१७ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

'मदिरालय'मा पस्कियो 'मिस्टिका'

काठमाडौं- कुमार नगरकोटी जति रहस्यमय छन्, उनका कृतिहरु पनि त्यतिकै रहस्यमय छन्। बिहीबार उनलाई थप रहस्यमयी बनाउँदै उनको पहिलो उपन्यास 'मिस्टिका' सार्वजनिक भएको छ।

समग्रमा उनको यो पाँचौैं कृतिलाई टंगालको एटिक बारमा रंगकर्मी अनुप बरालले विमोचन गरे। आफू घाटमा बरालिने भए पनि उनले उपन्यासको विमोचन चाहिँ घाटमा गराएनन्, बारमा गराए। बार अर्थात् मदिरालय।

'ओ आ रही थी' शीर्षकको हिन्दी कविता सुनाएलगत्तै रंगकर्मी बरालले पुस्तकको घुम्टो उघारिदिएका थिए। 'लेखक नगरकोटी नयाँपन खोज्ने व्यक्ति हुन्। साहित्यको नयाँ डाइमेन्सनलाई उनले यो उपन्यासमा खोजेका छन्,' बरालले भने।

स्वप्निल र सर्रियल लेखनलाई आर्टवर्कमार्फत् प्रस्तुत गर्दै 'मेनस्ट्रिम माफिया' बन्न पुगेका नगरकोटी आफ्नै चामत्कारिक भाषाका ब्रान्डेड लेखकका रुपमा परिचित छन्। मदिरालयमा पस्किएको आफ्नो 'मिस्टिका'लाई उनले कालो फेन्टासी, मिस्टिसिज्म र सर्रियलिज्मको ककटेल केमेस्ट्री बताए।

'वास्तविकताबाट पर बसेर पुस्तक लेख्नु चुनौतीपूर्ण हुन्छ। हामीलाई सपना देख्न प्रोत्साहित गर्ने यस पुस्तकमा दिनहुँ प्रयोग भएर लेखनमा नसमेटिएका शब्दहरुलाई समेटेको छु। लेखन भनेको रोनाधोना होइन भनेर स्थापित गर्न यो पुस्तक सफल छ,' नगरकोटीका मित्र ज्याकीले कार्यक्रममा भने।

करिव नौ महिनामा पुस्तक तयार भएको हो। विभिन्न स्थानमा भएको बन्दले गर्दा 'मिस्टिका'लाई पाँच स्थानमा गरिने भनिएको विमोचन केही पर सारिएको छ।

कार्यक्रममा पोखराका गणेस पौडेलले पुस्तकको समीक्षा गरेका थिए। 'अधिकांश साहित्यहरु प्रेम, घृणा, भोग र यौनमा अडि्कएका छन्। यस पुस्तकमा समेटिएका पात्रहरु काम गर्छन् र जान्छन्। द्वन्द्वबिना कथा अघि बढेको छ। सबै पात्रहरुको लागि वातावरण तयार गर्ने काममा लेखक सफल छन्,' उनले भने, 'वारम्बार पात्रहरुको याद आइरहन्छ। कारण यो पुस्तकले प्रश्नबाहेक केही दिन्न।'

'मिस्टिका' भित्र 'ग्रे–डेज', 'ब्लु बोयज', 'स्याफ्रन ड्रिम्स' र 'इन्डिगो इभिनिङ्स' शीर्षकका चार खण्डहरु छन्। त्यसअन्तर्गत् 'कुण्डलिनी कुहिरो', 'टेलिफोन र टाइपराइटर', 'हाउ इज द डे, हाउडे', 'पोस्ट बक्स नम्बर ९९९', 'युफोरिया एन्ड योेफिरिया', 'सम्तम सियस्टा', 'भूमिगत गृह र अतृत्त', 'होटल कम्युनिस्ट डिलाइट्स' लगायतका कथा समेटिएका छन्।

'ब्ल्याक फेन्टासीभित्र रहेर मैले द्वितीय पुरुषमा पुस्तक लेखेको छु। साहित्यमा नयाँपनको प्रयोग हुनुपर्छ भनेर डाइमेन्सन फराकिलो परेको हुँ। एकोहोरो कथामात्र लेख्ने शैलीले लेखनमा नयाँपन दिदैन्,' उनले भने, 'पाठकहरु पनि सहज भएका छन्। त्यसैले नयाँ स्वाद बुझ्न उनीहरुले केही मेहनत गर्नुपर्छ। अन्यथा मिस्टिकाको मिस्ट्री बुझिन्न।'

नयाँ पाठकहरु तयार गर्न नयाँ शैलीको पुस्तक तयार गरेको दावी उनले गरे। यसअघि नगरकोटीका 'मोक्षान्तः कोठमाडौं फिभर', 'फोसिल', 'अक्षरगञ्ज' र 'कोमाःअ पोलिटिकल सेक्स' नामक चार कृतिहरु प्रकाशित भइसकेका छन्।

बुक हिलले प्रकाशन गरेको पुस्तकको विमोचन इटहरी, कोहलपुर, बुटवल, चितवन र पोखरामा समेत हुने जानकारी प्रकाशक पवन आचार्यले गराए। 'साहित्यिक पुस्तकलाई राजधानी बाहिर पुर्याबउन प्रकाशकहरुले खासै ध्यान दिँदैनन्। हामी राजधानी र राजधानी बाहिरका पाठकहरुका लागि विभिन्न स्थानमा पुस्तक विमोचन गराउँदैछौं। यसले प्रकाशक, लेखक र पाठकबीच पुस्तकबारे प्रत्यक्ष छलफल गरेर सम्बन्ध बिस्तार गर्न सहयोग पुर्याैउने आशा छ,' उनले भने। ४०७ पृष्ठको पुस्तकको मूल्य ४९९ रुपैयाँ राखिएको छ।

प्रकाशित: ३ भाद्र २०७२ २०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App