४ वैशाख २०८१ मंगलबार
अन्य

तीज संस्कृति कि विकृति

तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ । पहिले–पहिले तीजमा दुःख वेदनालाई लिएर सासु बुहारीको बारेमा दुःखका गीत गाउने परम्परा थियो ।

पहिलेका तीज गीतहरु 

पहिलेका तीजका गीतमा दुःख वेदनाका भाव झल्कन्थे । तीजको ‘रहर आयो बरिलै’ जुन गीत आज पनि सुनिने गर्छ । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दाभन्दै तीज गएको जस्ता कुराहरु मिसाएर गीतका शैली हालेर गाउने गर्थे, यससँग सान्दर्भिक गीत ‘वर्ष दिनको तीजमा बाबा लिन नआउँदा आँगनमा बसेर रोए धुरुरु ।’

त्यो बेलाका गीतहरु धुरु धुरु रुने, रुवाउने शैलीमा गाइएका हुन्थे ।  पहिला–पहिला माइतीको आँगनीमा नाच बरिलै, तीजको रहर आयो बरिलै जस्ता भावना भएका गीतहरु गाउने गर्थे । पहिले–पहिले रेडियो टेलिभिजनले पनि यस्तै गीतहरु बजाउने गर्दथे । गायकले भन्दा पनि बढी गायिकाले भाका हालेर तीजका गीत गाएको सुन्न पाइन्थ्यो । त्यो समयमा हरिदेवी कोइराला, बिमाकुमारी दूरा, देवी घर्तीले गाएका देउरानी जेठानी गीत निकै चलेको गीत हो । लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलगायतका गीतहरु रेडियोमा खुब बच्थे र यसैका भाकाहरु रेडियोमा घन्किने गर्थे । जुन छोरी चेलीबेटीका दुःख वेदनाका गीत हुन्थे । 

जस्तैः  

‘शिरैको शिरफूल बन्धकी राखेर
जाउ स्वामी शिक्षा लिन काशि बरिलै’

यो गीतले आफ्नो शिरफूल बन्दकी राखेर भए पनि आफ्ना श्रीमानलाई काशी पढ्न पठाउने कुरा एउटी नारीले गरेकी छन् । सासु ससुरालाई तीजकै भाकामा सबै कुरा भन्ने गरेका थिए । वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालका अनुसार अहिले तीजका गीतमा व्यापक परिवर्तन आए पनि यसलाई नकार्न नमिल्ले बताउँछन् । समयअनुसार हरेक चीज परिवर्तन हुँदै आएका हुन् । यसलाई विकृति भन्न नमिल्ने डाक्टर बरालको भनाइ छ । 

अहिलेका तीज गीत

अहिले आएर गीतलाई नयाँ ढंगबाट तीजका गीतहरु बजारमा ल्याउन  थालिएको छ । अहिले गीतमा व्यापक रुपमा परिवर्तन आएको छ । अझ भनुँ भने तीजका गीतलाई फेसनका रुपमा लिन थालिएको छ । तीज भन्ने बित्तिक्कै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने भन्ने परम्परा बिस्तारै हराउँदै गएको देख्न सकिन्छ । रातो सारीलाई नि फेसन कै रूपमा लिएको पाइन्छ । रातो सारी धेरैले नलगाऊन् भन्न छोडेको होइन । लाउन त लाउँछन् तर पहिलाको जस्तो गीतमा कमै मात्रामा पाइन्छ । अहिलेका तीज गीतका शब्दहरुमा अश्लीलताले डेरा जमाउन थालेको छ। 

हट नायिकाको रुपमा आफूलाई चिनाएकी ज्योति मगरले तीजका बेला होस् या अरूबेला उनको माग बढिरहेको छ । उनले यसपाली तीजमा मात्रै २ दर्जन भन्दा बढी गीत गाइसकेकी छन् । उनले यत्तिकै मात्रामा अभिनय गरेकी छन् । ज्योतिले सधैँ उच्छिृङ्खल खालका गीत गाउने गरेकी छन् । उनलाई गाउन लगाउने गायक गायिकाले यस्तै खाले गीत गाउन अफर गर्ने गरेका छन् । उनले गाउने तीजका गीतमा अरूको भन्दा शैली नै बेग्लै हुने गरेका छन् । दुःख वेदनाका कुरा हँुदैनन् । हालै बजारमा आएको उनले गाएको तीज गीत ‘यसपालिको तीजमा दरको साटो रक्सी खाइन्छ’ ले सन्देश भन्दा पनि विकृति फैलाउने गरेको छ । महिलाहरुले तीजमा दुःख वेदनाको गीत होइन व्रत बस्नुको सट्टा रक्सी खाने र रमाइलो गर्ने भन्ने सन्देश प्रवाह गरेको छ ।   

परार साल गायिका कोमल ओलीले ‘पोइला जान पाम शिव पोइला जान पाम’ बोलको गीत बजारमा ल्याएकी थिइन् । जुन  तीजका बेला वा पार्टीमा होस् अथवा डान्सबार दोहोरीसाँझ सबै तिर घन्कियो । सञ्चारमाध्यमले राम्रै स्थान दिए । त्यसैको सिको गर्दै अरु कलाकारले यस्तै रत्यौली खाले गीत बजारमा ल्याए । त्यो गीतले चर्चा पाएपछि कोमलले त्यस्तै उच्छिृङ्खलको अर्को गीत बजारमा ल्याइन् जुन गीतले सबैतिर फेरि चर्चा पायो । ‘लास्टै चोटी हो’ बोलको गीत बजारमा ल्याइन् । यसले उनलाई थप चर्चामा पु-यायो । त्यसपछि ‘चाहिँदैन पोइ’ लिएर बजारमा आइन् । उनको चर्चा र आलोचना गर्ने कमी भएन बजारमा । व्यापक आलोचना खेपेकी कोमलले यसपालिको तीजमा नरम खालका गीत सार्वजनिक गरेकी छन् । यसपटक भने पुरानै धारमा पर्किएकी छन् । उनले सबैदाई सन्देश दिने गीत बजारमा ल्याइन् । ‘आउ दिदी बैनी हो नाचाैं छमछमी’ भन्ने सन्देशमूलक गीत बजारमा लिएर आएकी छन् ।  

लोक गायिका श्रीदेवी देवकोटाले  पोहोर साल तीजको गीत नै  ‘ढाडे बिरालो’ नामक बजारमा लिएर आएकी थिइन् । जुन गीतले चर्चा मात्रै पाएन आलोचना पनि पायो । जुन गीतमा सन्देशभन्दा पनि छिमेकीलाई इंकित गरेर लुकिलुकि अर्काको घरमा आउने भन्ने गीतमार्फत भन्न खोजिएको छ । 

त्यस्तै  शंखर चालिसेको तीज गीत ‘कट्टुमा बुट्टा’ भन्ने बोलको रहेको छ ।  यस गीतले न नारीको भावना बोलेको पाइन्छ न दुःख वेदना । यस गीतले केवल नारीलाई नै उडाएको छ ।  यस्ता गीतले तीजको महत्वलाई घटाउने काम गरेको देखिन्छ । 

पार्टी प्यालेसमा तीज 

तीजका बेला नेपाली नारीले माइतीको घरमाभन्दा पनि पार्टी प्यालेस, रेस्टुरेन्ट, दोहोरीसाँझमा अनावश्यक खर्च तडकभडक, धनदौलतको प्रदर्शन गर्न थालेका छन् । विगत केही वर्षदेखि यस्ता ठाउँ रोज्ने गरेका छन् । तीजका गीतमा संस्कृतिभन्दा पनि छाडापन मौलाएको छ ।  यसकै असरले तीजका मौलिक गीतहरु बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । एक/दुई दिन मनाउने तीजलाई १५ दिनअगावैदेखि दर खाने चलन बढिरहेको छ । यसले परम्पराभन्दा पनि ‘रुढीवाद’लाई प्रश्रय दिने, पौराणिक महत्वलाई कुल्चेर आधुनिकताको नाममा देखावटी संस्कृतिलाई मलजल गर्न थालेको जस्ता कुरासमेत समाजमा सुनिन थालेको छ । यसले एक किसिमको बहसको ढोका खोलिदिएको छ ।

विवाह गरेर गएकी चेली माइती घर आउने, आफ्ना पीर व्यथा पोख्ने तथा मिठोमसिनो खाने चाडका रुपमा उनीहरुले तीजलाई लिएका छन् ।

वर्षभरि नाक मुख नदेखाउने नाम नै नसुनेका कलाकार पनि सके आफू नांगिएर, नसके शब्दलाई नंगाएर त्यो पनि नसके सिंगो संस्कृतिलाई नंगाएर आफू हिट हुने मेलो बनाएका छन । यस्तै कलाकारहरुको नांगिएको विचारका कारणले अहिले आएर तीज पर्वको परिभाषा नै फेरिएको छ र यसको मौलिकता धरापमा परेको छ ।

प्रकाशित: २६ भाद्र २०७५ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App