काठमाडौं– नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा शान्तिप्रिय निर्वाचित भएका छन्। बिहीबार राजधानीमा सम्पन्न निर्वाचनमा ४० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डब्बु क्षेत्रीले ३० मत प्राप्त गरे। शान्तिप्रियले यसअघि एकपटक महासचिव र एकपटक अध्यक्षको जिम्मवारी निर्वाह गरिसकेका छन्।
'पेशागत मर्यादालाई प्राथमिकतामा राखेर काम गर्नेछु। रंग पत्रकारहरुको सिपलाई बढाउने कार्यक्रम ल्याउनमा ध्यान दिनेछु,' नवनिवार्चित अध्यक्ष शान्तिप्रियले भने।
६३ जना साधारण सदस्य रहेको संघको उपाध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भए भने संगठनतर्फ उपाध्यक्षमा विष्णु सुवेदी विजयी भए। महासचिवमा ३३ मत ल्याएर सन्दीप सापकोटा विजयी भएका छन्। उनका विपक्षी राजन घिमिरेले २८ मत ल्याए। सचिवमा ३९ मत ल्याएर दिनेश सिटौला निर्वाचित भए। कोषाध्यक्षमा कुवेर डंगोलले ४० मत ल्याएर विजयी भए।
१३ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा सुमन गैरे, किरण खनाल, विजय आवाज, नेमिष गौतम र गीता अधिकारी सदस्यको रुपमा निर्वाचित भए। पूर्व अध्यक्ष विदुर गिरी, सन्तोष रिमाल, ध्रुव लम्साल, दयाराम पाण्डे, नवराज लम्साल, नरेश भट्टराई, ऋषिराम कट्टेल, कृष्ण भट्टराई र अनन्त वाग्ले पार्षदमा निर्वाचित भए। त्यस्तै कार्यक्रममा अशोकप्यासी राई, जयन सुब्बा मानन्धरलाई पत्रकारिता पुरस्कार र अनन्त वाग्लेलाई पत्रकारिता सम्मान प्रदान गरियो। राई र मानन्धरले जनही १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन्।
प्रकाशित: ७ चैत्र २०७० ००:२९ शुक्रबार





