१८ फाल्गुन २०७७ मंगलबार
अन्य

बकिंघम दरबार अगाडि उभिएर...

बेलायत डायरी

टावर ब्रीज

सुमन घिमिरे

०२ नोभेम्बर,२०१९  

दिनको १ बजे उड्ने विमान प्रतिकूल मौसमका कारण समयमा उड्न सकेन। फिनल्याण्डकोे हेल्सिन्की विमानस्थलबाट म लण्डनका लागि फिन एयरमा यात्रा गर्दै थिएँ। कारण के हो, विमानको ककपिटबाट आएको अनाउन्समेण्टबाट थाहा भयो, लण्डनमा भारी हिमपात भएको रहेछ। लगभग साढे एक घण्टा ढिलाइपछि विमान लण्डन हिथ्रोका लागि उड्यो। यता हेल्सिन्कीमा पनि बादल मडारिरहेको थियो।  

हिथ्रो विमानस्थल अति व्यस्त विमानास्थल मध्य एक हो। संयुक्त अधिराज्य भित्र त यो पहिलो व्यस्त विमानस्थलमा पर्दछ। म अध्यागमन पुग्दा लामै लाम थियो। अझ तेस्रो देशबाट आएका हामी नेपाली जस्ताको लाइन लामै थियो। अध्यागमनमा पुग्दा अफिसरले मलाई एउटा मात्र प्रश्न गरे, ‘ह्याभ यु बिन टु युके बिफोर?’

मैले ‘एस’ भनें। उसले अरू केही नभनी पासपोर्टमा इन्ट्री स्ट्याम्प लगाएर मलाई पासपोर्ट दियो। म पासपोर्ट समातेर सरासर अघि बढें।  

मसँग लगेज थिएन। सकेसम्म छोटो यात्रामा म थोरै वा सानो लगेज लैजान मन पराउँछु। म सँग सिर्फ थियो ह्याण्ड क्यारी। त्यहाँ ग्रिन, रेड र एल्लो जोन थिए।कुनै पनि कष्टम डिक्लरेसन गर्न नपर्नेहरूले ग्रिन च्यानल प्रयोग गर्छन्। म त्यही भएर बाहिर निस्कें। तर शंका लागेमा यहाँका अधिकारीले सामान के के छ भनेर स्पट चेक भने गर्न सक्दा रहेछन्।  

एक पटक ढाका जाँदा जम्मा ४ दिनका लागि त हो नि भनेर सिम कार्ड नलिएको कम्तिको दुःख पाइएन। त्यही भएर म सरासर सिमकार्ड लिन मोबाइल पसल खोज्न थालें। एउटा काउन्टरमा थ्री नेटवर्कको सीम पाएँ। एक हप्ताका लागि अनलिमिटेड डाटा र कल ३५ पाउण्डमा रहेछ। त्यो लिएर म अन्डरग्राउण्डतिर जाँदै थिएँ मेरो मोबाइलमा घण्टी बज्यो–‘इज दिस सुमन!’

डिउटी फ्रि सप देखे पनि नदेखेजस्तै गरें। म सरासर अगाडि बढें। बाहिर निस्कनासाथ एराइभल लाउन्जमा आइपुगें। कोही फूलका बुके लिएर आफन्तको स्वागत गर्न बसेका थिए त कोही आफ्नै बाआमालाई स्वागत गर्न ‘वेलकम होम, वि मिस्ड यू’ लेखिएका ब्यानर बोकेर बसेका थिए। अनि कति मानिस आफ्नो होटलका गेष्ट लिन आएका थिए विभिन्न प्लेकार्ड लिएर। मलाई त्यो भीडमा पर्खेर कोही बसेका थिएनन्।  

हरेक देश पुग्ने बित्तिकै सिम कार्ड लिनु पर्छ भन्ने ज्ञान ममा भरिएको थियो। एक पटक ढाका जाँदा जम्मा ४ दिनका लागि त हो नि भनेर सिम कार्ड नलिएको कम्तिको दुःख पाइएन। त्यही भएर म सरासर सिमकार्ड लिन मोबाइल पसल खोज्न थालें। एउटा काउन्टरमा थ्री नेटवर्कको सीम पाएँ। एक हप्ताका लागि अनलिमिटेड डाटा र कल ३५ पाउण्डमा रहेछ। त्यो लिएर म अन्डरग्राउण्डतिर जाँदै थिएँ मेरो मोबाइलमा घण्टी बज्यो–‘इज दिस सुमन!’

मैले ‘एस’ भनें। मैले मेरो हेण्ड क्यारी त्यहीं पसलमा छुटाएको रहेछु जहाँ सिम कार्ड किनेको थिएँ। हतारहतार म फर्केर सामान लिन गएँ। लण्डनको विमानस्थलमा त्यसरी सामान अनएटेन्डेड राख्न पाइँदैन र बारम्बार त्यस्तो नगर्न आह्वान गर्दै अनाउनस्मेण्ट पनि गरिन्छ। कुनै सामान त्यसरी छाडेर मालिक आएन भने पुलिसले त्यसलाई राख्न र नष्ट पनि गर्न सक्छ।  

म फेरि अघिकै पुरानै बाटो समाएर अघि बढें। मलाई चार्लटन जानु थियो। चार्लटनमा मदन दाइ हुनुहुन्छ। उहाँ कवि मुकुन्दशरण उपाध्याय अर्थात् मेरो मामाका छोरा। मलै दाइसँग अघिल्लो दिन नै घरको ठेगाना मागेको थिएँ। दाइले भाइबरमा एड्रेस सँगसँगै कसरी आउने भन्ने पूरै डिरेक्सन दिनुभएको थियो। ‘हिथ्रो विमानस्थलबाट अन्डरग्राउण्डमा गएर पिकाडेली लाइन लिने अनि ग्रीन पार्कमा ओर्लेने र त्यहाँबाट जुब्ली लाइन लिएर नर्थ ग्रीनवीचमा झर्ने अनि त्यहाँबाट बस नं ४८६ वा १६१ लिएर चार्लटन स्टेशनमा ओर्लने।’

मलाई लण्डनमा ५ दिन घुम्नु थियो। त्यही भएर ओयस्टर कार्ड लिएँ। जम्माजम्मी १५ पाउण्ड प-यो। जसमा ५ पाउण्ड डिपोजिट थियो र १० पाउण्ड यात्राका लागि प्रयोग गर्न सकिन्थ्यो। पछि आवश्यकता अनुसार टपअप गर्न सकिन्छ। मैले दाईले भने जस्तै गरेर यात्रा गरें। मलाई अब ग्रीन पार्कमा ओर्लनु थियो। कतै स्टेशन छुट्छ कि भन्ने डर लाग्दै थियो। अन्डरग्राउण्डमा हरेक स्टप आउनु अघि आउने गन्तव्यको नाम भन्ने गरिन्छ। त्यही भएर अलि सहज भयो। जब ‘नेक्सट स्टप ग्रीनपार्क’ भन्ने आवाज आयो, म सजग भएँ ओर्लनका निम्ति। ट्युब रोकियो म ग्रीनपार्कमा ओर्लेर जुब्ली लाइनको साइन पछ्याउदै नर्थ ग्रीनविचतिर लागें।  

ग्रीनबीचबाट बाहिर निस्केर ४८६ नम्बरको बस चढेर म चार्लटन पुँगें। साँझको सात बजिसकेको थियो। बेलायतमा जाडो याममा रात चाँडै पर्छ। नोभेम्बरको महिना त दिउँसो चार बजे देखिनै झमक्क हुन्छ। बस स्टेशनबाट दाइको घर नजिकै थियो। एकैछिनमा पुगें। दाजुभाउजुसँग सामान्य गफगाफपछि खाना खाएर सुत्ने तरखरमा लागें।  

०३ नोभेम्बर,२०१९  

मभन्दा एकदिनअघि नेपालबाट लण्डन आउनुभएका साथी राजेन्द्र सापकोटाको फोन आयो। कति बेला आउने सेन्ट्ल लण्डनतिर? उहाँले सोध्नुभयो। कुरैकुरामा हामीले एघार बजे लण्डन ब्रीज स्टेशनमा भेट्ने तय ग-यौं। बिहानको नास्ता खाए पछि म चार्लटन स्टेशनबाट लण्डन बी्रज स्टेशनका लागि ओभरग्राउण्ड नेशनल रेल लिएर गएँ। चार्लटनबाट लण्डन ब्रीज पुग्दा लण्डनको मनमोहक दृश्य देख्न सकिन्थ्यो। मनमोहक यस अर्थमा कि बाटा राम्रा, फराकिला र सफा थिए, घरहरू  एकैकिसिमका देखिन्थे र बाटामा गुडेका सवारहरू लेनमा थिए। लगभग तीस मिनेटको यात्रामा केनरी व्हारफमा रहेका गगनचुम्बी घरहरू हेर्दा पनि आनन्द आउँदथ्यो। यहाँका घर हामी हिँडेको रेलको लिक भन्दा कतै बराबरी त कतै तल थिएँ। सुनेको र हेरेको लण्डनभन्दा फरक थियो लण्डन। लण्डन आज आफ्नै  अगाडि थियो। हिजोको हिथ्रोदेखि चार्लटनसम्मको यात्रामा कताकताबाहेक लण्डनको अनुहार देखेको थिइन। बाटोमा ग्रीनविच स्टेशन आउँदा ‘ग्रीनबीचको साँझ’का लेखक छविरमण सिलवालको याद आयो। अझ यो यात्रामा विशेष किसिमले डा.ताना शर्माको ‘बेलायततिर बरालिँदा’को एक एक याद आयो।  

हामी अधिकांश ‘टावर ब्रीज’लाई ‘लण्डन ब्रीज’ भन्छौं। तर लण्डन ब्रीज र टावर ब्रीज दुई फरक पुल हुन्। लण्डन ब्रीज सामान्य पुल हो भने टावर ब्रीज बीच भागबाट खुल्ने हाइड्रोलिक भएको सस्पेन्सन पुल हो र यसको माथि चर्चको जस्तो आकृति वा टावर छ।

म लण्डन ब्रीजको टुली स्ट्रिट एक्जिट लिएर बाहिर निस्कें। त्यहाँ पुग्दा राजेन्द्रजी र रुपा म्याम भरखर आईपुग्नु भएको रहेछ। गुगल म्यापमा टावर ब्रीज खोज्दै हामीलाई निर्देशित गरेको बाटोतिर लाग्यौं। स्टेशनबाट हिँडेरै टावर ब्रीज पुग्न जम्मा १० मिनेट लागेको थियो। टावर ब्रीज पुग्नु भन्दा अगाडि पानीको फाउण्टेन चलिरहेको थियो। क्विन्स वाक सँगै थियो एउटा अण्डाकार घर। यो यहाँको सिटी हल रहेछ।

सिटी हल।  

हामी अधिकांश ‘टावर ब्रीज’लाई ‘लण्डन ब्रीज’ भन्छौं। तर यो गलत हो। लण्डन ब्रीज र टावर ब्रीज दुई फरक पुल हुन्। लण्डन ब्रीज सामान्य पुल हो भने टावर ब्रीज बीच भागबाट खुल्ने हाइड्रोलिक भएको सस्पेन्सन पुल हो र यसको माथि चर्चको जस्तो आकृति वा टावर छ। हामी टावरको पेडेस्टेरियन वाकमा हिँडेर लण्डन सहरलाई हेर्दै थियौं। टेम्स नदीले यसको अझ सुन्दरता थपेको थियो। टेम्स नदीलाई यातायातका रूपमा पनि प्रयोग गरिएको रहेछ। यही नदीमा पर्यटकका  निम्ति क्रुजको व्यवस्था पनि रहेछ। टेम्स नदीमा असंख्य साना र ठूला पानी जहाज देखिन्थे। टावर ब्रीजको टावरमाथि नै चढ्न बसेकाहरूको लाइन एकातिर थियो। वयस्कहरूलाई त्यो टावर चढ्न नौं पाउण्ड लाग्ने रहेछ।  

केही समय दृष्यावोलकन पछि हामी फेरि लाग्यौं लण्डन ब्रीजको अन्डरग्राउण्डतर्फ। बाटोमा हामीले एचएमएस बेलफास्ट पानीजहाज देख्यौं। यो पानीजहाज बेलायती शाही जलसेनाका लागि बनाइएको थियो। अहिले यसलाई ईम्पेरियल वार म्युजियमका रूपमा पनि चिनिन्छ। बाटाको छेउछाउमा ससाना सोभिनियर पसल थिए। मैले लण्डन घुमेको सम्झनाका लागि लण्डन अंकित म्याग्नेट र टिर्सट यतै किनें। हामी लण्डन ब्रीजको अन्डरग्राउण्डबाट ट्युब लिएर ग्रीन पार्क स्टेशनमा र्ओलियौं। अनि हामी लाग्यौं बकिंघम दरबारतिर।  

हामी पुग्दा मौसम त्यति खुलेको थिएन। अध्याँरोअध्याँरो थियो। फेसबुकमा फोटो हालेर पोष्ट गर्नेबित्तिकै एक जना त्यही पुगेर फर्केका साथीको फोटो कमेन्ट आयो–‘हामी पुग्दा त घमाईलो थियो।’

बकिंघम दरबारमा बेलायतकी महारानी भित्र भए वा नभएको झण्डातोलनको प्रकारले थाहा हुँदो रहेछ। यदि महारानी भित्र भए रोयल स्टान्डर्ड झण्डोतोलन गरिँदो रहेछ भने बाहिर भएमा संयुक्त अधिराज्यको युनियन झण्डातोलन गरिँदो रहेछ।  

वास्तवमा लण्डनको मौसमको भर हुँदैन। त्यसो त युरोपतिर एउटा कुरा भन्ने गरिन्छ–तीनवटा डब्ल्युको यहाँ भर हुँदैन–वर्क, वुमन र वेदर। तिनीहरू केही क्षणमा बदली हुन सक्छन्।  

बकिंघम दरबार बेलायती महारानीको दरबार हो। सन् १८३७ देखि दरबार राजसंस्थाको लागि प्रयोग हुँदै आएको छ। बकिंघम दरबारमा ७७५ कोठा छन्। बकिंघम दरबारको मूलद्वारमा उभिएको सैनिक, घोडा हेर्न र फोटो खिच्न ताँती नै लाग्छ। दरबारमा बेलायतकी महारानी भित्र भए वा नभएको झण्डोतोलनको प्रकारले थाहा हुँदो रहेछ। महारानी भित्र भए रोयल स्टान्डर्ड झण्डोतोलन गरिने रहेछ र बाहिर भएमा संयुक्त अधिराज्यको युनियन झण्डोतोलन गरिँदो रहेछ।  

बकिंघम दरबारको मूलगेटसँगै रानी भिक्टोरिया स्मृति शालिक छ। यो २५ मिटर अग्लो र २३ सय टन करारा मारबलले बनेको स्तम्भ हो । यहाँ रानी भिक्टोरियाबाहेक अरू चिजलाई प्रतिनिधित्व गर्ने मूर्ति पनि छन्। यहाँ पनि फोटो खिच्नेहरूको उत्तिकै भीड लाग्छ। बकिंघम दरबार पुग्ने जो कोही शालिकमा पुगेकै हुन्छन्।  

हामी सेन्ट जेम्स पार्क भित्रबाट हिँडेर बिग बेन भएको ठाउँ वेष्टमिन्स्टरतर्फ अगाडि बढ्यौं। बाटोमा हाउसहोल्ड क्याभल्री म्युजियम पनि घुम्यौं। बेलायती सैनिकको  इतिहास र घोडाका बारेमा रुचि राख्नेहरूका लागि यो स्थान महत्वपूर्ण मानिन्छ। बाटामा परेको हर्ष गार्डमा घोडा परिवर्तनको दृष्य पनि मनमोहक थियो। हाम्रो यात्रामा बेलायती प्रधानमन्त्रीको निवास टेन डाउनिंग स्ट्रिट र न्यू स्कटल्याण्ड यार्ड देखियो। टेन डाउनिंग स्ट्रिटलाई बेलायत सरकारको मुख्यालय पनि मानिन्छ। न्यू स्कटल्याण्ड यार्ड भने लण्डन प्रहरीको मुख्यालय हो। हामी अघि बढ्दै गर्दा हाम्रो दायाँतर्फको बीग बेन देखियो। यसको पुनःनिर्माण भइरहेकाले त्यहाँ परा स्क्याफोल्डिंग लगाइएको थियो। त्यही कारण बीग बेनलाई फोटोमा कैद गर्न सकेनौं। भोक पनि लागेको थियो। हामी वेष्टमिन्सटर ब्रिजलाई पार गर्दै लण्डन आइतर्फ लाग्यौं। आज पनि यहाँको मौसम खुलेको थिएन। जसोतसो लण्डन आइलाई पृष्ठभूमिमा पारेर तस्वीर लिएर हामी लण्डन आइ चढ्ने स्थानमा पुग्यौं। यहाँ पनि लामै लाम थियो।  

लण्डन आई

‘धुमलिएको आकाशमा लण्डन के नै पो राम्रो देखिएला र?’, मैले राजेन्द्रजीलाई प्रश्न गरें। हामीले लण्डन आइ नचढ्ने निर्णय ग-यौं र सँगै रहेको चीनियाँ रेष्टुराँमा खाजा खान गयौं। बाह् पाउण्डमा जति खाए पनि पाउने। हामीले हाम्रो भोकको राम्ररी सदुपयोग ग-यौं।  

चार बजिसकेको थियो। मलाई वेष्टफिल्डमा भाइ रविन कुरेर बसेका थिए। हामी वेष्टमिन्सटरबाट जुब्ली लाइन समातेर स्टा्रटफोर्ड गयौं। राजेन्द्रजी र रुपा म्याम क्यानिंग टाउनमा झर्नुभयो। वेस्ट फिल्ड स्ट्राटफोर्ड सिटी बेलायतको ठूलो सपिङ मल मध्य एकमा पर्छ। वेस्ट फिल्डको घुमाइपछि हामी लाग्यौं भाइ रविनको घरतिर। बेलुकाको डिनर बाहिर खाने सल्लाह भयो र हामी पुग्यौं प्लमस्टेडस्थित एक नेपाली रेष्टुराँमा।  

‘यहाँको मम मीठो छ’, रविन भाइले तारिफ गरे। हामीलाई मेनु एक विदेशी वेटरले दिए। हामीले ममसँगै केही अरू मेन कोर्स पनि मगायौं। त्यहाँ एकजना नेपालीसँग भेट भयो, उनी त्यसै रेष्टुराँका मालिक रहेछन्।  

मैले सोधें, ‘विदेशी वेटर किन?’

उनले भने इष्ट युरोपियनहरू नेपालीभन्दा सस्ता हुन्छन्।’

अर्थात् उनीहरूलाई बेलायत सरकारले तोकेको दररेटभन्दा पनि कम दिए हुने रहेछ। नेपाली रेष्टुराँमा नेपाली वेटर नदेख्दा खल्लो लाग्यो। त्यस रेष्टुराँका मालिकको पारिवारिक समस्या रहेछ, त्यहीँ मजाले पिएर आफ्नो दुःख पोख्दै थिए।

‘अथाह कमाइयो तर सन्तोषले बस्ने बेला दुःख पाइयो। मैले मेरो सबै सम्पति  श्रीमतीलाई दिएँ’, उनी भन्दै थिए, ‘अब नेपाल आउँछु।’ नेपाल बाहिर सम्बन्ध बिग्रेर घर न घाट भएका नेपालीको कथा अचेल अलि बाक्लै सुन्न पाइन्छ। छुट्टिने बेला उनले भने, ‘जनवरीमा सौराहामा भेटौंला।’  

‘अथाह कमाइयो तर सन्तोषले बस्ने बेला दुःख पाइयो। मैले मेरो सबै सम्पति  श्रीमतीलाई दिएँ’, उनी भन्दै थिए, ‘अब नेपाल आउँछु।’ नेपाल बाहिर सम्बन्ध बिग्रेर घर न घाट भएका नेपालीको कथा अचेल अलि बाक्लै सुन्न पाइन्छ। छुट्टिने बेला उनले भने, ‘जनवरीमा सौराहामा भेटौंला।’  

भाइ रविनले मलाई चार्लटन लगेर छाडे। आजको हिंडाइ लामै थियो, थाकिएछ। एकछिन दाइभाउजूसँगको गफपछि म सुत्ने तरखरमा लागें।  

०४ नोभेम्बर २०१९  

बिहानै उठेर म एक्सेल जानका निम्ति तयार भएँ। बिहानको नास्ता उतै खाने योजना गरें। आज लण्डनमा हरेक वर्ष हुने विश्व पर्यटन मेलाको २०१९ को संस्करण उद्घाटन हुने दिन। म लण्डन आउनुको मुख्य कारण यो कार्यक्रममा सहभागिताका लागि थियो। म यो पटक ‘ट्रेड भिजिटर’का रुपमा आएको थिएँ। म प्रर्दशक थिईन। लण्डनको एक्सेलमा कार्यक्रम भएको थियो। म चार्लटनबाट नर्थ ग्रीनवीच बसमा गएँ। त्यहाँ एक्सेल लण्डन र नर्थ ग्रीनबीच जोड्ने केबलकार रहेछ जसलाई एमिरेट्स एयरलाइन्स भन्ने गरिन्छ। पाँच पाउण्ड लाग्ने यो यात्रा यो मेला अवधिभर निःशुल्क गरिएको रहेछ। म यही केबलकार चढेर एउटा शहरबाट अर्को शहर पुगें। खोलामाथिको दृश्य र केवलकारको सिसाबाट देखिने दृश्य नेपालको केवलकारबाट देखिनेभन्दा फरक थिए। करीब ५ मिनेट यात्रामै पुगियो एक्सेल।  

म चार्लटनबाट बसमा नर्थ ग्रीनबीच गएँ। त्यहाँ एक्सेल लण्डन र नर्थ ग्रीनबीच  जोड्ने केवलकार रहेछ जसलाई एमिरेट्स एयरलाइन्स भनिन्छ। पाँच पाउण्ड लाग्ने केवलकार यात्रा मेला अवधिभर निःशुल्क गरिएको रहेछ। म यही केवलकार चढेर एउटा शहरबाट अर्को सहर पुगें।

एमिरेट्स एयरलाइन्स

त्यहाँ विश्वभरका पर्यटन व्यवसायीको भीडभाड थियो। विश्वका ठूला पर्यटन मेलामा जर्मनीमा हुने आइटिबिलाई लिइन्छ। त्यसपछि यो डब्ल्युटिएम। पर्यटनमा लाग्नेहरूका लागि यो कुम्भ मेलै हो। नेपालबाट आएका २५ वटा टुर्स ट्राभलका साथीहरू, नेपाल पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीसँग मेलामा भेट भयो। महामहिम राजदूतले राजदुतावासले ०५ नोभेम्बरमा राखेको रात्रिभोजमा निम्ता दिनुभयो, मैले मिलेसम्म आउने वाचा गरें।  

दिउँसो ३ बजेसम्म मेला भवनका अन्य परिसर अवलोकन गरी म साथी रुद्र गुरुङलाई भेट्न लागे ग्रीनफर्डतिर। रुद्र र म डब्लिनदेखिका साथी थियौं। रुद्रसँगको भेटघाटपछि म पुनः लागें चार्लटनतिर। भोलि बिहानै बेडफर्ड जानु थियो, साथी राजेशकोमा।

डब्ल्युटिएममा नेपालको स्टल।

 ०५ नोभेम्बर २०१९  

‘नास्ता के खाने?’ भाउजू मुरुले सोध्नुभयो। बिहान उठ्दा आठ बजेको थियो। मैले टोस्ट र अमलेट भनें। नास्तापछि म आज दाइभाउजूसँग बिदा माग्दै थिएँ। आज र भोलिको मेरो बसाइ साथी राजेशको घर बेडफर्डमा हुँदै थियो। त्यति मात्र होइन, कुनै बेला हामी स्मल हेभन स्कूल चितवनमा सँगै पढ्दाका साथी भेट हुँदै थियौं। म, राजेश, मेमराज र विवश। म र मेमराज क्लासमेट थियौं भने राजेश र विवश हामीभन्दा एक ब्याच सिनियर तैपनि हामीमा तँतँ र मम चल्थ्यो। मेमराजले ८ बजे नै फोन गरेर म निस्कन लागें है, तिमीहरू चाँडै आऊ भन्दै थियो। मलाई विवश दाइले चार्लटन लिन आउने कुरा थियो। म उहाँकै प्रतिक्षामा थिएँ। हामीले चार्लटन छाड्दा बिहानको दश बज्यो।  

मोटरवेमा ६०–७० माइल्स प्रतिघण्टा हाम्रो गाडी गुडेको थियो। सबै गाडी हतारमा देखिन्थे। यस्तो लाग्थ्यो कि त्यहाँ दौड प्रतियोगिता नै भइरहेको छ। बाटामा रहेका साईनबोर्डमा मेरो ध्यान गयो। साईनबोर्ड हेर्दा कुनकुन शहर कहाँ कहाँ पर्ने रहेछ थाहा हुने रहेछ। त्यसै क्रममा मैले एउटा बोर्डमा नेक्सट एक्जीट वार्टफर्ड लेखेको देखें।  

वार्टफर्ड भन्नेबित्तिकै मेरो मनमा दुईवटा व्यक्तिको याद आयो। एक सन्जय पन्त र अर्का कृष्ण बजगाईं। ‘भेट्न त मन थियो, चार्लटन धेरै टाढा भयो’ भन्ने खालको अभिव्यक्ति मैले सन्जयजीसँगको कुराकानीमा थाहा पाएँको थिएँ। आज संयोगले वाटफर्डकै बाटो भएर बेडफर्ड जाँदै रहेछौं। संकोच मानी मानी संजयजीलाई फोन गरें र उहाँकै वरिपरि रहेको जानकारी दिएँ।

‘सपिङ गर्दैछु, निस्कन आँटेको, आउनुस म एडरेस टेक्सट गर्दिन्छु’, सञ्जयजीले भन्नुभयो। हामी उहाँले दिएको ठेगानामा लगभग १५ मिनेटमै पुग्यौं।  

स्टार्टफोर्ड सपिङ सेण्टर। 

‘तपाईको पासपोर्ट भएको ब्याग गाडीमा नछाड्नुस्, सञ्जयजीले सर्तक गराउनुभयो, ‘यो एरियामा गाडी फुटाएर सामान चोर्ने काम अत्यधिक हुन्छ।’

मैले आफ्नो ब्याग बोकेरै सञ्जयजीकोमा लगें। सञ्जयजीको घर पनि चितवन हो। पछिल्लो समय मेरो उपन्यास मौनता पछि उहाँ र म नजिकिएका छौं। लगभग आधा घण्टाको बसाइ, गफगाफ र चियापानपछि हामी फेरि लाग्यौं, बेडफर्डतिर।  साथी मेमराज बेलाबेलामा फोन गरेर तिमीहरू भोलि आइपुग्ने होला भन्दै थियो। वार्टफर्डमा रहनुभएका कथाकार कृष्ण बजगाईलाई फोन गरें, तर उहाँ बाहिर हुनुहुँदो रहेछ। नेपालदेखि साहित्यकार छविरमण सिलवालले जसरी पनि भेट्नु भन्नुभाको थियो, तर यो यात्रामा सम्भव भएन।  

बेडफोर्ड पुग्दा मेमराज र राजेश हामीलाई पर्खेर बसिरहेका रहेछन्। भोक लागेको थियो। भाउजू नीराले बनाउनुभएको पास्ता सुरुमै खाइयो। कुनै इटालियन रेष्टुरेण्टको भन्दा कम थिएन स्वाद। त्यसपछि मेमराजले वेल्सदेखि ल्याएको तावामा बनाएको तास नारायणघाटको भेटघाटको भन्दा कम थिएन।  

बेडफोर्डमा नीरा भाउजूले बनाउनुभएको पास्ता सुरुमै खाइयो। कुनै इटालियन रेष्टुराँको भन्दा कम थिएन स्वाद। त्यसपछि मेमराजले वेल्सदेखि ल्याएको तावामा बनाएको तास खाइयो जुन हाम्रै नारायणघाटको ‘भेटघाट रेष्टुराँको भन्दा कम थिएन। साँझ हामी नजीकैको एउटा बारमा गयौं। नाम मात्र बार रहेछ! यो मागे पनि छैन, त्यो मागे पनि छैन भनियो त्यहाँ।  

‘साह्रै मीठो भयो, पकाइ हो कि मासु’, मैले मेमतिर हेरेर प्रश्न गरें। मेम हाँस्दै भन्दै थियो, वेल्सको खसीको मासु हो साथी। साँझ हामी नजिकै रहेको एउटा बारमा गयौं। नाम मात्र बार। यो मागे पनि छैन, त्यो मागे पनि छैन। हामी सबैले राजेशलाई यो बार उसलाई किन्न सुझाव दियौं। कमसेकम राजेशको हस्पिटालिटी क्षेत्रमा प्राप्त गर्दै गरेको दक्षताले यो बारलाई उत्कृष्ट बनाउन सक्थ्यो।  

हाम्रो त्यो बसाइमा स्मल हेभनका पुराना दिनको सम्झना गरियो। हाम्रो होस्टल जीवनलाई पनि रमाइलोको संज्ञा दिइयो। धेरै साथी र शिक्षकलाई सम्झना गरियो। हामी रातको ११ बजे राजेशको घर प्याडक फर्कियौं। विवश दाइ भने ‘भोलि बिहानै मेरो काम छ’ भन्दै आफ्नै घरतिर लाग्नु भयो। म र मेम भने कुरा गर्दागर्दै १२ बजेको सेरोफेरो निदाइएछ।  

०६ नोभेम्बर २०१९  

सबैभन्दा पहिला म उठें। त्यस पछि मेमराज। अनि राजेश। हामी आज केम्बरिज जाने तयारीमा थियौं। निरा भाउजुले नेपाली चिया र खाजाको व्यवस्थापछि हामी खाईवरी लाग्यौं क्यामरिजतिर। स्मल हेभन स्कूल चितवनमा हामी कक्षा ७ मा पढ्दा हाम्रा अंग्रेजी शिक्षक विनोद श्रेष्ठले हामीलाई एकपटक विलियम शेक्शपियरको रोमियो एण्ड जुलियट नाटक टिभीमा देखाउनुभएको थियो। शेक्सपियरका बारेमा थप जानकारी होस भनेर हो वा नाटक विधाको थप जानकारी विद्यार्थीले लिऊन भनेर हो, त्यो बेला निक्कै मजा लागेको थियो। आज शेक्सपियरको जन्मभूमि बेलायतमा आएर विश्वको पुरानो र नामुद विश्वविद्यालय वरिपरि थियौं।  

केम्बरिज पुगेपछि यहाँका कलेज हेर्ने पहिलो काम हो। सबैभन्दा महत्वपूर्ण र पुग्नै पर्ने किंगस कलेज च्यापल हामी गयौं। क्याम्बरिज शहरलाई हेर्न पानीमा पन्टिङको व्यवस्था रहेछ। समय अभावले टिकट लिनै लाग्दा पनि छाड्न प-यो। हामीले फिट्जविलियम म्यूजियम र हेफर्स बुक सप पनि पस्यौं। उदय अधिकारी र सफल निबन्धकार, समीक्षक कुमारी लामालाई ओल्गा टोकरुकको पुस्तक ‘फ्लाइटस’ यहीं किनें। यो पुस्तककले सन् २०१८ को म्यान बुकर अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको थियो ।  

क्याम्ब्रिज पन्टिङ 

फर्कदै गर्दा हामीले बाटामा पर्ने कोर्पोस क्लकलाई हेर्ने मौका पायौं। मलाई राजेशको रेष्टुराँ हेर्र्न मन थियो। हामी छिटोछिटो फेरि मिडो पार्कतर्फ लाग्यौं। राजेशले यही पार्कमा सञ्चालन गरेको दुइटा रेष्टुँरा फेरि मिडो क्याफे र लेकसाइड किचन एण्ड बार हे-यौं। हामी पुग्दा दुवै बन्द भइसकेको रहेछ। राजेशले आफैं बारबाट तीन पाइन्ट लिएर आयो। मलाई, मेमराजलाई र आफूलाई। लेक हेर्दै, पाइन्टको मज्जामा केही समय बितायौं। ‘साँझको खाना नेपाली रेष्टुराँमा खाने’, राजेशले भन्यो। हामी बेलुका एउटा भरखर सुरु भएको नेपाली रेष्टुराँ गोर्खा दरबार पिटरबर्गमा गएर खाना खायौं। त्यो रेष्टुँराको कलाकृति विछट्टै राम्रो थियो। आज हामी राजेशको वुडल्याण्ड म्यानर होटलमा बस्ने कुरा पहिले निश्चित भइसकेको थियो। खानापश्चात् हामी सोझैं होटलतर्फ गयौं। राजेशले होटलको सबै सेक्सन देखायो र पछिल्लो समय यो होटल इभेन्ट विशेषत विवाहको लागि बढी प्रयोग हुने पनि जानकारी दियो। होटल सिटीबाट थोरै भित्र भए पनि यहाँ पुगेपछिको आनन्द अर्कै थियो। भोलि बिहानै एयरपोर्ट जान पर्ने भएकाले हामी चाँडै सुत्नपर्ने थियो। राजेशले  हामीलाई आजै बिदा ग-यो।  

मेमराज र म रातको १२ बजेसम्म गफ गरेर बस्यौं। विहान चार बजे नै उठेर फेरि हिथ्रो विमानस्थल जानु थियो। दुवैको मोबाइलमा अलार्म सेट ग-यौं। एकैछिनमा हामी निदाएछौं।  

०७ नोभेम्बर २०१९  

आज लण्डनको अन्तिम दिन। समयमै एयरपोर्ट पुग्नु थियो। चार बजे नै उठेर नित्यकर्म पश्चात एयरपोर्टतर्फ हुइँकियौं। समय रहे बे्रकफास्ट हिथ्रोमै खाने योजना भयो। बिहान भए पनि सडकमा उत्तिकै गाडीहरू थिए। नेपाल जस्तो रातमा सुत्ने र दिनमा उठ्ने रहेनछ बेलायत। मलाई समयमै एयरपोर्ट नपुगिएला कि भन्ने डर अझै थियो। मलाई विहान ७ बजेको प्लेन समाएर फिनल्याण्डको हेल्सिन्की जानु थियो। र त्यहाँबाट साँझ नेपाल। जे होस् समयमै एयरपोर्ट पुगियो। मेमराज कफी पिउन आग्रह गर्दै थियो, तर मेरो मन अत्तालियो र मैले इन्कार गरें। म सेक्युरिटीतिर अघि बढें र मेमराजलाई त्यहींबाट बिदाई गरे। ऊ पनि त्यहाँबाट वेल्स जान थियोे। सेक्युरिटी पार गरे पछि नजिकै रहेकोे कोष्टा क्याफेमा गएर क्यापचिनो लिएँ। जाँडो मौसममा मज्जा आयो।  

फ्लाइट समयमै रहेछ। भित्र पुगेर सिटमा बस्न के खोज्दै थिएँ, गोपीकृष्ण काफ्ले दाइको फोन आयो। दाइ नेपालमा भएको गैर आवसिय नेपाली सम्मेलनमा सहभागी भएर क्यानाडा फर्कदै गर्दा हिथ्रोमै हुनुहुँदो रहेछ।  

अघिल्लो दिन नै तय गरेको भए हाम्रो भेट हुन सक्ने रहेछ, तर आज सम्भव भएन। दाईलाई फोनबाटै बिदा गरें। लण्डनको आकाशमाथि म चढेको विमान उड्यो। एकैछिनमा विमानले बेलायतको आकाश काट्यो। यो यात्राले साथीहरूको साथ पुर्नताजगी गर्नुका साथै मनभित्र एउटा आत्मीय स्थान पुनः जम्मा गरेर राख्यो।  

नियात्राकार सुमन घिमिरे। 

प्रकाशित: ३० श्रावण २०७७ २२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App