२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्य

रातो डायरी

अर्जुन थापा

एउटा पुरानो घरको एउटा सानो कोठा, बाँझो खेत, घरअघि देखिने कवाडीका छाप्राहरू, भट्टी पसलहरूले घेरिएको थोत्रे पिच सडक, फोहोरका थुप्राहरूका सहर अनि सहर। ऐनामा हेर्छु ढल्किँदै गएको उमेर, छाती छामेर हेर्छु, अझै तरुन मन मेरो, दिनमा दुई–तीन ओटी युवतीसँग खेल्न सक्ने क्षमता भएको म। मुठ्ठी कसेर आफ्नो क्षमता जाँच्छु, उमेर त छ है कतै भागिहालेको छैन।

मेरो बाबु मलाई लम्फू र ढाक्रे सम्झन्छ। उसले उमेरमा दुःख गरेर कमाएको भएर नै आज यस घरमा आरामले बस्न पाएको छु रे मैले। हरेक दिन उसका वचन खानु अब मेरो नियति हुन पुगिसक्यो।

अघि बिहान तिमीहरू आमा–छोरा नमरुन्जेल यो घरमा कहिल्यै शान्ति हुँदैन भन्दै मार बेसरी आमालाई चुटेछन्।

यो घरभित्र उकुसमुकुस बढ्न थालेको छ मलाई। सास निसास्सिएला जस्तो हुन्छ। स्थितिले चाँडै चोट खाने मान्छे म। थोत्रो स्कुटर स्टार्ट गरेर निस्किदिन्छु घरबाट। ध्वाँसे घामको रापले वातावरण नै वैरागलाग्दो भएको छ। सडकभरि फैलिएर बसेका ध्वाँसे घाम गन्हाएर अरू दिक्कलाग्दो भएको छ वातावरण।

कतै गएर रमाइलो गर्न पनि पैसा खर्च गर्नुपर्छ। जुन अहिलेका लागि ठूलो हिम्मतको विषय छ मेरा लागि। एउटा प्रेमिकालाई बोलाएर एक कप चिया पिलाउन पनि धेरै पटक सोच्नु पर्ने मेरो विवशता। छिः कस्तो लम्फू भएछु म। अनि मेरो बाबुले किन नभनोस् मलाई।

‘हेल्लो कता हो ? आज मेरो घरनजिकै नयाँ भट्टी पसल खोलेको छ। राम्री साहूनी बस्छे। जाने हो ? आज म खुवाउँला। तँ पनि के याद गर्छस्।’ भन्दै फोन राख्छ साथी।

आत्मग्लानिले निमोठिन थाल्छु, सोच्छु होइन त्यति विघ्न झरिसकेको छु त म ? अझै पनि अरूकै किन नहोस् पुरानो स्कुटर चढेकै छु। हातमा पुरानै भए पनि मोबाइल बोकेकै छु। हो, अहिले हालत अलिक प्रतिकूल मात्र त हो भएको। भोलि अनुकूल हुन पनि सक्छ नि !

‘आइस् त ! बस्बस् तेरै कमी भइराखेको थियो। साहूनी एउटा खाली ग्लास देउ त !’ अब ग्लासमा चिसो बियर खनाउन थाल्छ साथी।

‘हेल्लो, बाबु एउटी राम्री केटी छे बिहे गर्ने भए कुरा चलाउनु प¥यो।’ फोनमा टाढाको मामा बोल्छन्। ‘जाबो आइमाईको जातलाई के स्वास्नी बनाउनु। बिहे नगरे तापनि जन्ती जान पाइएकै छ क्यारे !’ म ठट्यौली पारामा भनिदिन्छु।

‘केही काम पाइस् त ? खाली विदेश जाने भनेर कति लम्फू भएर बस्छस्। केही गर। सधैँ अरूले खुवाउला कि भनेर के अर्काको मुख ताक्नु हो,’ चुरोटको लामो सर्को तान्दै भन्छ।

दिनलाई उत्तर पनि पाउँदिनँ म। भन्ने तरिका गलत भए पनि सही भनेको थियो साथीले। भित्रभित्रै कताकता दुखेको महसुस गरिराखेँ तापनि केही भनिनँ। न शरीर बलियो छ न मन बलियो छ मेरो। हुतिहारा भएको छु सबैको नजरमा म।
‘एक–दुई ठाउँमा एप्लाई गरेको छु। हेरौँ के हुन्छ ?’ स्थिति भत्काइदिन्छु र भन्छु।
‘खाली समयमा लेख्न थालेको छु मैले।’ छाती फुलाएर भन्छु म।

त्यस भट्टीबाट सबै हाँसेको र फोहोर गालीका शब्दहरू बाहिरसम्म पुग्ने गरी साथीले मलाई भन्छ। लाग्छ– दिदीबहिनी, आमाहरूलाई त्यस भट्टीमा नङ्ग्याउन थालिराखेका छन्।

‘तँ भन, मलाई कि लेख्नचाहिँ के लेख्छस्। बाबुले आमा कुटेको ? बाबुले टोलभरि बहुलाजस्तै कराउँदै हिँडेको ? तेरो प्रियदिपुले तेरै मिल्ने साथीसँग लभ गरेको ?’ फेरि ऊ रक्सीको तालमा तिघ्रा पिटिपिटी हाँस्छ।

‘तँपनि मुला। लेख्न त त्यस्तो केही लेख्दिनँ... यस्तो लेख्न सक्ने कहाँ भइसकेको छु र ? यसो कहिलेकाहीँ मन भुलाउने, समय कटाउने बाटो नि ! साथमा एउटा बलपेन र डायरी राख्न मन लाग्छ निब्रो ! एक्लो मान्छे केही त हुनु प-यो नि मुला।’ हाँसीहाँसी भनिदिन्छु।

‘ल ल बधाई छ। अब साहित्यकार भनेर बोलाउँछौँ तँलाई।’ भोटिनी साहूनीलाई आफूतिर तान्दै भन्छ साथी।
‘ल यार म हिँडे अब। घरमा आमा खाना कुरिराखेकी होलिन्। बियरको लागि धन्यवाद।’

बाहिर रात छिप्पिसकेको छ। जुन निर्लज्ज भुइँभरि पोखिइरहेछ सस्तिएर, नाङ्गिएर। कति वैैरागलाग्दो रात ? के यहाँ रातको अर्को रूप छैन ?

‘आइस् बल्ल ? कामधाम छैन। बाबुले पनि जवानीमै कामधाम छोडेर बुढो भए भनेर घरमै बस्यो। अब बाबुकै बिँडो थमाउनु। दिनरात त्यही बाबुको वचन खाएर बस। कस्तो अभागी म। लोग्नेको सुख त पाइनँ पाइनँ अब छोराको पनि...।’ आमा रुन थाल्छिन्।

झट्ट आँखा आमासँगै रहेको काठको मन्दिरमा पुग्छ। देउता र देउताको आस्था एकैसाथ रिस उठेर आउँछ। अझै मप्रति नै हेरेर हाँसिरहेको जस्तो लाग्छ ती फोटाका भगवान्हरू मेरो लम्कुपनाप्रति। उठेर आफ्नै कोठातिर लम्कन्छु।  
‘हेल्लो बाबू, एउटी राम्री केटी छे।  बिहे गर्ने भए कुरा चलाउनु प-यो।’ फोनमा टाढाको मामा बोल्छन्।

‘जाबो आइमाईको जातलाई के स्वास्नी बनाउनु। बिहे नगरे तापनि जन्ती जान पाइएकै छ क्यारे !’ म ठट्यौली पारामा भनिदिन्छु।

‘न काम छ। सधैँ यसरी नै बस्यौँ भने म पनि हेर्छु नि कसले बिहे गर्दो रहेछ।’ उनी रिसाउँदै फोन काटिदिन्छन्।
मैले गरेको जोक हिजोजस्तै मेरो अनुहारभरि पोतिएको छ। सोच्दै नसोची बोल्दा धेरै पटक यस्तो अवस्थाको सामना गर्नुपरेको छ मलाई।

बेडमा पल्टिएको त छु। तर, आँखामा निद्रा पटक्कै छैन। कौसीमा आउँछु। सबै वरिपरि मस्तले निदाएका छन् र त शान्त छ वातावरण।

आकाशतिर हेर्दै प्रश्न गर्छु र सोच्छु– कुनै अर्थबिना छटपटी पलापिन थाल्छन्। के अब मेरो यसरी नै लम्फूगिरीमा जीवन सकिने हो त ? के जीवनको अन्त्य यसरी हुने हो त ? हुनलाई कति नै बेर लाग्छ र नि असम्भव भन्ने के नै छ र ? प्रश्नैप्रश्नको बीचमा आफूलाई रुमलिएको पाउँछु। आकाश जहाँको त्यहीँ छ। अझै बाक्लिँदै गएको छ रात। बौलाहा ! एकसाथ रोऊँहाँसूँ जस्तो हुन्छ मन। फर्कन्छु कोठामा र ऐनामा आफूलाई नियाल्न थाल्छु। त्यस्तो सक्किसकेको बुढो नै भइसकेको त छैन नि।

के मलाई स्वास्नी चाहिसक्यो ? धत् ! भुक्न नसक्ने कुकुर म। जसले जे भन्दा पनि सहिदिने। आफ्नो अनुहार देखेर माया लागेर आउँछ। टिठ लागेर आउँछ आफ्नो मजाक बनाएको देख्दा। के बेरोजगार हुनु त्यति ठूलो पाप हो त ? कनपट्टी तातेर आउन थाल्छन्।

यी सबलाई देखाइदिनेछु कि म पनि मान्छे हुँ। नर्कमा जाओस् मेरो यो गरिबी, अभाव र पशु जीवन ! आउँछ त्यो दिन जुन दिन अहिलेको अवस्थाहरूलाई म खुट्टाले कुल्चिएर मिल्क्याइदिने छु। यो गरिबीलाई पुराना जुत्ता सँगसँगै मिल्क्याइदिने छु। म अब यो अठोट गर्छु कि एउटा शक्तिशाली मान्छे बनेर देखाउने छु।
रात न बेरात कसको फोन आयो फेरि।
‘हेल्लो अघि साँझ तपाईं कहाँ हुनुहुन्थ्यो र ?’ प्रश्न गर्छ अपरिचित व्यक्तिले।
‘म साथीले बोलाएकोले उसको घर नजिकैको नयाँ खोलेको होटलमा गएर एकछिन बसेर फर्केको थिएँ।’ उत्तर दिन्छु।
‘अघि जहाँ बसेर बियर खानुभएको थियो। त्यस होटलकी साहूनीको हत्या भएको छ। सायद बलात्कार पनि भएको हुनसक्छ यहाँको अवस्था हेर्दा। उनको लाससँगै तपाईंंको रातो डायरी फेला परेकाले तपाईंलाई हामीले फोन गरेका हौँ। तपाईं अहिल्यै गौशाला चौकीमा आउनुहोला। भाग्ने कोसिस गर्ने भूलचाहिँ  नगर्नु होला।’
फोन काटिन्छ।
म हतारहतार स्कुटर स्टार्ट गरेर गौशाला चौकीतिर लाग्छु।

प्रकाशित: ३२ श्रावण २०७६ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App