१४ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

यौन हिंसाका घटना बढे


रौतहट–मध्यतराईका विभिन्न जिल्लामा बालिकामाथि बलात्कार तथा दुव्र्यवहारको घटनामा बढेका छन्। विभिन्न जिल्लामा महिलामाथि हुने हिंसामध्ये जबरजस्ती करणीका घटनामा बृद्धि भएको हो। सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुर जिल्लामा गत ०६९/७० देखि यताको अवधिमा भएका १ सय ८४ यौनहिंसाका घटना घटेका छन् । ती घटनामध्ये सयभन्दा बढी बालिकामाथि यौनहिंसा भएको हो।बालिकामाथि सबैभन्दा बढी मकवानपुरमा यौनहिंसाका घटना भएका छन् । आर्थिक वर्ष ०६९/७०मा बलात्कारका १२ र बलात्कार गर्ने उद्योगका ४ गरी मकवानपुरमा भएका १६ यौनहिंसाका घटनामध्ये बालिकासँग सम्बन्धित १० वटा घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसैगरी ०७०/७१मा भएका २९ यौनहिंसाका घटनामध्ये बालिका माथि १३ र ०७१÷७२ को हालसम्मका १५ घटनामध्ये ८ वटा घटना बालयौन हिंसाकै रहेको प्रहरी नायब उपरीक्षक दीपक थापाले बताएका छन् । बाल तथा महिला यौनहिंसाका घटनामा संलग्न ५३ जनालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ भने कम्तीमा ११ आरोपीलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

पर्सा जिल्लामा पनि हरेक वर्ष बालयौनहिंसामा वृद्धि भएको छ। आर्थिक वर्ष ०६९/७० मा भएको १३ यौनहिंसाका घटनामध्ये ८ घटना बालिकासित सम्बन्धित छन् । यसैगरी ०७०÷७१ मा पर्सामा भएका २० यौनहिंसाका घटनामध्ये १३ वटा घटना बालिकालाई बलात्कार गरिएको तथा बलात्कारको प्रयाससित सम्बन्धित रहेका छन् । चालू आर्थिक वर्षको साढे पाँच महिनामा पर्सामा ६ वटा घटना यौन हिंसाका भएकामध्ये तीनवटा घटना बालिकासित सम्बन्धित छन् । पर्सामा बालिकामाथि यौन हिंसा बढेको जिल्ला प्रहरी कार्यालय पर्साले स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक ख्याली सिंहका अनुसार अहिलेसम्मका सम्पूर्ण घटनामा संलग्नमध्ये २२ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ भने २० आरोपी अझै फरार रहेका छन् । यौनहिंसाका आरोपी अपराधीलाई पर्सा प्रहरीले पक्राउ गर्नमा खासै सफलता पाएको देखिँदैन ।

बारामा गत साढे दुई वर्षमा २५ वटा यौनहिंसाका घटना भएकामा १२ वटा बालयौन हिंसाकै रहेको देखिएको छ । एक बालिकालाई बलात्कारपछि हत्यासमेत गरिएको छ । यौनहिंसाका घटनामा संलग्न ३३ जनामध्ये २३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १० जना अझै फरार रहेका छन् । सर्लाहीमा भने बालिकासित सम्बन्धित यौनहिंसाको तथ्यांक निकै डरलाग्दो देखिएको छ । गत साढे दुई वर्षमा सर्लाहीमा भएका यौन हिंसाका २८ घटनामध्ये १७ घटना बालिकासित सम्बन्धित रहेका छन् । यौनहिंसाका घटनामा संलग्न मानिएका आरोपीमध्ये सर्लाही प्रहरीले अहिलेसम्म २३ जनालाई पक्राउ गरेको छ भने ६ जना अझै प्रहरीको खोजीमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०६९÷७० को साउनदेखि हालसम्म रौतहटमा यौनहिंसाका ३० घटना भएका छन् । रौतहटका ७५ प्रतिशत यौनहिंसाका घटना बालिकासित सम्बन्धित भएको जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक रामप्रकाश चौधरीको दाबी छ ।

यौनहिंसाको घटनामा प्रहरी सजगतापूर्वक लागेको र अधिकांश अपराधीलाई प्रहरीले समातेर न्यायालयमा पु¥याउन सफल भएको नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपि मनोज न्यौपानेले बताएका छन्। यौनहिंसाबाट बालबालिकालाई बचाउन विद्यालयहरुमा जनचेतना जगाउने कार्यमा समेत प्रहरी लागेको बताउँदै एसएसपी न्यौपानेले यौनहिंसाजस्तो जघन्य प्रकृतिको अपराधका अपराधीलाई समात्न प्रहरी युनिटहरुलाई निर्देशन दिइएको जानकारी गराएका छन् ।

भोजपुरी अश्लील गीत तथा भिडियोको कारणले महिला तथा बालिकामाथि यौनहिंसाको घटनामा वृद्धि भएको महिला तथा बालबालिका सेवा केन्द्र संजाल रौतहटका अध्यक्ष किरण ठाकुरले बताइन्। यौनहिंसाका घटनाको कारक तत्व अशिक्षासमेत भएको ठाकुरको दाबी छ । पहिले पनि यौनहिंसाका घटना हुने गरेको भए पनि सचेतना बढेकोकोले घटना बाहिर आउन थालेको र बालबालिका, महिला तथा अभिभावकलाई सचेत बनाउने कार्यक्रम समयसमयमा चलाइरहेको समेत ठाकुरले बताएकी छन् ।

प्रकाशित: १८ पुस २०७१ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App