हामी असाध्यै कठोर व्रत बस्थ्यौँ। औँसीदेखि नै माछामासु खाइँदैनथ्यो। दरमा खीर, भटमास, सेलरोटी, मालपुवा, तरकारी र अचार खान्थ्यौँ। भोलिपल्ट पानीसमेत नखाई व्रत बस्थ्यौँ। शिवजीको पूजा गर्थ्यौ। पञ्चमीको दिन दतिउन लाउँथ्यौँ। म त अझै पनि यस्तै गर्छु। तर, छोरीहरू मैले जति गर्न सक्दैनन्। व्रत बसेको दिन फलफूल र पानी खान्छन्।मञ्जु लामा (५७), काभ्रे
हाम्रा आमा–काकीहरू तीज मान्दैन थिए। तर, मेरा साथीसंगीका आमा तीजमा रातो सारी, रातो चुरा, धागो लगाएर मन्दिर जाने, नाच्ने गर्थे। मेरा साथीले पनि बिस्तारै तीजमा रातो लगाएर व्रत बस्न थाले। त्यो देखेपछि मलाई पनि तीज मन पर्न थाल्यो। म पनि व्रत बस्ने, मन्दिर जाने गर्न थालेँ। तीजको दिन अरू नाच्थे। म चाहिँ थपडी मार्दै गीत गाउँथे। स्वर सुक्ने गरी नै गीत गाउँथे।
सीता खड्का (५९), रामेछाप
अहिले त क्यासेट बजाएर नाच्छन्। हाम्रा पालामा आफैँले मादल, खैँजडी बजाएर गीत गाउँदै नाच्ने चलन थियो। मलाई ‘बिहानै उठेर, मुरी धान काटेर, घाँस काट्न गएँ बाबा बेसी झरेर' बोलको तीज गीत साह्रै मन पर्थ्यो। नाच्न चाहिँ आजसम्म नाचेकी छुइनँ। नाच्न भनेपछि लाजले भुतुक्कै हुन्छु।
सीता फुयाल(७१), भक्तपुर
अब बुढी भइयो। तीज आउँदा पहिलेजस्तो खुशी लाग्दैन। छोरी–नातिनीलाई डाक्छौँ। उनीहरू आउँदा घरै उज्यालो हुन्छ। मैले सात वर्षको उमेरदेखि व्रत बस्न थालेकी हुँ। आमाले व्रत बसेको देख्दा खूब रहर लाग्थ्यो। अहिलेका केटीहरू ‘व्रत बस' भन्दा टेर्दैनन्। हाम्रा पालाको तीज अहिलेको भन्दा रमाइलो थियो।
प्रकाशित: १२ भाद्र २०७१ ०३:२४ बिहीबार





