९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

‘वृद्धभत्ता’ले हुर्काएका परेवा

‘यी परेवालाई मसँगै लैजान्छु, नत्र म पनि जान्नँ,’ ७१ वर्षीय सन्त चित्रकारको निर्णय सुनेपछि उनलाई लिन गएका व्यक्तिहरू अचम्ममा परे। गत आइतबार ललितपुर मंगलबजारमा डेरा गरेर बस्ने सन्तलाई लिन काठमाडौं तार्केश्वरस्थित ‘नवजीवन परोपकार समाज’ (वृद्धाश्रम)बाट सदस्यहरू गएका थिए। वृद्ध हुँदै गएपछि सन्तले नजिकैको प्रहरी चौकीमा गएर भने, ‘मलाई कुनै वृद्धाश्रममा पुर्‍याइदिनुस्। अब म बूढो भएँ, केही काम गर्न सक्दिनँ।’ प्रहरीले ‘नवजीवन परोपकार समाज’ समक्ष कुरा राख्यो। त्यसपछि नै समाजका सदस्य उनलाई लिन मंगलबजार पुगेका थिए। उनीहरू पुग्दा सन्त पिँजडाका परेवालाई साथै लिएर कोठामा सुतिरहेका थिए। समाजका सदस्यले प्रहरीको रोहबरमा उनलाई आफूहरूसँग जान भने।  

सन्तले हिँड्ने बेला दुइटा पिँजडा पनि उठाए, जसमा तीनवटा परेवा थिए। समाजका सदस्यले भने, ‘यी परेवालाई उडाइदिनुस्, किन लैजानुहुन्छ ? किन यिनलाई  पिँजडामा राखेर  सकस दिनुहुन्छ ?’ तर, सन्तले परेवाबिना आफू कतै नजाने अडान लिए। जब सन्तले परेवा नै आफ्नो परिवार भएको कथा सुनाए, समाजका सदस्यले उनीसँगै परेवालाई पनि लिएर आए । समाजका अध्यक्ष दुर्गानाथ दाहाल भन्छन्, ‘प्राणीप्रतिको माया र दया देखेर नै हामीले उहाँसँगै यी परेवालाई ल्याएका हौँ।’

‘वृद्धभत्ताले हुर्काएका परेवा’
सन्तले नौ वर्षको उमेरमा बाबुआमा गुमाएर एक्लो भएका थिए। त्यसपछि उनी मन्दिरहरूमा पुग्थे र परेवासँग खेल्थे। परेवासँग खेल्दाखेल्दै उनलाई परेवा नै परिवार जस्तो लाग्न थाल्यो। उनी भन्छन्, ‘आफ्नो भन्ने कोही नभएपछि परेवाहरू ल्याएर घरमा पाल्न थालेँ। पछिपछि त परेवा नै मेरा साथी भए।’ उनले आफूले नखाएर पनि परेवालाई खुवाउँथेँ। परेवालाई खुवाउनका लागि उनीसँगै कुनै आम्दानीको स्रोत त थिएन। तर आफूले सरकारबाट पाएको वृद्धभत्ता नै परेवाको हेरचाहमा खर्च गर्दै आएका रहेछन्। उनी भन्छन्, ‘सरकारले मलाई वृद्धभत्ता दिन्छ। त्यसैबाट मैले यी परेवा पालेको छु।’

‘आफ्नो भन्ने कोही नभएपछि परेवाहरू ल्याएर घरमा पाल्न थालेँ। पछिपछि त परेवा नै मेरा साथी भए।’


दुइटा पिँजडामा तीनवटा परेवा छन्। तीनवटालाई किन एकै ठाउँमा राखिएन ? यसको पनि लामै कथा छ। बेग्लै राखिएको परेवालाई देखाउँदै सन्त भन्छन्, ‘यसले एउटा आँखा देख्दैन। यो १० वर्षको भइसक्यो।’ एकपटक सातवटा परेवालाई कोठामा त्यत्तिकै छाडेर सन्त बाहिर निस्केका थिए। उनी साँझ फर्कंदा बिरालोले केही परेवालाई मारेछ भने केहीलाई घाइते बनाएछ। सन्त एक्लो परेवालाई औँल्याउँदै भन्छन्, ‘यो त्यतिबेलै घाइते भएको थियो। टाउकोमा चोट लागे पनि औषधिले बचाएँ। तर, एउटा आँखाको उपचार भएन र यसले दृष्टि गुमायो ।’ एउटा आँखाले नदेख्ने कारण यसले राम्रोसँग चारो टिप्न मात्रै होइन, उड्न पनि सक्दैन। उड्ने कोसिस गरे पनि कतै ठोक्किन पुग्छ। सन्त भन्छन्, ‘उड्न सक्ने भए पनि म यसलाई कुनै मन्दिरमा लगेर छाडिदिन्थेँ।’

बिरालोको आक्रमणपछि उनले परेवालाई पिँजडमा राख्न थालेका रहेछन्। उनी जता जाँदा पनि परेवा बोकेरै हिँड्थेँ। त्यो देखेर धेरैले उनलाई पागल भन्थे। तर, उनले परेवाको हेरचाह गर्न छाडेका छैनन्। पछिल्लो दश वर्षमा पनि उनी ललितपुरमा थुप्रै ठाउँ कोठा सरे। जहाँ जाँदा पनि उनले परेवालाई आफूसँगै लैजान्थे। उनी भन्छन्, ‘कतिले त परेवाले फोहोर गर्छ भनेर कोठा दिन माननेन्, कतिले परेवाले फोहोर गर्‍यो भनेर कोठा छाड्न भने।’ जवानीमा उनले घरमा रंग लगाउने, माटाका भाँडा बनाउने लगायत काम गर्थें। बल घट्दै गएसँगै पछिल्ला वर्ष उनी थुप्रै रात भोकै बस्न बाध्य भए। तर, यी परेवालाई चारा टुटाएनन्। उनी भन्छन्, ‘कसैसँग ऋण माग्थेँ र वृद्धभत्ता आएपछि तिर्थें। अहिले त साहु पाउन पनि गाह्रो छ। त्यसैले वृद्धाश्रम आउन चाहेको हुँ।’

अहिले सन्त वृद्धाश्रममा आफ्ना परेवाहरूसँग रमाइरहेका छन्। अध्यक्ष दाहाल भन्छन्, ‘उहाँ र यी परेवाले आश्रमको शोभा नै  बढाएको छ। अन्य बुवाआमाहरू त्यत्तिकै झोँक्र्याएर बस्नुहुन्छ, तर उहाँ यी परेवासँग कुरा गरिरहनुहुन्छ, आफ्नै सुरमा।’

प्रकाशित: २४ फाल्गुन २०७६ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App