उनको यो पाँचौ कृतिलाई टंगालको एटिक बारमा रंगकर्मी अनुप बरालले विमोचन गरे। आफू घाटमा बरालिने भए पनि उनले उपन्यासको विमोचन चाहिँ बारमा गराए। बार अर्थात् मदिरालय ।
'ओ आ रही थी' शीर्षकको हिन्दी कविता सुनाएलगत्तै रंगकर्मी बरालले पुस्तकको घुम्टो उघारिदिएका थिए। 'लेखक नगरकोटी नयाँपन खोज्ने व्यक्ति हुन्। साहित्यको नयाँ डाइमेन्सनलाई उनले यो उपन्यासमा खोजेका छन्,' बरालले भने।
स्वप्निल र सर्रियल लेखनलाई आर्टवर्कमार्फत् प्रस्तुत गर्दै 'मेनस्ट्रिम माफिया' बन्न पुगेका नगरकोटी आफ्नै चामत्कारिक भाषाका ब्रान्डेड लेखकका रुपमा परिचित छन्। मदिरालयमा पस्किएको आफ्नो 'मिस्टिका'लाई उनले कालो फेन्टासी, मिस्टिसिज्म र सर्रियलिज्मको ककटेल केमेस्ट्री बताए।
'वास्तविकताबाट पर बसेर पुस्तक लेख्नु चुनौतीपूर्ण हुन्छ। हामीलाई सपना देख्न प्रोत्साहित गर्ने यस पुस्तकमा दिनहुँ प्रयोग भएर लेखनमा नसमेटिएका शब्दहरुलाई समेटेको छु । लेखन भनेको रोनाधोना होइन भनेर स्थापित गर्न यो पुस्तक सफल छ,' नगरकोटीका मित्र ज्याकीले कार्यक्रममा भने।
करिव नौ महिनामा पुस्तक तयार भएको हो । विभिन्न स्थानमा भएको बन्दले गर्दा 'मिस्टिका'लाई पाँच स्थानमा गरिने भनिएको विमोचन केही पर सारिएको छ।
कार्यक्रममा पोखराका गणेस पौडेलले पुस्तकको समीक्षा गरेका थिए।
'अधिकांश साहित्यहरु प्रेम, घृणा, भोग र यौनमा अड्किएका छन् । यस पुस्तकमा समेटिएका पात्रहरु काम गर्छन् र जान्छन् । द्वन्द्वबिना कथा अघि बढेको छ । सबै पात्रहरुको लागि वातावरण तयार गर्ने काममा लेखक सफल छन्,' उनले भने, 'वारम्बार पात्रहरुको याद आइरहन्छ । कारण यो पुस्तकले प्रश्नबाहेक केही दिन्न ।'
'मिस्टिका' भित्र 'ग्रे–डेज', 'ब्लु बोयज', 'स्याफ्रन ड्रिम्स' र 'इन्डिगो इभिनिङ्स' शीर्षकका चार खण्डहरु छन्।
त्यसअन्तर्गत् 'कुण्डलिनी कुहिरो', 'टेलिफोन र टाइपराइटर', 'हाउ इज द डे, हाउडे', 'पोस्ट बक्स नम्बर ९९९', 'युफोरिया एन्ड योफिरिया', 'सम्तम सियस्टा', 'भूमिगत गृह र अतृत्त', 'होटल कम्युनिस्ट डिलाइट्स' लगायतका कथा समेटिएका छन् ।
'ब्ल्याक फेन्टासीभित्र रहेर मैले द्वितीय पुरुषमा पुस्तक लेखेको छु । साहित्यमा नयाँपनको प्रयोग हुनुपर्छ भनेर डाइमेन्सन फराकिलो परेको हुँ । एकोहोरो कथामात्र लेख्ने शैलीले लेखनमा नयाँपन दिदैन्,' उनले भने, 'पाठकहरु पनि सहज भएका छन् । त्यसैले नयाँ स्वाद बुझ्न उनीहरुले केही मेहनत गर्नुपर्छ । अन्यथा मिस्टिकाको मिस्ट्री बुझिन्न ।'
नयाँ पाठकहरु तयार गर्न नयाँ शैलीको पुस्तक तयार गरेको दावी उनले गरे । यसअघि नगरकोटीका 'मोक्षान्तः कोठमाडौं फिभर', 'फोसिल', 'अक्षरगञ्ज' र 'कोमाःअ पोलिटिकल सेक्स' नामक चार कृतिहरु प्रकाशित भइसकेका छन् ।
बुक हिलले प्रकाशन गरेको पुस्तकको विमोचन इटहरी, कोहलपुर, बुटवल, चितवन र पोखरामा समेत हुने जानकारी प्रकाशक पवन आचार्यले गराए । 'साहित्यिक पुस्तकलाई राजधानी बाहिर पु¥याउन प्रकाशकहरुले खासै ध्यान दिँदैनन् । हामी राजधानी र राजधानी बाहिरका पाठकहरुका लागि विभिन्न स्थानमा पुस्तक विमोचन गराउँदैछौं । यसले प्रकाशक, लेखक र पाठकबीच पुस्तकबारे प्रत्यक्ष छलफल गरेर सम्बन्ध बिस्तार गर्न सहयोग पु¥याउने आशा छ,' उनले भने । ४०७ पृष्ठको पुस्तकको मूल्य ४९९ रुपैयाँ राखिएको छ ।
प्रकाशित: ३ भाद्र २०७२ १०:३१ बिहीबार





