२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

शीतल सन्दकपुर

लगातारको भुइँकुहिरो र झरीपछि खुलेको कन्याम चियाबारी पृष्ठभूमिमा राखेर टल्केको कञ्चनजंघा हिमाल खिच्न कन्यामको लभडाँडा पुगेका मात्र के थियौं, बिब्ल्याँटेका मित्र गृष्म सुब्बाले फोन गरिहाले, ‘लौ यस्तो गरी उघि्रएका बेला भोलि नै सन्दकपुर जानुपर्छ।'

 हुन त मौसम खुलेको देख्दा उनको आग्रहअघि नै सन्दकपुर जान मन नलागेको होइन। तर, त्यता जाने योजना बनाइहालेको थिइन। छ्यांग खुलेको आकाश हेर्दै गृष्मका कुरा सुन्दा अहिले नै उडेर सन्दकपुर पुगौं लाग्यो। तर, त्यो सम्भव थिएन। अन्तुडाँडा पुगेर भोलिपल्ट झुल्केघाम हेर्ने योजनासमेत हापेर फनक्क सदरमुकाम फर्कियौं। र, लाग्यौं सन्दकपुर जाँदा बाटामा चाहिने घिउमा भुटेको अदुवा, भुटेको मकै र सातु लगायत जोरजाम गर्न। सन्दकपुरको चिसो काट्न कात्तिककै दिनमा बाक्ला ज्याकेट, टोपी र जुत्ता बोक्न छुटाउनु हुँदैन।

नेपालतिरको सडक निकै विकट छ, त्यसमा पनि आफ्नै देशको सन्दकपुर डाँडो पुग्न ३ किलोमिटर भारतीय भूमि नै प्रयोग गर्नुपर्ने बाध्यता छ। नेपालतिर सडक र होटल राम्रो प्रबन्ध नहुँदा सन्दकपुरबाट भारतले चाहिँ निकै फाइदा लिइरहेको छ।

 भोलिपल्ट पनि नीलो आकाशमुनि सन्दकपुर मुस्कायो। नजिकै जौबारी र छिन्टापुले लोभ्यायो। माबुथाम डाँडोले निम्तो दियो। इलाम सदरमुकामबाट बिब्ल्याँटे बजार पुग्दा दाइ लोकनाथ सुवेदीसहित, गृष्म, नवीन अधिकारी र दिवाकर भण्डारीलगायत तयार भइसकेछन्। जिल्लाको पर्यटन विकासमा ज्यादै चासो राख्ने दाइ लोकनाथ, यातायात तथा पर्यटन व्यवसायी गृष्म, नवीन अनि पर्यटकीय क्षेत्रको प्रचार गर्न रेडियोमा लय मिलाइ–मिलाइ शब्द केलाउने सञ्चारकर्मी दिवाकर भएपछि यात्रा रोमाञ्चक हुने नै भयो। अनि, हामीसँगै सन्दकपुरको यात्रामा जाने तयारीसहित भेला भइसकेका थिए– इलाम उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष सुशीला सापकोटा, सदस्य दिव्या भट्टराईसहित जिल्लाका २० भन्दा बढी महिला उद्यमी।

 दोस्रो विश्वयुद्धताका उच्च पहाडी क्षेत्रमा प्रयोग भएका ल्यान्डरोभर चढेर सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई) पहाड पुग्न हामीलाई शंका थिएन। वर्षामा सन्दकपुर पुग्न कुनै गाडीको तागत पुग्दैन तर हिउँदमा सन्दकपुरमात्र होइन, जिल्लाका दर्जनौं विकट गाउँ पुग्ने सवारी ल्यान्डरोभर मात्रै हुन्छन्। कच्ची सडकका उबडखावड पनि उत्ति वास्ता नगर्नेखालका ३ ल्यान्डरोभरले हामीलाई सन्दकपुर चढाउन भर दिने भए।

 बिब्ल्याँटेबाट करिब १ किलोमिटरमै कच्ची सडक सुरु भइहाल्यो। तर, भर्खरै थप ३ किमीजति ग्राभेल गरेकाले सजिलो छ। अनि, सुरु भयो हिलो र खाल्डाखुल्डीभित्र गाडीको ट्र्याक खोज्नुपर्ने सडक। तैपनि, सन्दकपुर जान रमाइरहेका महिला मित्रहरूको लोकदोहोरीले थाहै नपाइ माबुको तीनकुने पुर्‍याइहाल्यो। यहाँबाट करिब २ किलोमिटरमा टोड्के झरना पुगिन्छ। मेची अञ्चलकै अग्लो (२ सय ८८ फिट) टोड्के भरना खानाभन्दा अघिकै मेन्युमा पर्‍यो।

 माइमझुवा गाविसमा पर्ने टोड्के झरनामा छङछङ बगेको कञ्चन पानी पारिपट्टिबाट हेर्दा चित्त नबुझेर १ किलोमिटर ओरालो झर्‍यौं। सप्तरंगी इन्द्रेणी परिरहने झरनाको फेद पुग्नुअघि नै पानीको फोहोराले कपाल फुलाउँथ्यो। फोटो खिच्दा क्यामेराको लेन्स जोगाउनुपर्थ्याे। तर, झरनाको सौन्दर्यले सबै भोक–तिर्खा मेटाएको अनुभूत हुने। साथीहरूले झरनासँग दर्जनौं सेल्फी खिचे। ‘काठमाडौंमा बसेर फोटो हेर्दा मलाई टोड्के झरना यति सुन्दर छ भन्ने कहाँ थियो र!' लोकनाथ दाइ भन्दै थिए, ‘यसको सौन्दर्य हेरेर नअघाइने रहेछ।' उनले झरना पुग्न अलि सहज सडक बनाउनुपर्ने र आसपासमा कसैले चिया–नास्ता पसल खोल्न सके राम्रो आम्दानी गर्ने ठम्याए।

 तीनकुनेका तारा गुरुङको रञ्जन होटलमा पहाडे चामलको भारत, लोकल कुखुराको मासु, दही, अकबरे हालेको गुन्द्रुकको अचारलगायत खाएर उकालो लाग्यौं। दोबाटे पुग्दा साङ्गे–मिङ्मालमु शेर्पाले टिमुरको अचारसँग हलक्क बढेका मुलाका चाना र अर्ग्यानिक चिया टक््रयाए। लेकाली क्षेत्र घुम्न आउने पर्यटकका लागि होमस्टे चलाएका उनीहरूको घर नै सुन्दर र पर्यटकीय रहेछ। हुन त नजिकै भारत दार्जिलिङको सिको गर्दै घर चिरिच्याट्ट सजाएर पाहुना पल्काउने इलामे उनीहरूमात्रै कहाँ हुन् र! मुला, आलु, बन्दालगायत तरकारी खेतीमा पसिना बगाइरहने शेर्पा दम्पतीले पाहुना सुत्ने कोठा पनि उत्तिकै सुग्घर राख्न भ्याएको देखेर दंग पर्‍यौं।

 ३ हजार १ सय मिटरको भारतीय सीमा कालपोखरी पुग्दा घाम तल, हामी माथि थियौं। सन्दकपुर नजिकै आइसकेको थियो। पेम्बा शेर्पाको घरमा भारत कोलकाताबाट घुम्न आएकी ९३ वर्षीया रेनु बासुले वृद्धावस्थामा पनि टाढाका पर्यटकीय क्षेत्र घुम्न रहर लाग्ने वृद्धाको उदाहरण दिइन्। चिया पिएर उकालो लाग्यौं। हाम्रो त्यस दिनको बास सन्दकपुर नभएर ३ किमी तल चौंरी चोकमा थियो। चौंरी चोक पुग्नेबित्तिकै दाबाफुटी शेर्पाले स्वागत् गरिन्। होमस्टेका लागि भर्खरै तयार भएको घरका सफा कोठामा पुर्‍याइन्।

 ‘चिनफिङ छ? 'गृष्मले जडीबुटीबाट बनेको पूर्वपरिचित लोकल रक्सी सोधे। ‘छैन होला, खोकिन लिनु न,' दाबाफुटीले पर्यटकले अलि बढी मन पराउने त्यस्तै लोकलतिर संकेत गरिन्, ‘कि गुराँस, टिमुरको चाख्नुहुन्छ?'

 उसिनेको आलु र लोकल कुखुराको मासुसँग पाहुनाले चाहेअनुसार लोकल ब्रान्ड लिए। अनि, तातिहाल्यो साँझ। जिल्लाको पर्यटन पूर्वाधार विकासका लागि कसले के गर्न सक्छ, आफूले के गर्न सकिन्छ, अहिलेसम्म के–के गरियोलगायत विषयमा सबैले धारणा सुनाउनुपर्ने। लोकलमा नझुम्ने ठूलो जमातले त साँच्चीकै सम्झे होलान्, अरूले त आधा बलेको मैनबत्तीको ‘माइक्रोफोन'मा बोलेको, भोलिपल्टसम्म के सम्भि्कन्थ्यो! ‘जो होस्, आजको साँझ झकास रमाइलो भो,' लोकलबाट टाढै बसेका अग्रज दिदी निर्मला सञ्जेल र मित्र नवीन पनि खुब रौसिए।

 बिहान ४ नबज्दै लोकनाथ दाइले ब्युँझाए, ‘लौ घाम झुल्किसक्यो सुतिरहने?' सन्दकपुरबाट मनोरम हिमालमात्र होइन, सूर्याेदयको दृश्य पनि चित्ताकर्षक देखिन्छ। जर्‍याकजुरुक उठेर तातो पानी पिएपछि सबैजना गाडी चढ्यौं। सन्दकपुर डाँडामा पुग्दा केही आगन्तुक अघि नै भेला भइसकेका रहेछन्। केहीबेरमा सूर्याेदय नियाल्नेहरूले सन्दकपुर डाँडै भरियो। चिसोले कठ्यांग्रिँदै फोटो खिच्ने, खिचाउने निकै थिए। केहीबेरमा घाम झुल्किँदा उत्तरमा सगरमाथा पहेंलपुर देखियो। तेस्रो शिखर कञ्चनजंघा, अन्नपूर्णलगायत, नेपाल, भारत र भुटानका दर्जनौं हिमशृंखला सुनझैं टल्किए। पहाडकी रानी दार्जिलिङ, इलाम बजार, छिन्टापु, जौबारी, माबुथाम, भोजपुर, पाँचथर, ताप्लेजुङको प्रसिद्ध पाथीभरालगायत छेवैमा देखिए। सयौं किमी टाढासम्मका हिमाल र पहाडका पत्र–पत्र देखिए। तराई र समथर फाँटलाई पनि टाढा नियालिरहनुपरेन। 

 इलामकै अग्लो डाँडो सन्दकपुर जैविक विविधता, हिमाल र सूर्याेदय अवलोकनका लागि चर्चित छ। यहाँबाट ३ देशका ३६ भन्दा बढी हिमाल छर्लङ्ग देखिन्छन्। बाह्रैमास सयौं आन्तरिक र बाह्य पर्यटकले खचाखच रहने सन्दकपुर भारतीय सीमामा पर्छ। तर, यहाँको सबैभन्दा अग्लो र मुख्य डाँडो चाहिँ नेपालतिरै पर्छ।

 भारतबाट सर्वाेच्च शिखर सगरमाथा देखिने नेपालसँग जोडिएको एउटै मात्र विन्दु सन्दकपुर नै भएकाले भारतीयहरू यहाँ बढी आउँछन्। यही आधार उपयोग गरेर भारतले देशभर र तेस्रो मुलुकका हजारौं पर्यटक आकर्षित गरिरहेको छ। भारतको बाटो भएर अमेरिका, बेलायत, जर्मनी, अस्टे्रेलियालगायत देशका पर्यटकमात्र होइन, ती देशका विशिष्ट व्यक्ति र राजनीतिक दलका नेतासमेत यहाँ बारम्बार आउँछन्। नजिकै माई भगवतीको शिर भएकाले यहाँ दर्शनार्थीको घुइँचो लाग्छ। असोजदेखि मंसिर र चैत–बैशाख यहाँ घुम्ने सिजन हो। मंसिरदेखि फागुनसम्म हिउँको सौन्दर्यले सन्दकपुरलाई आकर्षित गर्छ।

 नेपालतिरबाट मात्र होइन, भारततिरबाट यहाँ पुग्न सहज सडक छैन। तर, दुवैतर्फबाट ल्यान्डरोभर गाडी पर्यटक बोकेर यहाँ पुग्छन्। नेपालतिरको सडक निकै विकट छ, त्यसमा पनि आफ्नै देशको सन्दकपुर डाँडो पुग्न ३ किलोमिटर भारतीय भूमि नै प्रयोग गर्नुपर्ने बाध्यता छ। नेपालतिर सडक र होटलको राम्रो प्रबन्ध नहुँदा सन्दकपुरबाट भारतले चाहिँ निकै फाइदा लिइरहेको छ।

 सन्दकपुरको भारतपट्टिको भूमिमा भने दर्जनभन्दा बढी होटल छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को क्याम्पसमेत छ। भारतीय पर्यटन व्यवसायी आधा शताब्दी पुराना ल्यान्डरोभरमा यहाँसम्म पर्यटक ल्याउँछन्। उताबाट पदमार्ग उपयोग गरेर पनि तेस्रो मुलुकका पर्यटक धुइरिन्छन्। नेपालमा कानुनले बन्देज गरेका २० वर्ष पुराना ल्यान्डरोभरलाई भारतले भने प्रोत्साहनसहित संरक्षणसूचीमा राखेर ‘एड्भेन्चर टुरिज्म'का लागि प्रयोग गरिरहेको छ।

सन्दकपुरमा सुरक्षा इकाई राख्नु पर्ने आवाज बेला बेलामा उठ्छ। इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो भन्छन्, 'नढाँटी भन्नुपर्दा प्रहरी चौकी या सशस्त्र प्रहरी राख्नेबारे केही काम हुन नसकेकै हो। यो विषय छलफलमा आउँदै सेलाउँदै गरिरहेको छ। अब यसबारे पुनः ठोस छलफल गर्नेछौं।'

पर्यटकका लागि नेपालपट्टि एउटामात्रै अलि व्यवस्थित तर महँगो होटल छ शेर्पा च्यालेट। होटलमा ५० पर्यटक अटाउँछन्। बाँकी २ होटल छन्। यहाँका नेपाली होटलमा प्रयोग हुने पानीसमेत निकै तलबाट डोकोमा ओसार्नुपर्ने बाध्यता छ। शेर्पा च्लालेट होटल सञ्चालिका निमाफुटी शेर्पाले नेपालको बाटो भएर पर्यटकहरू यहाँ आइपुग्नै कठिन रहेको सुनाइन्।

 माइमझुवा र माबु गाविसबाट यहाँसम्म मोटरबाटो, पदमार्ग विस्तार गर्ने प्रसस्त सम्भावना छ। करिब ५ वर्षअघि माबु हुँदै कालपोखरीसम्म कच्ची सडक पुर्‍याइएको थियो। त्यहाँबाट स्थानीय होटल र यातायात व्यवसायीले करिब ७ किलोमिटर कच्ची सडक आफैं विस्तार गरे। तैपनि, कालपोखरी–बिखेभञ्याङको २ किमीमा मात्रै ल्यान्डरोभर चल्न सकेको छैन। अहिले बिखेदेखि सन्दकपुरसम्मको करिब ४ किमीमा सवारी गुड्नै सक्दैन। सन्दकपुरमा पर्यटकका लागि सुरक्षा निकाय पनि छैन। भौगोलिक रूपले विकट, त्यसमा पनि भारतीय सीमा क्षेत्र र बाक्लो जंगल भएकाले यहाँ सुरक्षा इकाई राख्न स्थानीयको माग छ। सन्दकपुरबाट करिब १८ किलोमिटरको जौबारी र माबुमा प्रहरी चौकी छन्। तर, त्यहाँ पनि सवारी र जनशक्ति अभाव छ। पर्यटकका लागि यातायात, बसोबास, खानपान र सुरक्षाको राम्रो व्यवस्था गर्नसके सन्दकपुरले इलामको पर्यटन विकासमा टेवा मात्रै दिँदैन, सन्दकपुरकै नामले देशले विश्वमा बेग्लै पहिचान कायम गर्न सक्छ।

प्रकाशित: २७ कार्तिक २०७३ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App