१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

समाचार ‘लोकसाहित्य' होइन

गत जुन महिनामा इन्डियन एक्सप्रेसको प्रधान सम्पादक पदबाट राजिनामा दिएका शेखर गुप्ता भारतका सबैभन्दा महँगा तथा व्यावसायिक सम्पादकमध्येमा गनिन्छन्। यही डिसेम्बरको दोस्रो साता भारतीय डिजिटल पत्रिका स्क्रोल डट इनले एक्सप्रेसमा १९ वर्ष बिताएका यी ५७ वर्षे पत्रकारसँग समग्र मिडिया र पत्रकारको तलब–सुविधामा केन्द्रित अन्तर्वार्ता प्रकाशित गर्योन। त्यसको सम्पादित तथा अनुदित अंश :मूलधारका मिडियाले अर्को मिडियाका बारेमा चासो राख्ने कुरालाई कसरी लिनुहुन्छ?
मिडियाका कुरालाई मिडियाले पछ्याउनु मलाई राम्रो लाग्छ। तर, यो घटनामा आधारित भने हुनुपर्छ। 
‘क्याराभान' म्यागेजिनले तपाईंको प्रोफाइल प्रकाशित गर्दै इन्डियन एक्सप्रेसमा तपाईंको तलब वार्षिक १० करोड (भारु) रहेको रहस्योद्घाटन गरिदियो। पत्रकार धनी हुन नहुने धारणा सर्वसाधारणको रहेको छ नि?
‘कन्स्टिपेसन' (कब्जियत)।
आर्थिक अभाव झेल्नुपर्ने हुनाले मध्यमवर्गीय व्यक्तिहरू आफ्ना सन्तानले पत्रकारिता नगरून् भन्ने चाहन्छन्। पत्रकारहरू पनि आफ्नो तलब बताउन चाहँदैनन्। तपाईंलाई के लाग्छ, यो नितान्त निजी तथा गोप्त सवाल हो?
पत्रकारको तलबलाई त्यति गोप्य राखिनुपर्छ भन्ने छैन। सरकारलाई कर बुझाउने हुँदा पनि थाहा भइहाल्छ, कसैलाई स्पष्ट भन्न मन पनि नलाग्ला! तर मलाई यसबारे कुनै चिन्ता छैन। मलाई चिन्ता केमा छ भने, सञ्चारगृहमा पत्रकारलाई किन राम्ररी तलब दिइँदैन? पत्रकारलाई बढीभन्दा बढी तलब–सुविधा दिनुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ। जब मलाई सम्पादकको जिम्मेवारी दिइयो त्यस दिनदेखि नै मैले पत्रकारको तलब सकेसम्म बढी दिने प्रयत्न गर्दै आएको छु। पत्रकारहरूको तलब मेरो ल्याकतले भ्याएसम्म बढी तोक्दा मलाई कहिल्यै प्रकाशकले असहयोग गरेनन्। पत्रकारितामा प्रवेश गरेका दिनदेखि नै उसलाई उचित पारिश्रमिक दिनुपर्छ। उनीहरूलाई आवश्यक पर्ने अन्य सुविधा पनि उपलब्ध गराउनुपर्छ। अचेल समाचार संकलन दु्रतरूपमा गर्नुपर्ने बाध्यता छ। यसका निम्ति पनि सेवासुविधा तथा सुरक्षा चुस्तदुरुस्त हुनैपर्छ।
भारतका अन्य पत्रिकाका सम्पादकका तुलनामा तपाईंको तलब निकै बढी छ। क्याराभानका अनुसार तपाईं अन्य सम्पादक (द टाइम्स अफ इन्डिया) भन्दा ५ गुणा बढी तलब पाउनुहुन्छ, हो?
तलब अंकबारे मेरो कुनै प्रतिक्रिया छैन। यो अंकसँग म सहमत पनि छैन। यदि त्यो अंक वार्षिक २० करोड हुँदो हो त म अझै खुसी हुने थिएँ। पत्रकारको तलबबारे एउटा मानक अंक तोकिनुपर्छ भन्ने मेरो मान्यता हो। मेहनती, लगनशील तथा प्रतिभाशाली पत्रकारको तलब कम हुँदा मलाई दुःख लाग्छ, त्यसैले तलब अंकबारे खुलस्त हुन गाह्रो पर्छ।
पत्रकार जीवनमा पहिलोपटक कति तलबमा काम गर्नुभयो?
सन् १९७७ मा मेरो तलब ६ सय ५० रुपियाँ (भारु) थियो। अहिले इन्डियन एक्सप्रेसमा काम गर्ने ‘टे्रनी' पत्रकारले पनि ४० हजार रुपैयाँ पाउँछन्। यो पनि कम नै हो, अझै बढी दिनुपर्छ। पत्रकारहरू कम दक्ष हुन्छन् भन्ने म मान्दिनँ। म ‘नागरिक पत्रकारिता' मा विश्वास गर्दिनँ। तपाईंले आजसम्म नागरिक चिकित्सक, नागरिक वकिल देख्नुभएको छ? पत्रकारहरू निकै अप्ठेरालाई चिर्दै, दबाब झेल्दै र अनुभव बटुल्दै आएका हुन्छन्। त्यसकारण प्रकाशकले आफ्नो कम्पनीलाई काम लाग्ने वा आवश्यक पत्रकार राख्दा तलबबारे पनि राम्ररी विचार गर्नुपर्छ। खुल्ला बजार अर्थतन्त्रको यो सिद्धान्त पनि त हो।
मन्त्रीहरूले जस्तै सम्पादकले पनि आफ्नो सम्पत्तिबारे सार्वजनिक घोषणा गर्नुपर्छ?
हरेक करदाताले आफ्नो सम्पत्ति देखाएकै हुन्छन्। हरेक वर्ष आफ्नो वासलात, नाफा–नोक्सान, ऋण–आम्दानी विस्तृतरूपमा सम्बद्ध कार्यालयमा प्रस्तुत गरिन्छ नै। यस्ता कुरा सबैका निम्ति अनिवार्य पालना बन्छ भने म पनि त्यसका लागि तयार नै छु। बेनामी सम्पत्ति भएकाहरूले यस्ता कुरा गोप्य राख्छन्। पत्याउनै नसकिने गरी हाम्रा कतिपय राजनीतिज्ञ आफ्नो सम्पत्ति एक–दुई करोड देखाउँछन्। इमानदारीपूर्वक आफ्नो सम्पत्ति देखाउने पनि छन्, उचित ढंगमा कर तिर्नुपर्दा कोही पनि दुःखी हुँदैनन्।
संवाददाताले लेखेका समाचार विज्ञापन शाखाको दबाब, प्रकाशकको कुनै व्यक्ति विशेषसँगको सम्बन्ध तथा अन्य विभिन्न कारणले ‘किल' हुन्छन्। यसमा तपाईंको अनुभव?
सम्पादक किन नियुक्त गरिएको हुन्छ? हामीले सबैखालका दबाबसँग साक्षात्कार गर्दै त्यसलाई किनारा पनि लगाउन सक्नुपर्छ। पत्रकारले सबैसँग विनापूर्वाग्रह हात मिलाउनुपर्छ। दाउद इब्राहिमले मलाई भेट्न बोलाए, म गएर उनीसँग भेटेँ। किनकि म एउटा पत्रकार हुँ। यसको अर्थ इन्डियन एक्सप्रेसमा कुनै पनि समाचार ‘किल' भएका छैनन् भन्ने होइन। ‘किल' भएका कुनै एक समाचारको शीर्षक कसैले दिन्छ भने म त्यो किन प्रकाशित भएन भन्ने जवाफ दिन सक्छु। ‘न्युजरुम' भनेको एउटा ‘पवित्र स्थान' हो। एउटा सम्पादकको वास्तविक शक्ति भनेको के हो? सम्पादकले कति तलब खान्छ वा उसले कुन ब्रान्डको कार चढ्छ भन्ने कुरा गौण हो। ऊ हरेक दिन कुनकुन नेतालाई भेट्न जान्छ, कसका घरमा जान्छ, कसलाई काम दिन्छ वा कसलाई कामबाट निकाल्छ भन्ने कुरा पनि सामान्य हुन्। मूल कुरो त के हो भने, उसले न्युजरुममा प्राप्त भएका समाचारमध्ये कुनकुन राख्ने र कुनलाई हटाउने भन्ने निर्णय क्षमता राख्नुपर्छ। यही नै सम्पादकको शक्ति हो। सम्पादकले सधैं शतप्रतिशत नै ठिक निर्णय गर्छ भन्ने पनि छैन।
क्याराभानको प्रोफाइलबाट कस्ताकस्ता प्रतिक्रिया पाउनुभयो वा यसले कस्तो असर गर्योन? 
त्यसले मलाई एउटामात्रै चिन्ता जन्माइदिएको छ। ३७ वर्ष मैले ‘बिन्दास पत्रकारिता'को जीवन बिताएँ। सुनेको छु, करिब आधा दर्जनजति मान्छे मेराविरुद्ध मैले नसुन्नेगरी कुरा काटिरहेका छन्। यसको अर्थ म पत्रकारितामा असफल भएछु, किन मैले अझ बढी दुस्मन कमाउन सकिनँ?
डराएर पनि तपाईंको विरोध नगरेको हुन सक्छ नि?
जेसुकै होस्। उक्त प्रोफाइलमा मेरो कुकुरको लिंग परिवर्तन गरिदिएकोमा भने म खुसी छैन। त्यसको नाम ‘पोर भूरी' हो, ‘भूरा' होइन। यो ठूलै गल्ती हो भन्ने लागेको छ।
दिल्लीका सञ्चारमाध्यम संस्थापनविरोधी छन्। उदाहरका लागि– मनमोहन सिंहको पहिलो कार्यकालमा सञ्चारमाध्यमले ‘ठोक्ने लाइन' लिए नि?
सञ्चारमाध्यम सरकारबारे कहिले सकारात्मक त कहिले नकारात्मक हुन पाउँछन् नै। मेरो कार्यकालको इन्डियन एक्सप्रेसमा सरकारले गरेको ‘आणविक सम्झौता'को समर्थन गरिएको छ। तथापि, गरिबीसम्बन्धी नीतिको विरोध गर्नुका साथै मनमोहन सिंह र उनको पार्टी नेतृत्वको समेत कडा आलोचना गरिएको छ। एउटै पार्टी तथा नेतृत्वले अवलम्बन गरेको नीतिको पनि कहिले समर्थन त कहिले विरोध हुन सक्छ। 
इन्डियन एक्सप्रेसले सन् २००२ को गुजरात दंगाबारे गरेको रिपोर्टिङ सम्भवतः उत्कृष्टमध्येको एक थियो। त्यो समाचारबारे अहिले सोच्दा तपाईंलाई कुनै अप्ठेरो वा चिन्ता लाग्छ?
लाग्दैन। एकपटक भेटमा नरेन्द्र मोदीले मलाई भनेका थिए– ‘इन्डियन एक्सप्रेसको समाचारले जति मलाई हानी अरू कसैले पनि गर्न सकेन। तपाईंले मलाई हिन्दुत्वको विषयमा आक्रमण गर्नुभयो, ठिकै छ, म हिन्दुत्वमा विश्वास गर्छु। तर, कहिलेकाहीँ मैले गरेको राम्रो कामको प्रशंसा पनि गर्नुहोला है।' 
इन्डियन एक्सप्रेस खोज पत्रकारिताका निम्ति चर्चित छ। समाचार स्रोतका माध्यम विभिन्न हुन्छन्, स्रोत व्यक्तिका रुचि, कसैप्रतिको वैरभावले पनि सूचना चुहिने गर्दछ र त्यसले समाचारको रूप लिन्छ। तपाईंको अनुभव?
उत्तम प्रश्न हो यो। इन्डियन एक्सप्रेसमा एउटा स्थापित सिद्धान्त छ, जुन कहिल्यै पनि भत्कँदैन। कुनै व्यक्ति वा विषयमा समाचार बन्दै छ भने त्यसको अर्को पक्षको कुरा नसुनी वा उसलाई बोल्ने मौका नदिई हामी कहिल्यै समाचार प्रकाशित गर्दैनौं। म सबै पत्रकारलाई एउटा अनुरोध गर्छु, कहिल्यै पनि संकुचित विचार राखेर समाचार नलेख्नुस्। समाचार लेख्न बस्दा सधैं आफ्नो दिमागलाई खुल्ला राख्नुस्।
इन्डियन एक्सप्रेस सम्पादकले हाँकेको पत्रिका हो। सम्पादकको मात्रै विश्वास अथवा विचारमा आधारित रहेर काम गर्दा समस्या हुँदैन?
इन्डियन एक्सप्रेस नै एउटा यस्तो पत्रिका हो, जसमा सधैं सम्पादक सर्वेसर्वा हुन्छ। त्यसकारण पनि यो पत्रिका काम गर्ने पत्रकारका निम्ति सर्वोत्तम मानिन्छ। पत्रकारिता सिद्धान्तनिष्ठ हुन्छ र तथ्यमा आधारित रहन्छ। समाचार लोकसाहित्य होइन, कहावत पनि होइन। गुजरात काण्डलाई नै लिऊँ। हामीले जति त्यो समाचारलाई अरू कसैले प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेनन्। तथापि, हामीले कहिल्यै पनि मोदीलाई हिट्लर भनेनौं, इदी अमिन भनेनौं न त मिलोसेभिच नै भन्यौं। उक्त दंगालाई कहिल्यै ‘प्रलय' पनि भनेनौं र ‘धार्मिक पवित्रीकरण' पनि भनेनौं।

प्रकाशित: ५ पुस २०७१ ००:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App