११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

सम्झना शृंखला

प्रिय रात

कस्तो बिसंगत छ जीवन ।
यो रात को सन्नाटाभरि घुलेको छ दोर्दीको सुसाइ । लाग्थ्यो यो एक 
मीठो धुन हो जो मस्तिष्कका रेशारेशा शीतल पारिदिन्छ । 
हैन रैछ । यो त मन बिथोल्ने एकनासे मौन कोलाहल भएको छ । मीठो सपनाबाट ब्यँुझँदाको रित्तोपनालेझैँ घेरिदिने यो आवाज खल्लो छ । जस्तो कि प्रिय मान्छेलाई पर्खँदापर्खँदाको पट्यारलाग्दो बेस्वादिलो समय, त्यस्तै केही हो यो सुसाइ ।  

कस्तो बिसंगत छ सोचाइ । 
तर लाग्छ सोचाइ र जीवन उस्तै त छ आजकल । संगति, असंगति अनि फेरि असंगति र संगतिहरुकै जोड घटाउ । 

लमजुङ, ढोडेनी ६, सरानचोकमा ढिलो चाल मार्दै छ समय । रात गाढा बन्दै छ । दोर्दीको कोलाहालसँगै मिसिएझैँ लाग्छ धेरैको मनको वेदना । जीवन सजिलो कहाँ छ र ? पढ्न मन भएर पनि पढ्न नपाएकी किशोरीको पीडा सुन्दैछु । मन खोल्दा खोल्दै झरेका थिए उनका आँसुका दानाहरु । गरिबीले गाँजेको छ उसको समय । अब आफ्नो हैन भाइको पढाइका लागि बोक्नु छ उही दोर्दीको ढुंगा । बस कैद भएका छन् किशोरी चाहना डोको, खोला र ढुंगाको एक सीमित क्यान्भासमा । दोर्दीको सुसाइ केबल एक अन्तर्हीन भारी हो उसका लागि । 

युवा महत्वाकांक्षाले तय गरिदिन्छ खाडी यात्रा, बेहोर्छन् अरबको तातो कहर र पार्सल भई देश भित्रिन्छन् कतिपय । यस्तै यस्तै छ सपनाले पु-याएको दुनियाँका कुरा । कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन । 

रातको अन्धकारमा छेलिएर सुटुक्कै पसिभ्याउँछन् देवदूतहरु गाउँ कुना कन्दरामा आजकल । उनीहरु गरिबका दुःख हरणकर्ता र रोगीको रोग निको पार्ने अचुक ओखती भएका छन् । गरिबी र रोगको अचेटाइबाट खुकुलिन उतैतिर मन डुलाउनेहरु छन् धेरै यस गाउँमा पनि । भोकभन्दा ठूलो सत्य के छ र जीवनमा ? पेटभरि खान पाउनु अनि आरामले ईश्वरको महिमा गाउनु । क्या आनन्द । एक्लोपन र रोगको मुक्तिको बाटो पनि भएको छ प्रभुको सरण आजकल । एक दलित महिलाले उतैतिर पस्ने मन बनाइसकेकी छ । उनीहरुले प्रार्थना गरिदिएपछि मथ्थर भएको छ रे उसको ज्यानको बिमार । विद्यालयका साना नानीहरुको नामले पनि झस्काइदिन्छ । ढोडेनी पूर्वको गुरुङ गाउँ नौथरको एक विद्यालयमा भुकुल्ले एक गुरुङ फुच्चेले आफ्नो नाम आमेन गुरुङ बताउँछन् ।  अब अमर गुरुङहरु आमेन गुरुङ भइरहेका छन् । 

दोर्दी सुसाएकै होला । महानगरको धुलौटे आकाशमा फैलिएको रातको साम्राज्यलाई नियाल्दै छु । सम्झनामा जोडिन आइरहेका छन् अनेक पात्र र उनीहरुका पीडा । सम्झना झन्झन् गाढा हुँदो छ । किन यति विघ्न सताउँछ होला सम्झनाले रातमा ?

प्रिय डबल एस्प्रेसो

लाग्छ सम्झना भन्नु डबल सट एस्प्रेसो जस्तै हो । क...डा । ट्वाक्कै अठ्याउने । मलाला यसुफजाइलाई त्यसैगरी झ्याप्पै अठ्याएथ्यो होला बेनजिर भुट्टोको सम्झनाले । लन्डनमा स्वास्थ्य लाभ गरिरहेको बेला भुट्टो परिवारबाट पाएकी थिइन् बेनजिरले नै ओडेको सल उपहार । सलसँगै अल्झिएको रहेछ बेनजिरको लामो कपाल पनि । सल ओड्दै गर्दा महसुस भएथ्यो उनलाई भुट्टोकै मायालु स्पर्श । वास्तवमा त्यो सलमा अल्झी बसेको कपालले उनलाई झन् बढी भावुक बनाएको थियो । सायद सम्झना यसैगरी अल्झिबस्छ मनभित्र । र फुत्त निस्किन्छ सम्झनाको सोकेसबाट कहिलेकाहीँ । जस्तो कि आज ढोडेनीको सम्झनामा मिसिएकी छ गोरी तामाङ । सम्झँदैछु उनीसँग भएका बातचित । नाम साध्दा भनेकी थिई, गारी तामाङ हतारहतार जोडेकी थिई आफ्नो नामको कथा । 

म जन्मिदा धेरै गोरी थिए रे अनि मेरो नाम गोरी राखेको । 

डेढ वर्ष जतिको बच्चा च्यापेकी यी कलिली आमाको बोली व्यवहारले देखाउँदै थियो असामान्यपन । सरानचोक गाउँबाट डेढ घण्टा ठाडै उक्लेपछि पुगिएको हो थलदुङ । पहाडको टाकुरामा बसेको एक टुक्रा समथर ठाउँ । त्यही निर्जनमा मात्रै एक्लो घर । कसैको बाख्रा फर्मको हेरचाह गरिरहेका छन् सेती र उनका लोग्ने बुद्ध । बुद्ध अलि तलको एउटा विद्यालयमा कार्यालय सहायक रहेछन् । नाक ठोक्किने उकालो छिचोलेर साँझमा घर पस्छन् । पहिला त सजिलै थियो भीर पहरा उक्लिन तर जबदेखि एउटा खुट्टा नचल्ने भयो बैसाखी मात्रै हो सहारा । त्यो पहाडी उकालो ओरालोमा बैसाखीले हिँड्नु, सजिलो छैन । तर जीवन पनि त सजिलो छैन । 

गोरी दम्पतीको सम्झनासँगै त्यहाँ पिएको नुन चिया पनि जोडिएर आउँछ । यात्रामा बरालिइरहेका हामीहरु अकस्मातै उनको आँगनमा पुगेका थियौँ । केही बिस्कुटहरु बेच्न राखेको देखेर चिया सोध्दा लर्बरिएको बोलीमा चिनी छैन भनिन् । नुन भए हुन्छ भन्दै आगो फुक्नुअघि सरे साथीहरु । नुन चिया बनाई खायौँ । उनलाई पनि दियौँ । आफैंले बनाई खाएको नुन चिया र बिस्कुटको पैसा हिसाब गरी उसको हातमा थामाइदिँदा उसले चुपचाप स्वीकारी । किन कि ऊ हिसाब जान्दिन । हामी त ओर्लनु थियो तलकोय गाउँ । उसलाई फेरि त्यही एकान्तमा छाडी ओर्लियौँ । तर छलढाटको लेससम्म नभएको उसको लर्बराउँदो बोली र निस्छल आँखाले मलाई पछ्याइरह्यो ।

सहरका कफी सपहरु चहारिहिँड्दा कहिले काहीँ गोरी र नुन चिया सम्झनामा आइदिन्छ । ऊ पहाडको त्यो निर्जनतामा बाँचिरहेकी छ । धेरै धेरै कुराबाट टाढा । सहरी भाग दौड, महत्वाकांक्षा, र लोभ इष्र्या भन्दा पर । एउटा सरल जीवन । धेरैले बसाइ सरिसकेका छन् ती अप्ठेरा भिराला गाउँबस्तीहरुबाट । तर गोरी र बुद्ध अझै त्यही छन् । थलदुङबाट हरिगाउँ हुँदै सरानचोकमा पुग्दा सुनसान, पातला बस्ती र बाँझै बसेका बारीहरु देखिए । गाउँका प्राथमिक विद्यालयहरुमा जम्मा बीस पच्चिसको संख्यामा छन् विद्यार्थीहरु । गाउँलेहरु त्यहाँको भीरपहरा र असुविधालाई छाडी सहज ठाउँतिर सर्दै छन् । सजिलोबाट पनि झन् बढी सुविधातिर जाउँ भन्छ मन । धेरै युवाहरु अरबतिर गएर अलिअलि पैसा हात लागेपछि परिवारलाई बजारतिरै झार्न थालेका रहेछन् । 

युवा महत्वाकांक्षाले तय गरिदिन्छ खाडी यात्रा, बेहोर्छन् अरबको तातो कहर र पार्सल भई देश भित्रिन्छन् कतिपय । यस्तै यस्तै छ सपनाले पु-याएको दुनियाँका कुरा । कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन । 

म विजेश्वरीको एउटा सानो कफी कर्नरमा छु । ढल्किँदै गरेको साँझको शान्त समय छ क्याफेमा । टेबलमा डबल सट एस्प्रेसो मस्त बाफिँदै छ । भर्खरै स्वयम्भुमा तीनवटा बत्ती बाली आएकी छु । धर्म कर्ममा लगाव छैन तर मन पर्छ बत्तीको उज्यालो । एस्प्रेसोको चुस्कीसँगै तीतो फैलिएको छ जिब्रोमा । कडा तीतो । तर यही तीतोको लती भएको छु । एक सोफेस्टिकेटेड  सोचाइ पनि हुन सक्छ महानगरको कोजी क्याफेमा एस्प्रेसो निल्दै कुना कन्दराका ती पात्रहरुबारे गम्नु ।  तर सोचाइको लगाम कसले कस्न सक्ने ?

सम्झनाको एक उडान बेगिइसकेको छ लमजुङको ढोडेनी र भेटिएका ती अनेकन पात्रहरुतिर ।

प्रिय ज्याकाराण्डा

एक वर्षे पर्खाई सकिएको छ । सहरमा फक्रिएको छ बैजनी मुस्कान । प्रत्येक दिनको सहर यात्रासँगै उही बैजनीपना आँखाभरि लिएर घर पस्छु । वैशाखको आगमन भन्नु मेरा लागि उत्सवमय समय । जीवन एकपटक फेरि रंगिन भइदिन्छ । 

जीवन । टुक्राटाक्री सम्झनाहरुको कोलाज । लाग्छ ती सम्झनाहरु नभए कति रित्तो हुँदो हो मानिस । हाँगाहाँगामा वसन्त मुस्कुराउँदा सम्झनाको अनेकन लस्कर जोडिन पुग्छ टाढाटाढा । त्यो निकै अघिको समय जतिखेर सहरको कलेबर यतिसारो फेरिइसकेको थिएन । हरिया थिए बाटाहरु र कोमल थिए मानिसका मनहरु साथै सही थियो घडीको समय । तर आजकल सहरको समय बिग्रिएको छ । राजधानी, स्मार्ट सहरको स्वैरकल्पनामा धुलोमान्डु र फोहोरमान्डु हुनुको पीडाले विह्वल छ । 

त्यो विश्वविद्यालयकालीन समय थियो । आशा र उमंग छताछुल्ल थियो जीवनमा । होस्टलबाट कलेज, लाइब्रेरी र ती क्यान्टिनतिरको एकनास दौडाइ, बाचाल थियो त्यो समय । नीला फूलहरु बिछाइएको चौरमा बिताएका पलहरु अझै आलै छन् सम्झनामा । तर समयसँगै बिस्तारै टुंगिए ती दौडाइ । लाखापाखा लाग्दै गए साथीहरु । सुरु भयो जीवनको व्यावहारिक पाटो । बिस्तारै–बिस्तारै गायब हुँदै गए मिल्ने साथीहरु । यी नीला फूलहरु उसैगरी फुलिरहेछन् प्रत्येक वर्ष ।  आजकल पनि त्यही सुन्दरताले तानिएर पुग्ने गरेकी छु कीर्तिपुर । 

गुमराह मित्रहरु आजकल सामाजिक सञ्जालहरुमा जोडिँदैछन् । अमेरिका, अस्ट्रेलिया या क्यानडातिर सेटल भएका रहेछन् धेरै । फेसबुकभरि छरिने ती फोटोहरुले थोरै अमिलो पारिदिन्छ मन । पढालेखा लाखांै युवाहरु यसरी बाहिरिएका छन् देशबाट । एउटा तीतो यथार्थ लखेटिबस्छ हामीलाई । ढोडेनीका घरहरु रित्ता छन् ।  काठमाडांैका कतिपय घरहरु पनि रित्ता हुँदै छन् । आजकल सहरका घरहरुमा छोराछोरी हैन सहयोगीहरु हुन्छन् वृद्धवृद्धाको साथमा । घर छ तर परिवार अब छैन । परिवारको मान्यता पनि भत्किने क्रममा छ सहरमा । समय कति चाँडै फेरिएको छ । 

जमलको आकाशे पुलबाट हेर्दै छु रानीपोखरी । विरक्ति निचोरिन्छ भित्र भित्रै ।  एउटा भव्य इतिहास थियो, सहरको सुन्दरता थियो यो पोखरी तर आज गायब भएको छ विगतको चार्म । आजकल हरिया प्लास्टिकले छेकिएर आफ्नै विगततिर घोरिइरहेछ रानीपोखरी । उकुसमुकुसिएको नजरलाई रत्नपार्कतिर हुत्याइदिन्छु । अलिकति राहत हुन्छ । सकसपूर्ण हुलमुल र गाडीहरुका कर्कश आवाज सहँदै पनि वैशाख जेठभरि फुलिदिन्छ, प्रिय ज्याकारान्डा । अनि फेरि बुलन्द हुन्छ सम्झना सेरिज... 

प्रकाशित: ३२ असार २०७५ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App