दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई सेना परिचालन गरी मार्सल ल घोषणा गरेको प्रकरणमा अदालतले विद्रोहको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले बिहीबार फैसला सुनाउँदै उनलाई विद्रोहको नेतृत्व गरेको ठहर गरेको हो। यो फैसला दक्षिण कोरियाको लोकतन्त्रका लागि ऐतिहासिक मानिन्छ।
२०२४ डिसेम्बर ३ मा युनले मार्सल ल घोषणा गर्दै संसद् घेरा हाल्न सेना पठाएका थिए। यो कदम छ घण्टामै संसद्ले खारेज गरेपछि असफल भएको थियो। विशेष सरकारी वकिलले मृत्युदण्ड माग गरेका थिए तर अदालतले आजीवन कारावास सुनाएको छ। कुनै ज्यानहानि नभएको र योजना कमजोर भएकाले मृत्युदण्डबाट बचाएको विश्लेषकहरूले बताएका छन्।
अदालत परिसरमा कडा सुरक्षा थियो। उनका समर्थकहरूले नारा लगाउँदा आलोचकहरूले कडा सजायको माग गरेका थिए। पूर्वरक्षामन्त्री किम योङ ह्युनलाई ३० वर्षको सजाय सुनाइएको छ भने अन्य सात जना पूर्वसैनिक तथा प्रहरी अधिकारीमाथि पनि फैसला भएको छ।
युनले आफ्नो कदमलाई राज्यविरोधी शक्तिलाई रोक्न आवश्यक भनेका थिए। तर संसद्ले महाभियोग पारित गरी डिसेम्बर १४, २०२४ मा निलम्बन गरेको थियो। अप्रिल २०२५ मा संवैधानिक अदालतले पदमुक्त गरेको थियो। विभिन्न अभियोगमा उनी गत वर्षदेखि हिरासतमा थिए।
गत महिना उनलाई गिरफ्तारी प्रतिरोध र अन्य अभियोगमा पाँच वर्षको कारावास सुनाइएको थियो। प्रधानमन्त्री हान डक सुसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि २३ वर्षको सजाय भएको छ। उनीहरूले फैसलाविरुद्ध पुनरावेदन गरेका छन्। एजेन्सी
प्रकाशित: ८ फाल्गुन २०८२ ०८:०९ शुक्रबार





