२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बालुवाको देश घुम्दा...

सैर कर दुनिया की गाफिल, जिन्दगानी फिर कहाँ,

जिन्दगानी हो भी जाए, नौजवानी फिर कहाँ?

नेपाल एयरलाइन्समा कार्यरत ज्वाइँ तारिणीराज दाहाल र छोरी पुनमको सौजन्यबाट म र श्रीमती तारादेवी पहिलो पटक दुबई जाने अवसर जुरेको थियो । हुनत अघिल्लो वर्ष जर्मनीको राजधानी बर्लिनमा जाने क्रममा कतारको दोहा हवाई अड्डामा ट्रान्जिट पेसेन्जर हुने अवसर मिलेको थियो । तर, हवाई अड्डामा बसेर घुम्ने र हेर्ने अवसर कहाँ प्राप्त हुन्छ ? दोहा एयरपोर्ट विशाल र विस्तृत तथा सबै सुविधाहरू सम्पन्न भएकोले विश्वको पाँच तारे एयरपोर्टमा सूचीकृत भइसकेको छ, जुन खाडी देशहरूको ज्यान र सान मानिन्छ । साथीहरूले दोहा र दुबईको बारेमा धेरै जानकारी दिएका थिए । दोहाभन्दा दुबई सुन्दर सहर भएकोले दुबई नै भ्रमण गर्ने योजना बनाएका थियौं । सोही अनुसार भ्रमण कार्यतालिका पनि बनायौं।

ज्वाइँले दुबईमा रहनुभएकाले उहाँले छोरा समिरलाई एयर टिकट र भिसा मिलाउने जिम्मा दिनुभएको थियो । हवाइ यात्रा गर्नुको केही दिनअघि समिरले साउन ६ गते बेलुकीको उडान रहेको जानकारी दिएको थियो।

यसअघि मलेसिया जाँदा पनि ऊ हाम्रो पथप्रदर्शक नै थियो । यात्रा गर्ने दिन हामी ८ बजे बेलुका त्रिभुवन विमानस्थलमा पुग्यौं । आमासँग आएको समिर आधार घन्टा ढिला पुग्यो । हाम्रो एयर टिकट, पासपोर्ट र भिसा लिएर पुनम चेक इनको लागि गइन् । तर, हाम्रो चेक इन भएन । हाम्रो हवाई टिकट फ्रि अन कस्ट थियो । ‘बोनाफाइड’ पेसेन्जर नपुगेको खण्डमा मात्र हामी उड्न पाउने भयौं । हामीले आधा घण्टा प्रतीक्षा गर्नुप-यो । त्यस उडानमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटा पनि जाँदै हुनुहुन्थ्यो । उहाँ सांग्रिला क्लासमा हुनुहुन्थ्यो । उडानभरि उहाँसँग परिचय हुन सकेन । ओर्लिने बेलामा उहाँले मेरी श्रीमतीलाई सोधिभयो, ‘कहाँबाट आएकी?’

उनले भनिन्, ‘काठमाडौंबाट।’

ओर्लेपछि छोरी पुनमले भनिन्, ‘उहाँ पर्यटन सचिव हुनुुहुुन्छ ।’ उहाँ अति विशेष बाटो भएर जानुभयो । कुराकानी त के उहाँसँग परिचय पनि हुन सकेन । हामी दुबई एयरपोर्टमा ओर्लेर ट्याक्सी लिएर सोझै ज्वाइँ बसेको अपार्टमेन्टमा पुग्यौं । त्यो अपार्टमेन्ट नेपाल वायुसेवा निगममा कार्यरत लेखा अधिकृत नरेश यादवको रहेछ । हामी केही घण्टा मात्र सुत्न पायौं । भोलिपल्ट फ्रेस भएर खाना खाएपछि दुबई घुम्ने कार्यक्रम थियो । त्यसअनुसार हामीलाई लिन जगनारायण मण्डलज्यूले बडेमानको ताप नियन्त्रित कार लिएर आउनुभयो । दुबईको गर्मी र तातो हावाको ताप, पहिलोपल्ट महसुस गरियो । कारमा बसेपछि  शीतल । जगनारायण मण्डलज्यूले दुबईको दुःख सुनाउन थाल्नुभयो । उहाँका अनुसार २० वर्षपहिला दुबईमा बालुवा नै बालुवा थियो । तातो हावाको तापमा बालुवा तातेर आगोभन्दा कम पोल्दैनथ्यो । दुबई विकसित भएपछि अहिले त्यो अवस्था छैन । केही समयपछि त उहाँले दुबईको गुनगान गर्न थाल्नुभयो । दुबईमा आफ्नो अतित जीवनको आहत गर्ने अनुभव बिर्सेर । आज पाँच लाइनको हाइवेमा यस्तो आरामदायक कार चलाउँदा अति आनन्दित हुनुहुन्थ्यो, उहाँ । केहीबेर नास्टजेलिक भएर नानाथरिको तातो र न्यानो जीवनको अनुभव सुनाउँदै गाडी तीव्र गतिमा चलाउँदै हुनुहुन्थ्यो । उहाँ भन्दै हुनुहुन्थ्यो– नेपालमा गएर के गर्ने ? यहाँ बेतोडको गर्मी छ  । यहाँ कलकारखानामा काम गर्ने कामदारहरूलाई दिउँसो १२ बजेदेखि ३ बजेसम्म आराम गर्न समय छुट्याइन्छ  किनभने बर्दास्तभन्दा बढी गर्मी हुन्छ, यस समयमा । काम गर्ने कोठामा एसी जडान गरिएको हुन्छ।

उहाँ सिराहाको मिर्चैयाका वासिन्दा हुनुहुन्छ । आफ्नो कामप्रति समर्पित भएर नै उहाँसँग यस्तो लक्जरियस कार छ । अपार्टमेन्ट छ । तर, देशको पनि उत्तिकै याद आउँछ । उहाँ भन्नुहुन्छ– आफ्नो देशमा गएर के गर्ने ? यस्तो सुविधा भोग्नका लागि अर्को जुनी लिनुपर्ने हुन्छ।

यात्राका क्रममा उहाँले दुबईको ट्राफिक नियमबारे पनि भन्नुभयो । यहाँका सबै ठाउँमा सिसी टिभी क्यामेरा राखिएको र अलिकति गल्ती ग¥यो भने गाडीको नम्बर थाहा हुने र दुई हजार जरिवाना तिराउने बताउनुभयो।

उहाँले हामीलाई ल्याण्डमार्क रेष्टुराँमा लैजानुभयो । त्यहाँ तराई–मधेसका मानिसहरूको जमघट थियो । सबैको दिलमा देश दुख्छ । तर पनि यहाँको सुखसुविधाबाट वञ्चित भएर स्वदेश फर्कने चाहना छैन । उहाँ स्वयं दुई वर्ष साउदीमा काम गरिसकेको अनुभव सुनाउनुहुन्छ । दुबईमा आएर उहाँ सन्तुष्ट नै हुनुहुन्छ । तर, दुवईमा काम गर्नेहरूसँग धेरै कर असुल गरिने उहाँको दुखेसो छ । यसले गर्दा बचत कम हुने तर सुखसुविधा भने पाइने उहाँ बताउनुहुन्छ । दुवईमा भाइबर, मेसेन्जर र फेसबुक चलाउन मिल्दैन । पर्यटकहरू सिमकार्ड किनेर परिवार र साथीहरूसँग कुराकानी गर्न पाउँछन् । यसरी हेर्दा यहाँ सञ्चारको सम्प्रेषणमा बन्देज लगाइएको पाइन्छ।

जमघटमा मेडिकल डाक्टर डा. रविन्द्र यादवसँग पनि भेट भयो । उहाँ पनि सिरहाकै हुनुहुँदो रहेछ।    

उहाँहरूले मलाई र नेपाल वायुसेवा निगममा कार्यरत लेखा अधिकृत नरेश यादवलाई सम्मानित गर्ने कार्यक्रम पनि राख्नुभएको थियो । नरेश यादवले दुई वर्षे कार्यकाल सकेर नेपाल फर्कदै हुनुहुन्थ्यो । त्यसैले उहाँको बिदाइ समारोह र मेरो स्वागतमा कार्यक्रम आयोजना गरिएको रहेछ । हामी दुवै जनालाई रुफेद रंगका चादर र बुर्ज खलिफाको प्रतिमूर्तिको उपहार गरिएको थियो । त्यसबेला हामी दुवै जना भावविभोर भएका थियौं । हाम्रो गला अवरुद्ध भएको थियो । हामी दुवैजना पर्यटक जस्तो नै भएर गएका थियौं । उहाँचाहिँ दुई वर्षका लागि र म एक साताको लागि । कार्यक्रम सकेपछि हामीले दहीवाडा खायौं।

त्यहाँ कार्यरत सबै वेटरहरू हिन्दी भाषा बोल्थे । दुबईका सबै क्षेत्रमा भारतीयहरूको वर्चस्व देखिन्छ । होटल, रेस्टुराँ, पसलहरूमा कार्यरत कर्मचारीहरू हिन्दी भाषा बोल्छन् । तर, हिन्दी बोल्नुभन्दा अंग्रेजी भाषा बोल्नेहरूप्रति उनीहरूको व्यवहार साह्रै राम्रो र रमाइलो हुने गर्छ । कार्यक्रम सकेपछि हामीहरू मदन यादवज्यूको कारमा बस्यौं । मण्डलज्यूको कारभन्दा पनि यो आरामदायी लाग्यो । बेलुका भइसकेकाले अलि शीतल अनुभूति गर्दै हामी आफ्नो अपार्टमेन्टमा फर्कियौं । हाम्रो अमार्टमेन्ट रेजिडेन्सियल एरियामा थियो । त्यसैले पनि होला बेलुका शितल अनुभव भएको थियो । अपार्टमेन्टको वरपर डिपार्टमेन्टर स्टोरहरू थिए । हामी त्यहाँस्थित शाक्लान डिपार्टमेन्टल स्टोरमा किनमेलका लागि पस्यौं । त्यहाँ तरकारीदेखि दैनन्दिन जीवनमा प्रयुक्त हुने प्रसाधनहरूका सबै सामानहरू पाइने रहेछ । देश विदेशका मानिसहरू किनमेल गर्न व्यस्त देखिन्थे । यहाँसँगै बुस्टान रेजिडेन्स (आवास गृह)का भव्य भवनहरू झिलिमिलि देखिन्थे । हाम्रो अपार्टमेन्टको भुइँतलामा डेली मिनी मार्ट छ, जसले अपार्टमेन्टमा बस्नेहरूका लागि अति आवश्यक सामग्रीहरू उपलब्ध गराउँछ । यहाँ खुला ठाउँमा पार्क गरेका कारहरूमाथि बालुवा जमेको देखिन्छ । तातो हावा चल्दा बालुवा उड्दो रहेछ।

हाम्रो अपार्टमेन्टसँगै अल नाहदा मेट्रो स्टेसन थियो । त्यसकारण हामीलाई यातायातको समस्या भएन।

यातायातका लागि मेट्रो स्टेसन प्रयोग गर्नुबाहेक कुनै विकल्प थिएन । मेट्रो सस्तो, छिटोछरितो र समय समयमा उपलब्ध हुन्थ्यो।

दुबई एयरपोर्टमा ओर्लिनासाथ एउटा बोर्डमा हाम्रो ध्यान गयो, जसमा लेखिएको थियो– विअवेर अफ ट्याक्सी ट्वोट । यसले ट्याक्सी चालकले यात्रुहरूलाई ठगी गर्दा रहेछन् भन्ने हामीले थाहा पाइसकेका थियौं । तसर्थ हामीले ट्याक्सीको प्रयोग न्यून मात्रामा गर्ने गथ्र्याैं । तर, पब्लिक बस पनि उपलब्ध भएकोले हामीले शीत ताप नियन्त्रित र आरामदायी बस यात्रा पनि ग-यौं।

भोलिपल्ट अर्थात साउन ७ गते हामीले एक्कासी संयुक्त अरव इमिरेट्सको राजधानी आबुधावी जाने कार्यक्रम बनायौं । गाउँले प्रज्ज्वल श्रेष्ठसँग टेलिफोन सम्पर्क गरेपछि उनले आफ्नो बिदा रहेकाले घुम्न आउन आग्रह गरे । र, सहर घुमाउने बताए । ‘अन्धोले आँखा पाएजस्तो’ आत्मीयताको अनुभूति भयो । उनी नेपाल वायुसेवा निगमका पूर्व कर्मचारी र अहिले इतिहाद एयरलाइन्समा कार्यरत एउटा बरिष्ठ अधिकृत हुन् । भोलिपल्ट बिहानै चिया चमेना खाएर हामी आबूधावी जानका लागि तयार भएर बस स्टेसनमा पुग्यौं । हाम्रो पाँच जनाको समूह थियो । दुवईबाट बिहान ८ बजे बसमा बस्दा नौलो ठाउँ भ्रमण गर्ने रहर झन् बढ्यो । बसबाट शुष्क र नीरस तथा वंजर भूमिमा सडकको दुवै छेउमा स–साना बिरुवा र बुट्यानको बहार हेर्दै बसको यात्रा सुरु भयो । एसी सुविधा र निर्धारित सिट अनुसार नै यात्रु भएकाले हामीलाई कुनै असुविधा भएन । ठीक १० बजे हामी आबूधावी बस स्टेसनमा पुग्यौं । प्रज्ज्वलले आफू १५ मिनेटमा आइपुग्ने भएकाले प्रतीक्षा गर्न आग्रह गरे । बस स्टेसन पनि शीत ताप नियन्त्रित । प्रतीक्षामा पनि मज्जा र नाति समीरले कोल्ड ड्रिंक र पोटेटो चिप्स किनेर ल्यायो । १५ मिनेटपछि प्रज्ज्वलज्यू आउनुभयो । र, हामीलाई कारमा राखेर अपार्टमेन्टमा लैजानुभयो।

उहाँले परिवारसित परिचय गराउनुभयो । र, हामीलाई फ्रुट जुससहित स्वागत गर्नुभयो । त्यसपछि सपरिवार हामीलाई घुमाउनका लागि तम्तयार भए । उनको अपार्टमेन्ट समुुन्द्रको किनारमा थियो । त्यो ठाउँ निकै सुन्दर थियो । मरुस्थलमा काठैकाठको ठूला भवन थियो । यसले काष्ठमण्डपको सम्झना गरायो।

जुन २०७२ वैशाख १२ गतेको भूकम्पले धरासायी भयो । अहिलेसम्म त्यसको पुनर्निर्माण भएको छैन।  

त्यहाँ काठैकाठको भवन मात्र होइन, गाडी पार्क गर्ने ठाउँ पनि काठकै बनाएको रहेछ । त्यसको भुँइतलामा र त्यसमाथि अपार्टमेन्टहरू निर्माण गरिएका छन् । हामीसँग पर्याप्त स्रोतसाधन उपलब्ध भए पनि हामी कति निरिह, परनिर्भर र अर्काको मुख ताकेर बस्ने विवसता छ जबकी त्यहाँ बालुवा नै बालुवाका बुर्ज ठाउँमा आकाश चुम्ने अट्टालिका आफ्नो अहंकार प्रदर्शन गरिराखेका छन् । हाम्रो शीर ननिहुरिने कुरै भएन । प्रज्ज्वलले हामीलाई त्यहाँ भर्खरै निर्मित कला संग्रहालय देखाउन लैजानुभयो । त्यस कला संग्राहलयको परिसरमा कलात्मक रुखहरू थिए । यो सबै कृत्रिम र विदेशबाट आयातित गरिएका थिए, ती वास्तविक खजुरको रुखजस्ता देखिन्थे।

प्रकाशित: १ मंसिर २०७५ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App