६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

अर्को भूगोलको खोजी

उदयपुर ठानागाउँको अलि साँगुरो भूगोलका स–साना सपना विराटनगरको खुला आयतन हुँदै काठमाडौंको महानगरीय कोलाहलसँग ठोक्किएर पनि शान्त छैनन्। ती अझ विस्तारित हुँदैछन्, र छरिँदैछन् भूगोलभरि। सँगसँगै एउटा गाउँले ठिटाका मृदुल सपना विश्व–बन्धुत्वका सपनामा रूपान्तरित र विस्तारित हुँदैछन्, भूगोलभन्दा परको ब्रह्माण्डतिर।

यो आत्मकथा हो, कवि रमेश सायनको नवीन कविताकृति 'भागेर भूगोलभरि'को।
सायनका अधिकांश कविताको भावभूमि भोगिएको यथार्थ हो। स्थानसँग समय र उमेरको गतिशीलता अनि त्यसले ल्याउने फरक अनुभूति पढ्न पाइन्छ उनका कवितामा। कविको निजी जीवन गाउँबाट सहर हुँदै महानगरसम्म लम्किएको हुँदा कविताले बोकेको पृष्ठभूमि पनि यस्तै छ। उनको कविताको सुन्दर पक्ष के छ भने, उनी जहाँजहाँ बसे, हुर्र्किए र जीवनको केही अंश भोगे, त्यहाँको उनको अनुभूति गहिरो र परिपक्व छ। उनीसँग आफ्नो परिवेशले ल्याएका दुःखसँग दुख्ने र सुस्ताउने समय छ र तिनका वरिपरि छरिएका अनेकौं विपर्यासहरूसँग गहिरो साक्षात्कार गर्ने समय छ। उनी परिस्थितिलाई भित्रसम्म पुगेर अनुभूत र आकलन गर्न सक्ने कवि हुन्।
३२ कविता संगृहीत संग्रहका अधिकांश कविताको अन्तरवस्तु जीवन हो, जसको क्षणभंगुरताबाट कवि पटकपटक झस्किएका छन्। पलपल घर्कंदै गएको समय र नजिकिँदै गरेको मृत्युले बढी पोलेको प्रतीत हुन्छ–
'फूलहरू कि मभन्दा बूढा हुँदैनन?
के फूलहरू ऐना हेर्दैनन् 
कि फूलहरूले जन्मदिन मनाउँदैनन्' (पृ.१९)। 
जीवनको अल्पताकै कारण हातमा रहेको समयलाई सिँगार्नु र सार्थक बनाउनुपर्छ भन्ने आदर्श दृष्टिकोण उनका कविताले बोकेका छन्। निजी आवश्यकताहरूको आयतन हुँदै उनका सपनाको आयतन मानवतावादी बन्न पुगेको छ। तर अस्तिवादीहरूले जस्तै संघर्षलाई अक्षरशः स्वीकारेर पनि जीवनप्रति अधिकांश समय असन्तुष्ट रहने सायन आफूलाई एक उद्भ्रान्त यात्री मान्छन्, जसलाई आफ्नो गन्तव्य थाहा छैन। 
सायनले उमेरको निर्देशनलाई पनि शिरोधार्य गरेकै कारण प्रेम उनका थुप्रै कविताको मूल कथ्य बन्न पुगेको छ। तर उनका प्रेम–कवितामा अविश्वास र धोकाको प्रतिध्वनि बढी पाइन्छ। प्रेमको आदर्श पवित्रतामा उनलाई विश्वास नभएको होइन र प्रेमको एउटा उत्कर्षताको सपनासमेत उनले नदेखेका होइनन्– 
'हाम्रो प्रेम युगयुगसम्म अमर हुनेछ 
हामी पनि थपिनेछौं अमर प्रेमगाथाहरूमा' (१३०)। 
तर त्यो व्यवहारमा अनुदित भएर आउँदा त्यससँगै गाँसिएर आउने अविश्वासका कुराबाट भने उनी निकै आक्रान्त भएको बोध हुन्छ। यसको प्रमाण हो, उनको 'फोर्टिन फेब्रुअरी' शीर्षकको कविता। 
देश, देशसँग जोडिएका सपना, तिनीहरूले सधैं भोग्नुपरेको एक अपरिहार्य पराजय र थिचिएका मानिसको पीडाले पनि पर्याप्त प्रतिनिधित्व पाएकै कारण सायनका कविता यर्थाथवादी र युगीन कविता बनेका छन्। देशको आदर्श र वस्तुगत स्वरूपको सुन्दर चित्रण 'ग्यालरीमा टुरिस्ट' कवितामा पाइन्छ, जसमा केही समयअगाडि नेपालको प्राकृतिक सौन्दर्य र ऐतिहासिक कलाकृतिको सौन्दर्यबाट वशीभूत भएरै 'मेरोभन्दा सुन्दर छ यो देश' (४८) भनेर घोषणा गर्ने पर्यटक कविताको अन्त्यतिर उसले खिचेका नेपालका चित्रबाट जम्मै रङ पखालेर आफ्नै देश सम्झन्छ। किनकि, उसका अगाडि यस देशको हारेको इतिहास 'नेपाल बन्द'को एक भीमकाय पर्दामा वृत्तचित्र बनेर आइदिन्छ। 
समाजमा व्याप्त विभेदलाई राजनीतिक नारा नबनाई सूक्ष्म, अदृश्यप्रायः र संकथनको गर्तमा भासिएको दारुण यथार्थलाई चित्रित गर्नु सायनका कविताको शक्तिशाली पक्ष हो। ८४ वर्षको उमेरमा देउता हुने परम्पराबाट आएकी धनिमाया थारूलाई अझै पनि 'देउता कमलरी' बन्छु कि भन्ने भयले छोडेको छैन। देशबाट उखेलिएका शरणार्थीहरू परदेशमा आत्महत्या गर्न विवश हुनु, गाउँमा सधैं आश्वासनको खेती लहलहाउनु, कर्मचारीतन्त्रमा आडम्बर व्याप्त हुनु, जागिरमा मर्नदेखि बाहेक अन्य काम गर्न छुट्टी नपाइनु– कवितामार्फत उठाइएका सामाजिक विभेदका विषय हुन्। 
पहिलो संग्रह भए पनि अभूतपूर्व सौन्दर्य चेतना र शब्दलालित्य छन्, उनका कवितामा। विषयको पुनरावृत्ति र अभिधात्मक अभिव्यक्तिलाई न्यूनीकरण गर्नुपर्छ भने विम्बविधानलाई अझ मौलिक र नवीन बनाउनु आवश्यक देखिन्छ। उनका पे्रम र शृंगारका कविता अझ गहिरो दार्शनिक स्पर्शको पर्खाइमा भएको भान हुन्छ।

प्रकाशित: २३ जेष्ठ २०७१ २२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App