आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुरमा ३१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १८ र २ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृतिक पार्टी, जनता समाजबादी पार्टी, परिवर्तन पार्टी नेपाल छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी, मंगोल नेश्नल अर्गनाईजेसन र आम जनता पार्टीदेखि स्वतन्त्रसम्मको उम्मेदवारी परेको छ ।
बिहान १० बजेदेखि सुरु मनोनयन दर्ताको क्रम दिउसो ५ बजेसम्म चलेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता कुलबहादुर खत्रीका अनुसार निर्वाचन क्षेत्र १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट बलदेव चौधरी, एमालेबाट दुर्गाकुमार थापा, कांग्रेसबाट विदुर बस्नेतको उम्मेदवारी परेको छ ।
त्यसैगरि श्रमसंस्कृति पार्टीबाट राजेशकुमार राई, मंगोल नेश्नलबाट बद्री विक्रम राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल, राष्ट्रिय जनमोर्चाबाट लिलकुमार राई, नेमकिपाबाट विष्णुबहादुर खत्री, राप्रपाबाट सुभाषचन्द्र खड्का, संयुक्त नागरिक पार्टीबाट सुरेश राईलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
२ नं. मा नेपाली कम्युनिष्ट पार्टीबाट सुरेशकुमार राई (हिमाल), एमालेबाट अम्मर रायमाझी र कांग्रेसबाट रामकुमार राईको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नारायण थापाले बताए । उनका अनुसार रास्वपाबाट सूर्य तामाङ, श्रम संस्कृतिबाट बलराज राई, जसपाबाट केशव मगर, नेमकिपाबाट पूर्णबहादुर बुढाथोकी, मंगोल नेश्नलबाट भास्कर राई, राप्रपाबाट विष्णुबहादुर खड्का, परिवर्तन पार्टीबाट अरुण राई, नेपाल कम्युनिष्ट पार्टी (माओबादी)बाट दुर्गाबहादुर तामाङ र मेजरकुमार राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गर्नुअघि र दर्ता गरिसकेपछि बजारमा र्याली निकाल्दै कोणसभासमेत आयोजना गरेका थिए ।
प्रकाशित: ६ माघ २०८२ १८:३२ मंगलबार





