१६ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

कोस्टारिकामा २६ नेपाली पक्राउ

काठमाडौं- तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेका २६ जना नेपाली स्थानीय समयअनुसार बुधबार बिहान ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा पक्राउ परेका छन्। बिना राहदानी यात्रा गरिरहेका उनीहरू कोस्टारिकाको काना ब्लान्कास्थित पुलनजिकै पक्राउ परेका हुन्। योसँगै एक महिनाको अवधिमा कोस्टारिकामा पक्राउ पर्ने नेपालीको संख्या ३८ पुगेको छ।

तस्करले ट्रकमा राखेर लग्दै गर्दा नेपालीसहित ५१ जना पक्राउ परेको कोस्टारिकन समाचार पोर्टल इनसाइड कोस्टारिका डक कमले उल्लेख गरेको छ। पक्राउ पर्ने अन्य देशका नागरिकमा ९ जना बंगलादेशी, ४ जना इरिटि्रयन, ९ जना सोमालियन, २ जना इराकी र १ जना पाकिस्तानी छन्। प्रहरीले ५१ जनालाई एउटै ट्रकबाट पक्राउ गरेको हो।

कोस्टारिकन प्रहरीले नेपालीसहित ५१ जनालाई अमेरिका लैजान सघाइरहेका ३ जना तस्करलाई पनि पक्राउ गरेको छ। उनीहरूमाथि मुद्दा अघि बढाइएको छ। यसअघि सन् २०१५ को डिसेम्बर ७ को दिन मात्र कोस्टारिकामा अमेरिका जाँदै गरेका १२ जना नेपाली पक्राउ परेका थिए। उनीहरुलाई घरमा लुकाइरहेको अवस्थामा स्थानीय प्रहरीले फेला पारेको थियो। पछिल्लो २४ दिनमा कोस्टारिकामा मात्र ३८ जना नेपाली पक्राउ परेका हुन्।

केही दिनअघि मात्र तस्करको पछि लागि अमेरिका जाँदै गरेका १६ जना नेपाली ल्याटिन अमेरिकी अर्को राष्ट्र ग्वाटेमालामा पक्राउ परेका थिए। ग्वाटेमालामै सन् २०१५ को अगस्टमा अमेरिका जाँदै गरेका ११ जना नेपाली पक्राउ परेका थिए।

तस्कारले एक जनासँग ५० लाख रुपैयाँसम्म लिई नेपालीलाई अवैध तरिकाले अमेरिका पुर्यााउने गरेका छन्। नेपालबाट सिंगापुर, थाइल्यान्ड, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, कोलम्बिया, पानामा, ग्वाटेमाला, कोस्टारिका, होन्डुरस, मेक्सिकोलगायत १३ देखि १८ देश हुँदै तस्करले अमेरिका छिराउने गर्छन्। यस्तै क्रममा अमेरिका जाँदै गरेका नेपाली बुधबार कोस्टारिकामा पक्राउ परेका हुन्।

प्रकाशित: १६ पुस २०७२ २०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App