर्न चाहन्नँ। म बूढोसँग बिहे गर्दिनँ।'
'यो बिहाबाट बच्ने एउटै उपाय छ। बनारस जाऊ। र, कमरेड पुष्पलाललाई भेट। उहाँ असल हुनुहुन्छ। तिम्रो भलो हुन्छ। मैले दिएको ठेगानामा जाऊ। त्यो हाम्रो पार्टीको हेडक्वार्टर हो। पुगेपछि चिठी लेख्नू।'
देवेन्द्रलाई प्रमुख चरित्र बनाइसकेपछि विश्वदृष्टि निर्माणको प्रक्रियामा कतै ओभरल्यापिङ रह्यो भन्ने लाग्दछ। ढकालजस्ता गम्भीर लेखक यस्ता वैचारिक पक्षमा सचेत हुनु उनको उपन्यासकारिताका लागि पनि टेवादायी कुरा हुनसक्छ।
पात्रहरूको प्रमुखताकै आधारमा कुनै एक पात्रलाई नायक मान्न्ाु परम्परागत दृष्टि हो । शास्त्रीय व्याख्याका परम्परालाई एकछिन पन्छाएर विचार गर्न सक्छौँ, के यो उपन्यास डढे साँढेको कथा हो? या देवेन्द्रको जीवनचरित? प्रधानपञ्च हरिभक्त खड्का मात्रको चरित्रचित्रण त झन् हुँदै होइन। साहित्यशास्त्रकै चस्माले हेरे पनि देवेन्द्रमा नायक हुनुपर्ने चरित्र छैन। कुनै एउटा पात्रको कथा भन्नु यस उपन्यासको ध्येय नै होइन भने कसरी पात्र नायक हुन्छ त? पात्रहरू कथाका माध्यम मात्र हुन्। यसरी हेर्दा वृषभ वधको नायक हो– समय। पञ्चायतकालीन समाजले भोगेको समय नै उपन्यासको नायक हो। निर्दाेष नागरिकलाई राज्यले दुःख दिएको समय नै उपन्यासको नायक हो। विनिमयमा आधारित आर्थिक व्यवस्थालाई मुद्रामा आधारित बजार व्यवस्थाले सहज तुल्याउँदै गएको समय छ। आयुर्वेदिक चिकित्सा प्रणालीलाई डाक्टरी ओखतीले विस्थापित गर्दै छ हरिहरतीर्थमा। पुरानो नाम र अनुहार परिवर्तन हुँदै छ गाउँको। यहाँ मोटर बाटो पुगेको उत्साहित समय छ। उपन्यासकार ढकालले परिवेश चित्रणमा वर्णनात्मक शैलीको क्यामेराबाट त्यस बेलाको बदलिँदो समयको अनुहार खिचेका छन्। कतै संवादले समयको सूचना दिन्छ त कतै मसिना वर्णनले। नायकले पात्र र परिवेशको अगुवाइ गर्दछ। यसरी उपन्यासमा समय नै नायकको रूपमा उपस्थित छ। ढकालको इतिहासबोध र समयचेतना उच्च छ भन्ने उदाहरण पनि हो वृषभ वध। तर, इतिहाससम्बद्ध उपन्यास भए पनि ऐतिहासिक उपन्यास भने होइन यो। इतिहासका आधारभूत तथ्यलाई तोडमोड नगरीकन ढकालले कलात्मक सत्यलाई उद्घाटित गरेका छन्। तर, वृषभ वध कलात्मक इतिहासको एउटा सत्य पक्षचाहिँ पक्कै हो। किनकि, इतिहास पनि तथ्यको भूमिकामा टेकेर गरिने व्याख्यात्मक यात्रा हो। ई. एच. कारले 'इतिहास के हो?' पुस्तकमा भनेका छन्- 'सुरुवाती दिनमा मलाई लागेको थियो– इतिहास नब्बे प्रतिशत सत्य र दश प्रतिशत व्याख्या हो। पचास वर्षसम्म इतिहासको क्षेत्रमा काम गरिसकेपछि मलाई लाग्यो– यसलाई उल्टाइदिनु उचित होला।' कारजस्ता इतिहासविद्लाई आधार मान्दा वृषभ वधका कथा इतिहासको प्रभुत्वशाली व्याख्याले छोपेको अदृश्य इतिहास हो। समाजको वास्तविकता, समय– सत्य र इतिहासको गतिको अभिव्यक्तिलाई प्रतिनिधिमूलक र प्रतीकात्मक रूपमा उपन्यासमा अभिव्यक्त गरेका छन् ढकालले।
उपन्यासलाई सस्तो मनोरञ्जनका रूपमा हेर्ने लेखक–पाठकले वृषभ वधलाई पढ्ने कष्ट गर्दैनन्। जसले उपन्यसलाई इतिहास, समय, समाज र राजनीतिसँग जोडेर हेर्दछ, उसले यस उपन्यासलाई अब्बल कृतिका रूपमा स्वीकार गर्दछ। वृषभ वध सामान्य जानकारी, क्षणिक मनोरञ्जन, र धारावाहिक भावुकताका लागि हुँदै होइन। परिवर्तनशील समय, समाजको आधार र उपरी संरचनामा टेकेर गरिने गतिशील विमर्शका लागि हो यो उपन्यास। यस अर्थमा पछिल्लो उपन्यासबाट नारायण ढकालले आफ्नो पुरानो गम्भीर छविलाई अग्लो बनाउँदै छन्। सरलताउन्मुख ढकालको उपन्यास लेखन भने बहसको विषय हो। वृषभ वध केवल भाषिक निर्मिति मात्र होइन। एक तरल कालखण्डको दस्तावेज हो र गतिलो समाजशास्त्रीय डिस्कोर्स पनि। समाजसँगको संवादधर्मिता, पात्रको बहुल स्वरको समायोजन र स्वतन्त्रताको रक्षाजस्ता कुराले नै उपन्यासको भविष्य निर्धारित गर्दछ। मलाई लाग्छ, लामो समयसम्म पनि नेपाली उपन्यास परम्परामा वृषभ वधको गुणस्तर र गाम्भीर्यबारे चर्चा चलिरहने छ।
प्रकाशित: १६ माघ २०७२ ०३:१५ शनिबार





