१७ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

अपवाद स्थापित गर्ने कसरत

बालबालिकाहरूको अनुहार, बोलीचाली, व्यवहार र औंठाछापहरू अलग–अलग भएझैं रुचि र क्षमता पनि फरक हुन्छ। उनीहरूलाई एकनासले एउटै कक्षाकोठामा राखेर सिकाउन खोज्नु चरा र माछालाई एउटै सिप सिकाउन खोज्नुजस्तै हो।अझै कुनै निर्दिष्ट समय सीमामा बाँधेर एउटै प्रश्नमार्फत उनीहरूको मूल्यांकन गर्नु कति न्यायोचित हुन्छ? कस्तूरीले आफ्नै बिनाको बास्ना थाहा नपाएर त्यही बास्नाकै खोजीमा दौडँदा दौडँदै जीवन बर्बाद गरेझैं मान्छेहरू आफूमा भएको प्रतिभा चिन्न नसकेर भौंतारिरहेछन्। आफंैलाई नचिनी, नजानी अर्काको करकाप वा लहलहैमा लागेर चालिएको कदमले जीवनमा निराशा र कुण्ठा निम्त्याउँछ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई चिन्नु हो। यस्तै सकारात्मक सन्देश र सोच दिने प्रयासमा कलाकार हरिवंश आचार्यको छायाँचित्रसँगै जन्मेहुर्केको आख्यानमूलक कृति हो— करोडौं कस्तूरी।

पुस्तकमा मूलतः आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मृत्युवरण गरिसकेकादेखि सुगन्ध थाहा नपाएरै बाँचिरहेकासम्म र सुगन्ध थाहा पाएरै पनि निष्त्रि्कय तथा उदास जीवन जिउन विवश कस्तूरीहरुको चर्चा छ। बेलैमा आफूमा भएको क्षमता तथा प्रतिभाको पहिचान गरी तदनुरूप संघर्र्ष गर्दै अगाडि बढ्न सके जीवन सफल, सार्थक र उज्ज्वल बन्दछ भन्ने सन्देश यसमा छ।

साँच्चै, शिक्षक हुनु अरू केही गर्न नसकेर, कहीँ कतै नबिकेर दिक्दारीका साथ दिन बिताउने पेसा नै हो र? कृतिमा अधिकांश शिक्षकलाई त्यस्तै चित्रण गरिएको छ। अझै कृतिको केन्द्रीय छायाँपात्र 'उल्टो जिन्दगी बाँचिरहेको' र 'सुल्ट्याउन नसकेको'मा चिन्ताग्रस्त देखिन्छ। लेखकलाई आफ्नो पात्र त्यति साह्रो निरीह भइरहँदा मन दुखेन होला? अझै 'बाउन्न घुस्सा–त्रिपन्न ठक्कर' खाएर जीवनको उत्तरार्द्धसम्म पढाइलाई निरन्तरता दिइरहेको छायाँपात्रलाई 'पिएचडी' को पूर्वसन्ध्यामा भो भैगो मलाई अब आफ्नो नामको अगाडि कथित डाक्टर लेखाउनुछैन भनेर पलायनको मार्गमा पठाउँदा दया जागेन? हुन त आख्यानभित्र वैराग्य र निराशाको दलदलमा भासिएका पात्रहरूकै बाहुल्य छ। आख्यानको बिट मार्दै भनिएको छ, '...कल्पनापुरमा बसेर हरिवंश दाइले एउटा नाटक लेखे, मैले एउटा उपन्यास लेखँे। त्यसपछि हामी आ–आफ्नो भावनाको जहाजमा चढ्यौं। कल्पनापुरबाट भावनाको जहाज सपनाको आकाशमा उडाएर एकैछिनमा म पुनः आफ्नै यथार्थपुरमा अवतरण गरँे।' यस मानेमा कल्पना, भावना अनि यथार्थको त्रिकोणात्मक द्वन्द्वको कलात्मक संयोजनका रूपमा पनि बु‰न सकिन्छ— करोडौं कस्तूरीलाई।

पढाइमा खासै रुचि नहुने, प्रायः चकचक गरिरहने, गुरुहरूलाई अपमान गर्ने र मौका पाउनासाथ लुकेर प्रहार गर्न पछि नपर्ने, समस्त शैक्षिक–शैक्षणिक प्रक्रियाप्रति उदासिन घरानिया विद्यार्थीहरूको बदमासी चर्चाले पुस्तकमा बढी प्रश्रय पाएको छ। त्यहीबीचबाट एकाध प्रतिभावान् अपवादलाई शाब्दिक अलंकार र कलात्मक लेखनको भरमा सामान्यीकरण गर्दै वादका रूपमा स्थापित गर्न खोज्नु पुस्तकको दुर्बल पक्ष हो। हो, काँडाहरू आफैं तिखा हुन्छन्, तिखार्न आवश्यक हुन्न। जंगलमा कैयन् बिरुवाहरूमा सुन्दर फूल फुलेका हुन्छन्। बास्ना दिइरहेका हुन्छन्। त्यहाँ बिरुवाहरूलाई न पानी दिनुपर्छ, न गोडमेल। न मलजल, न त कुनै हेरचाह या बारबन्धन। के त्यस्तै गरेर बस्यो भने करेसाबारीको सुन्दरता कायम रहला? माली केका लागि?

भनिन्छ-

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल,

सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल।

जरुर, यसमा विमति राख्नै सकिन्न। र पनि, ढुंगामा बीउ त छरिन्न नि!

एउटा बाबु आफ्ना सन्ततिको भविष्यप्रति कतिसम्म चिन्तित हुन्छ? ऊ आफंैलाई दुख्ने गरी आफ्ना सन्ततिलाई किन दुखाउँछ? किन दिन्छ पीडा? गुरुहरू किन आफ्ना सपनाहरूको पछिल्तिर दौडाइरहन्छन् शिष्यहरूलाई? स्कुल, कलेज, विश्वविद्यालय या दुनियाँका सुविधा सम्पन्न अध्ययन–अनुसन्धान केन्द्रहरू केका लागि खुलेका हुन्? उनीहरूको नैतिक, सामाजिक दायित्व के हो? बिना चिन्ने/चिनाउने स्कुलको के हालत छ? समाज कता जाँदै छ? पटक–पटक एसएलसी फेल भइरहने रवीन्द्रनाथ टैगोरहरू, भैंसी चराएरै राष्ट्रपति बनेका रामवरणहरू, कुँजिएरै पनि चमकदार झमकहरू, स्कुलबाटै निकालिएका थोमस एल्वा एडिसनहरू, स्कुलको बेन्चमा उभ्याइरहने आइन्सटाइनहरू, घरेलु कामदार गोर्कीहरू वा बीचैमा कलेज छाडिरहेका बिल गेट्सहरूको सफलताको पछाडि लुकेको संघर्षको कथालाई छोपेर जीवनको सुगन्धको पाठ कति सम्भव हुन सक्छ? प्रश्नहरू बग्रेल्ती उठ्छन्, पाठकका मनमा। हुन त बिल गेट्सका कम्पनीमा उनीहरूसँग पढेका जेहेन्दार विद्यार्थीहरू कामदार होलान्, त्यस्तो अन्यत्र पनि हरेक ठाउँ र क्षेत्रमा होला, त्यो अर्कै पाटो भयो।

तीनपटकसम्म एसएलसी फेल भएर पनि जीवनको सपनालाई जीवन्त राख्न सफल चर्चित कलाकार हरिवंश आचार्यको छायाँमा उभिएको कलात्मक आख्यानले विद्यार्थीहरूलाई आफूमा अन्तर्निहित क्षमता पहिचान गर्न र त्यसका पछाडि निरन्तर लागिरहन प्रेरित गरेको छ। वर्तमान शैक्षिक प्रणालीमा थप सुधार गरी समग्र सिर्जनात्मक विकासमा लाग्न सन्देश दिएको छ। सँगसँगै, अभिभावकहरूलाई पनि आफ्ना सन्ततिको रुचि र क्षमताप्रति सचेत रहन घचघच्याएको छ। अलिक ठट्यौलो र सधैं मजाक गरिरहनुपर्ने केन्द्रीय पात्र र उसैका मण्डलीहरूको कथा स्वभावैले पढ्न रुचिकर छ। ग्रामीण जनजीवन र परिवेश रोचक छ तर सिमान्तकृत तथा हुँदाखाने भुइँमान्छेहरूको भन्दा हुनेखाने घरानियाहरूकै चर्चा बढी छ। हरिवंश उर्फ 'चिना हराएको मान्छे'लाई नजिकैबाट चिनेकाहरूका लागि कतिपय प्रसंग दोहोरिन सक्छन्।

लेखक न्यौपानेले काव्यात्मक भाषा र कलात्मक शैलीका साथ विविध सामाजिक सम्बन्ध, संस्कार, संस्कृति, धर्म, राजनीति तथा अर्थ–व्यवस्थाका आयामलाई बाँधेर 'पानीको घाम' लेखे। हृदयको मसीले मानवीय संवेदनाका कथा बुनेर 'सेतो धरती'बाट झनै लोकप्रिय बने। उनैले यो अपवाद कथानकलाई सविस्तार चर्चा गरिरहँदा कतिपय प्रसंग लेख्नका लागिमात्रै लेखिरहेझैं लाग्छ।

टुंग्याउनुअघि बेप्रसंग एउटा प्रसंग-

जाँडरक्सीको लतमा लागेका आफ्ना शिष्यहरूलाई त्यसको हानि बुझाउन पानीमात्र भएको विकरमा मज्जाले नाचिरहेको गड्यौंला जब रक्सीका थोपा थप्दै गर्दा क्रमशः छटपटाउँदै मर्छ, गुरु ठान्छन्— शिष्यहरूले अब त पक्कै यसको असर बुझे होलान्। के सबैले त्यही बु‰लान्, रक्सीले शरीरलाई नोक्सानी गर्छ? जाँडरक्सी खायो भने गड्यौंलाजस्तै पेटमा भएका किरा–जुका पनि त्यसैगरी मर्ने रहेछन् भनेर बु‰ने स्वतन्त्रता पनि त रहन्छ नि!

कृति : उपन्यास

लेखक : अमर न्यौपाने

प्रकाशक : फाइनप्रिन्ट

मूल्य : ४५०

प्रकाशित: २९ श्रावण २०७२ २३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App