सम्पत्तिमा लोभिएर आफ्नै दाजु रमेशको योजना बनाई हत्या गरेको दाबी गर्दै सुभाषकी श्रीमती ममताले किटानी जाहेरी दिए पनि शुरुमा प्रहरीले प्रमाणको अभावमा पक्राउ नगरेको र पछि प्रमाण जुटेपछि फरार अभियुक्त फरार भएका थिए। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीका अनुसार रमेश पूर्व क्षेत्रीय प्रहरी कार्यालयको पहिलो नम्बरको खोजीको सूचीमा रहेको अवस्थामा क्षेत्रीय र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले भत्तपुरको गोठाटारमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
'सम्पूर्ण घटनाक्रमका आधारमा रमेशले नै भाई सुभाषको हत्या गरेको प्रमाणित हुन्छ,' अधिकारीले भने, 'हत्या प्रकरणमा यसअघि पक्राउ गरेका दुई जना व्यक्तिको बयानबाट पनि काफ्लेकै योजना अनुसार भएको खुल्छ।' काफ्ले हत्या प्रकरणमा प्रहरीले यसअघि रमेशका गाडी चालक नरेश चौधरी र माओवादीका पूर्व लडाकु झापा शान्तिनगर वडा नं. २ का २५ वर्षीय राहुल भन्ने रवि भट्टराईलाई पक्राउ गरी मुद्धा चलाएको थियो। चौधरी र भट्टराई दुबै जना अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्।
२०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनको दुई दिनपछि हाँसपोसाको चारकोसे जंगल क्षेत्रमा सुभाषको जलेको अवस्थामा शव भेटिएको थियो। सुभाषकी श्रीमती ममताले जेठाजु रमेशसहित तीन जनाबिरुद्ध हत्या गरेको किटानी जाहेरी हत्या भएको पाँच महिनापछि दिएकी थिइन्। ममताले जेठाजु रमेश, गाडी चालक नरेश चौधरी र छिमेकी सुभाष गौतमबिरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
ममताले उजुरी जाहेरीअनुसार नै छिमेकी सुभाषको समेत घटनामा संलग्न देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुभाष अहिले फरार रहेका छन्। हत्या प्रकरणको घटनामा रमेशका चालक नरेशलाई पक्राउ नगरुन्जेलसम्म रमेश र सुभाष प्रहरी सम्पर्कमै थिए। तर, जब चौधरी पक्राउ परे दुवै जना फरार भएका थिए । प्रहरीको अनुसन्धान अनुसार रमेशले सम्पत्तिमा लोभिएर भाई सुभाषको हत्या गरेको खुलेको छ । दसक अघिसम्म रमेशको आर्थिक अवस्था सामान्य भए पनि पछिल्लो समय भने ह्वातै उक्सिएको थियो।
प्रकाशित: ११ पुस २०७२ ०५:३४ शनिबार





