अहिले त यस्ती छु। बैँसमा कस्ती थिएँ होला ? आफँै गेस गर्नुस्। साह्रै नक्कली, चञ्चले, छुच्ची के भन्नु! कालीकाली, लामो कपाल भएकी, हेमा मालिनीको जस्तो आँखाभरि गाजल लाउने। गाउँभरिका केटाले आँखा लाएर हैरान पार्थे। घरमा, छिमेकमा माया गरेर कसैले 'काली' त कसैले 'दारे' भनेर बोलाउँथे। म उतिबेलाको जमिनदारकी छोरी भएकाले पनि धेरैजना मसँग बिहे गर्न चाहन्थे।
विराटनगरमा जन्मेहुर्केकी हुँ म। उतै आईएसम्म पढियो। बिहेवारी गरेर बुढाको राष्ट्र बैंकको जागिर, काठमाडौँ सरुवा भएपछि यता आइयो। अरुणिमा नर्सरी पढ्दै गर्दा राजधानी आएका हौँ हामी। उहाँ (श्रीमान्) ले मलाई सुरुमा गाउँकै एक मेलामा देखेको रे। साह्रै राम्री लागेर पछ्याउँदै घरैसम्म पुग्नुभएछ। मेरो ठूलो दाइको साथी पो हुनु हुँदो रै'छ उहाँ। पछिमात्र थाहा पाएर हामी सबै छक्क पर्यौँ। भेटपछिको डेढ वर्षमा बिहे भइहाल्यो। बिहेभन्दा अगाडि सँगै पढेको एउटा लोर्के मोरो मन परेको थियो। तर, त्यस्तो डिप होइन नि।
काठमाडौँ आएपछि मामाको चिनजानले राष्ट्र बैंकमा मैले पनि जागिर पाएँ। तर, तीन वर्षपछि गभर्नर फेरिएर हटाइदियो। त्यसपछि श्रम विभागबाट ब्युटिपार्लरको तालिम लिएपछि यसकै व्यवसाय थालेँ। यो काम गर्दागर्दै अभिनय गर्ने मौका मिल्यो। सुरुमा 'पर्खाल' टेलिसिरियल खेलेँ। 'जनमजनम'को अभिनयपछि फिल्म यात्रा सुरु भयो। फिल्ममा खेल्दाखेल्दै मन पराउने पनि धेरै भेटिए।
पहिला बैँसमा त केटा मदेखि हुरुक्कै हुन्थे। कसैकसैले त स्कुलको फी तिरिदिन्थे। एसएलसीमा धेरैले चिट चोराए। मलाई फकाउन धेरैले संघर्ष गरे। तर, म स्वभावले यस्ती नक्कली भए पनि व्यवहारमा त्यस्तो छैन। चाँडै बिहे गरियो। ढिला गरेको भए खै के हुन्थ्यो। अहिले अनुमान गर्न सकिन्न। उमेरमा म्युजिकमा पनि धेरै चाख थियो। गाउने, नाच्ने काममा सधैँ अगाडि हुन्थेँ।
प्रकाशित: ३ पुस २०७१ ११:५४ बिहीबार





