४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सुखीपुरमा प्रेम विवाह विवादले झडप, केटा पक्षका एकजनालाई भेन्टिलेटरमा राखेर उपचार हुँदै

सांकेतिक तस्बिर

सिरहाको सुखीपुर नगरपालिका–६ खरहीटोलमा प्रेम विवाह प्रकरणलाई लिएर केटा–केटी पक्षबीच झडप भएको छ । झडपमा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् ।  

यादवको उपचार अहिले विराटनगरको गोल्डेन अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । पीडित पक्षका अनुसार उनलाई टाउकोसहित शरीरका विभिन्न भागमा घरेलु हतियारले चोट लागेको छ ।

यसैगरी, राजकिशोरका बुबा शिवकुमार यादव पनि घाइते भएका छन् ।

घटना दुई वर्षअघि सुरु भएको प्रेम विवाहसँग सम्बन्धित छ । राजकिशोरले गाउँकै रामकरण यादवको छोरीसँग प्रेम विवाह गरेका थिए र विवाह पछि अहिलेसम्म उनीहरू गाउँ फर्केका छैनन् । परिवारका अनुसार गाउँ फर्कन नपाउने कारण डर रहेको छ ।

शुक्रबार विहान करिब १०–११ बजे केटीपक्षले घरेलु धारिलो हतियारसहित हुल बनाएर केटा पक्षमाथि आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्थानीयका अनुसार, प्रेम विवाह गरेका केटा पक्ष आर्थिक रूपमा कमजोर छन् भने केटी पक्ष आर्थिक र राजनीतिक रूपमा बलियो छ । विवाहपछि उनीहरूको एक बच्चा समेत भएको छ ।

घटनापछि घरमा रहेका परिवारका सदस्यहरू त्रसित भएका छन् । पीडित पक्षले प्रहरी–प्रशासनलाई गुहार्दा पनि ढिलाइ भएको गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार घटना छानबिन भइरहेको छ भने दुवै पक्षका व्यक्ति घाइते भएको जानकारी दिएका छन् । डीएसपी पालले पीडितसँग प्रहरीले भेट गर्नु आवश्यक नभएको बताए । आरोपित रामकरण फरार रहेको र खोजी भइरहेको उनले स्पष्ट पारे ।

प्रकाशित: १३ पुस २०८२ १७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App