नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने र आगो लगाउने तत्वहरूबाट मुलुकलाई जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।
मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर-५ मा प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
आठौं पटकको उम्मेदवारी किन भन्ने संचारकर्मीको प्रश्नको जवाफ दिँदै उनले अहिले देशमा विध्वंस मच्चाउनेहरू सक्रिय रहेको आरोप सुनाए।
अध्यक्ष ओलीले भने, ‘अहिले देशमा आगो लगाउनेहरू जागिराख्या छन्, अगाडि बढिराख्या छन्। तिनले भ्रम छरिराख्या छन्। लोकतन्त्र खानेहरूबाट, संविधान मिच्नेहरूबाट, व्यक्तिका घर जलाउने र सरकारी कार्यालय जलाउनेहरूबाट देश बचाउनुपर्ने छ।’
उनले सरकारी कार्यालय माथि आक्रमण गर्ने प्रवृत्ति हाबी भएको भन्दै त्यस्ता गतिविधिबाट देशको रक्षा गर्न अनुभवी र दृढ नेतृत्व आवश्यक पर्ने दाबी गरे।
‘देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व चाहिन्छ, त्यसैले म प्रतिस्पर्धामा छु,’ ओलीले भने।
विपक्षीहरूले भ्रम छरेर नयाँ पुस्तालाई दिग्भ्रमित पार्न खोजेको भन्दै उनले देशको अस्तित्व रक्षाकै लागि आफू पुनः चुनावी मैदानमा होमिनुपरेको जिकिर गरे।
यो पनि पढ्नुहोस्
बालेनको जनलहरबारे ओली- मैले त देखेको छैन, केही मान्छे जम्मा भए होलान्प्रकाशित: ६ माघ २०८२ १७:०३ मंगलबार





