यश कुमार दुःख, उत्पीडन, पीडा र आँशुका गायक हुन्। ‘मैले छोएको पानी चल्दैन', ‘म कहिले हाँसेको थिएँ', ‘म आफ्नै आँगनमा इनार बनाउँछु'लगायत लोकप्रिय गीत गाएका यश अहिले अभिनेताको पनि परिचय बनाउने प्रयत्नमा छन्। उनका तीनटा फिल्म प्रदर्शन भइसके। लगभग तीन सय गीत गाइसकेका उनी भाग्यले डोर्यामएर आफू गायन र कलाकारितामा लागेको बताउँछन्। छाप्रोमा हुर्केका उनले संकट र दुःखका अनेक स्वरूप देखेका छन्। उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानी–
हिरो बन्नुभयो है तपाईं?
हिरो भन्दा त लाज पो लाग्यो, हाउ। हिरो बनेको भन्दा पनि मेरो कामको पाटो थपिएको हो। पहिले गायकमात्रै थिएँ। अहिले अभिनय पनि गर्छु। तर, जे–जे गरे पनि म कलाकारको कलाकारै छु नि।
गायनमै जमिरहनुभएको थियो। फिल्मतिर किन ढल्किनुपर्यो ?
मैले अपराधै गरेजसरी पो सोध्नु भयो त! बीपी कोइराला नेता थिए, उनले उपन्यास किन लेखे भनेजस्तो भयो। मान्छेले गर्न सक्ने र सम्भव भएजति सबैथोक गरेको राम्रो। मेरा लागि गीत गाउनु र अभिनय गर्नु सम्भव कुरा थिए। गरेँ। संसारका थुप्र्रै गायक नायक भएका छन्। नायकहरू पनि गायक भएका छन्।
कस्तो अभिनय गर्छु जस्तो लाग्छ?
ठीकै गर्छु क्यारे। फिल्म निस्किएपछि चाहिँ धेरै खोट भेट्छु। अर्को फिल्ममा सुधारौँला भन्यो, एक ठाउँ सुधि्रन्छ, अर्को ठाउँ बिग्रिरहेकै हुन्छ। धेरै सिक्नुछ मैले। बेलैमा सिक्न पाएको भए अहिले राम्रो गरिन्थ्यो होला। महलमा जन्मिइएन। झुप्रोमा जन्मिएकाले केको अभिनयन सिक्नु न स्वर तिर्खार्नु!
तपाईंले खेलेका फिल्मको नाउँ चाहिँ किन ‘ब' र ‘बाटो' जोडिएर राखिन्छन्?
संयोगले हो। ‘बाटोमुनिको फूल', ‘वीर', ‘आधी बाटो' सबै संयोगले जुरेका हुन्। कतिले त ज्योतिषलाई देखाएर पनि नाम राख्छन् रे, मैले चाहिँ त्यस्तो गरेको होइन।
गीत गाउने, अभिनय गर्नेजस्ता कुरा उहिलेदेखिकै सपना हुन्?
होइन। मेरो सपना त एउटामात्रै थियो– पैसा कमाउने। छाप्रोको बास, बूढा बा–आमा र रित्तो खल्ती भएको बेला को गीत गाउने, हिरो बन्ने सपना देख्छ? म त चारैतिर अभाव देख्थेँ। त्यो अभाव पूर्ति गर्न पैसा चाहिन्छ भन्ने ध्याउन्न थियो। सपना पनि पैसाकै देख्थेँ।
तपाईं जेठो छोरा हो?
होइन। म त ठूलोकान्छो। मेरा दाइहरूले घरबार जोडिसकेका थिए। बिहे नगरुञ्जेमात्रै छोरो छोरो रहन्छ। बिहे गरेपछि ऊ पति, बाउ आदि हुन्छ। हाम्रो घरमा त्यस्तै भयो। ममात्रै छोरो बाँकी भएका(बिहे नगरेको)ले बाआमाको रेखदेख गर्ने अभिभारा मेरै थियो।
पैसा कमाउन के–के गर्नुभयो?
धेरै समय प्रेसमा काम गरेँ। तर, जे–जे गरे पनि म खाली संगीतसँगै ठोक्किन पुग्थेँ। घुमिफिरी संगीतकर्मीसँग जम्काभेट हुन्थ्यो। मलाई भाग्यले डोर्याएर गायक र कलाकार बनाएको हो। त्यो बेला छाउनीको एउटा प्रेसमा जागिर पाएको थिएँ मैले। त्यही घरको पछाडिपट्टि अल्फा डिजिटल भन्ने रेकर्डिङ स्टुडियो रहेछ। पहिलो गीत त्यही स्टुडियोमा रेकर्ड गर्ने अवसर मिल्यो। पन्ध्र सय रुपैयाँमा ‘हाँसो मागे तिमीसँग' बोलको गीत रेकर्ड गराएको थिएँ। त्यो बेला १७ वर्षको थिएँ।
पहिलोचोटि ‘माइक फेस' गर्दा कस्तो अनुभव गरियो?
म प्रेसमा छँदा आफ्नै सुरले गीत गाउँदै काम गर्थें। छेउछाउका साथीभाइ ‘मीठो गाउँछस्' भन्थे। एकदिन अल्फा डिजिटलमा गीत गाउने मौका मिल्यो। स्टुडियो छिरेपछि उही प्रेसमा गाउँदा झैँ चिच्याई–चिच्याई गाउन थालेँ। बाहिरबाट एक जना मान्छेले दिक्क मान्दै ‘ए भाइ, सानो स्वरले गाउँदा पनि गीत रेकर्ड हुन्छ' भने। मलाई गल्ती गरेछु भनेर लाज लाग्यो। त्यो बेला को मान्छे भनेर चिनिनँ। पछि थाहा पाउँदा उहाँ गायक ओमविक्रम विष्ट हुनुहुँदो रहेछ।
प्रायः रुञ्चे, बिलौनाले भरिएका गीत गाउनुहुन्छ। के साह्रो रुन मन लागेको तपाईंलाई?
मलाई ‘पोहोर साल खुसी फाट्दा', ‘आजै र राति के देखेँ सपना' जस्ता गीत मन पर्थे। यस्तै गीत सुनेर हुर्किएको हुँ। यी गीतमा म आफ्नो कथाव्यथा पाउँथेँ। आफूले गाउन थालेपछि पनि मलाई मेरा गीतले स्रोताको व्यथा ओकल्नुपर्छ भन्ने लाग्यो। त्यो व्यथा खोज्न मलाई पर जानुपरेन। मेरै समुदायको मर्कालाई प्रेमसँग जोडेर ‘मैले छोएको पानी छल्दैन', ‘म कहिले हाँसेको थिएँ' जस्ता गीत निकालेँ। मर्कायुक्त गीतलाई डान्स बिटमा ढाल्नुभएन। ती सेन्टिमेन्टल भए।
‘मैले छोएको पानी चल्दैन' गीत निकालेपछि कस्तो प्रतिक्रिया आयो?
कतिपयले ‘गुम्सिएको कुरा बाहिर निकालेर राम्रो गर्यौत' भने। कोही चाहिँ ‘दलितमाथि झन् थिचोमिचो गर्नुपर्छ भन्ने खालको सन्देश दियौ' भनेर रिसाए। यो गीतको ‘नआऊ मेरो सामु तिमी' भन्ने वाक्य उहाँहरूलाई मन परेन छ। यसले ‘दलित भनेका टाढै बस्नुपर्छ, नजिक आउनु हुन्न' भन्ने सन्देश दियो रे। तर, मैले यो हरफ छुवाछुतभन्दा पनि मायाप्रेमको प्रसंगमा भनेको थिएँ।
रोमान्टिक गीत गाउने सुर चलेन?
आफू गरिब मान्छे। छाप्रोमा हुर्केको। युवा उमेरमा लभ–सभ गरेको भए रोमान्टिक गीत गाइन्थ्यो कि! हामीजस्ता झुत्रे, गरिब, दुःखीलाई कसले मन पराउने त्यो बेलामा? कसैले ‘आई लभ यू' भनेनन्। कसैलाई ‘आई लभ यू' भन्ने साहस गरिएन। त्यस्ता रोमान्स, ख्याल–ठट्टाको अनुभवै गरिएन। अनुभव त अभावको गरियो, गरिबीको गरियो। तिनले मलाई रोमान्टिकभन्दा पनि सेन्टिमेन्टल बनाए। गीत पनि त्यस्तै गाउन मन लाग्यो। मलाई सधैँ रोमान्टिकभन्दा सेन्टिमेन्टल मेलोडीले तान्थ्यो। छाप्रोमा हुर्कनेले दुःखकै गीत गाउँछ।
तपाईं यश कुमार नाउँले चिनिनुहुन्छ। पूरा नाम किन नलेख्नुभएको?
मेरो वास्तविक नाम सुरेशकुमार परियार हो। सुरेशकुमार नाम भएका कलाकार धेरै छन्। त्यसलै सुरेशको सट्टा यश (एस होइन) लेख्न थालेँ। थर चाहिँ कलाकारको जात हुँदैन भनेर नलेखेको हुँ।
हाम्रो समाजमा अझै पनि छुवाछुतजस्तो कलंक कायम छ। तपाईंले कहिल्यै केही गाह्रो–साह्रो भोग्नुपरेको छ कि छैन?
स्वयम् मैले नै त कहिल्यै भोगिनँ। तर, मेरा आँखैअगाडि छुवाछूतका घटना भएका छन्। मेरो गाउँ सर्लाही, वाग्मतीमा एक जना दलित महिलालाई बोक्सी भनेर तथानाम गरियो। ल्याप्चे हान्नसमेत नजान्ने महिला कसरी बोक्सी हुन सक्थिन्, कसरी उनले बोक्सी विद्या सिकिन् होला? दलित भएकैले उनीमाथि अन्याय गरियो। यस्ता घटना खुलेआम भइरहेका छन् आजभोलि।
यस्ता घटना निर्मूल पाछौँ भन्दै थुप्रै एनजीओ/आईएनजीओ खुलेका छन्। यसलाई कसरी लिइरहनुभएको छ?
कतिपय संस्था साँच्चै नै छुवाछूतविरुद्धको अभियानमा जुटेका छन्। उनीहरूको नियत सफा छ। तर, कतिपयले चाहिँ यो अभियानलाई पेसाजस्तो बनाएका छन्। यो प्रथा अन्त्य भयो भने कमाइ खाने भाँडो सुक्छ भन्ने पिर छ कतिलाई।
अन्तरजातीय विवाह गर्नुभएको रहेछ। ससुराली पक्षबाट समस्या भएन?
भएन। उनी नेवार हुन्। ससुरालीमा सबैजना समझदार हुनुहुन्छ। कुनै पनि जात ठूलो–सानो हुँदैन भन्ने बुझ्नुभयो। मैले आफ्नै जातकीसँग बिहे गरिनँ। किनभने, म परिवर्तन चाहने मान्छे हुँ। परिवर्तनका लागि अन्तरजातीय विवाह गरेको हुँ।
गायकबाट नायक बन्नुभयो। अब के गर्ने विचार छ?
यी दुवै क्षेत्रलाई एकसाथ अगाडि बढाउँछु। अभिनयमा धेरै सुधार गर्नुपर्ने चिज छन् मेरा। त्यो काम फत्ते गर्नुछ। ए..साँच्ची, मेरो एप्स पनि आउँदै छ नि। यश कुमार एप्समा मेराबारे सबै जानकारी र मेरा सम्पूर्ण क्रियाकलाप हेर्न मिल्छ।
प्रकाशित: २ जेष्ठ २०७१ ०९:०३ शुक्रबार





