'बिग ब्याङ' सिद्धान्तअनुसार ब्रह्माण्ड सुरुमा केही मिलिमिटर नापको बिछट्टै सानो, तातो र उच्च घनत्र्व भएको अवस्थामा थियो। केही वैज्ञानिकका अनुमानअनुसार त्यतिबेलाको सम्पूर्ण ब्रह्माण्ड एउटा सानो चिया चम्चामा अटाउन सक्ने अवस्थामा थियो। यसबाट अनुमान गर्न सकिन्छ, त्यतिबेला ब्रह्माण्डको घनत्र्व कति उच्च थियो होला भनेर। उक्त अवस्थाको ब्रह्माण्डमा करिब १४ अर्ब वर्षअघि एक महाविस्फोट भयो जसलाई वैज्ञानिक भाषामा 'बिग ब्याङ' भनिन्छ। महाविस्फोट भएको तत्क्षण (एक सेकेन्डभन्दा खर्बौँ अंश कम समयमा) ब्रह्माण्ड खबौँखर्ब गुणाले विस्तार भयो। त्यसको केही समयपछि तातो बाक्लो वायुको निर्माण हुन थाल्यो। वायु विस्तारै चिसिन थाल्यो। वायुमा भएका अणु र परमाणुहरू मिलेर आकाशगंगा (ग्यालेक्सी), तारा र ग्रहहरू निर्माण हुन थाल्यो। यसैक्रममा करिब ४ अर्ब ५० करोड वर्षअघि पृथ्वीको उत्पत्ति भयो र करिब ३ अर्ब ५० करोड वर्षअघि पृथ्वीमा पहिलो जीवको उत्पत्ति भयो।
सुरुमा वैज्ञानिकहरू ब्रह्माण्ड स्थिर अवस्थामा रहेको विश्वास गर्थे। तर सन् १९२९ मा खगोलशास्त्री एडविन हबलले आफूले निर्माण गरेको टेलिस्कोपको मद्दतले आकाशगंगाहरू एकआपसबाट निरन्तर टाढा हुँदै गएको प्रत्यक्ष प्रमाण फेला पारे। अर्थात्, ब्रह्माण्ड पहिले सोचिएजस्तो स्थिर नभई यसको निरन्तर विस्तार भइरहेको छ। पछि वैज्ञानिकहरू एडविन हबलको समर्थनमा थप प्रमाण जुटाउन सफल भए। पछिल्लो खगोलीय खोजअनुसार बिग ब्याङको ९ अर्ब वर्षपछि देखि ब्रह्माण्ड निरन्तर विस्तार हुँदैआएको ठहर गरिएको छ। यसरी विगत १४ अर्ब वर्षमा ब्रह्माण्ड खर्बौँ गुणाले विस्तार भएको छ। विज्ञहरूका अनुसार ब्रह्माण्ड विस्तार हुने यो क्रम भविष्यमा पनि निरन्तर रहनेछ र एक दिन यो ब्रह्माण्ड शून्यमा परिणत हुनेछ। यस सिद्धान्तअनुसार ब्रह्म्ााण्ड निरन्तर विस्तार भइरहने भएकाले यसलाई वैज्ञानिक भाषामा 'इन्फ्लेसन थ्योरी' भनिन्छ।
'बिग ब्याङ' सिद्धान्तको समर्थनमा प्रशस्त प्रमाण भेटिएका छन्। नयाँ खगोलीय अवलोकन र खोजको आधारमा उक्त सिद्धान्तलाई वैज्ञानिकहरूले पटकपटक संशोधन पनि गर्दैआएका छन्। तथापि कतिपय विज्ञहरूका अनुसार उक्त सिद्धान्त आज पनि अपूर्ण छ र यसले ब्रह्माण्डको उत्पत्तिबारेका कैयौँ प्रश्नलाई चित्त बुझ्ने गरी व्याख्या गर्न सकेका छैनन्। उदाहरणका लागि 'बिग ब्याङ' अघिको अवस्थाको ब्रह्माण्डको उत्पत्ति कसरी भयो, 'बिग ब्याङ' किन र कसरी भयो? ती प्रश्नका कुनै स्पष्ट उत्तर आज पनि प्राप्त हुन सकेको छैन।
ब्रह्माण्डको अध्ययनबारे एउटा रमाइलो प्रचलित धारणा छ। यस सिद्धान्तअनुसार कसैले यो ब्रह्माण्ड केका लागि र किन यहाँ छ भन्ने भरपर्दा सिद्धान्त सफलतापूर्वक पत्ता लगायो भने त्यो सिद्धान्त तत्काल हराउँछ र त्यसलाई एक नयाँ बढी जटिल र दुरुह सिद्धान्तले प्रतिस्थापन गर्छ। सायद, यसै प्रचलित मान्यतालाई निरन्तरता दिँदै केही समयअघि अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयका पौल स्टाइन्हार्ट र संयुक्त राज्यको क्याम्ब्रिज विश्वविद्यालयका निल ट्युरोकले पहिलोपल्ट साबिक 'बिग ब्याङ' सिद्धान्तको विकल्पमा 'एन्डलेस युनिभर्स' ('अनन्त ब्रह्माण्ड')का नामले चिनिने नितान्त मौलिक सिद्धान्त प्रस्तुत गरेका छन्। अधिकांश ब्रह्माण्डशास्त्रीजस्तै स्टाइन्हार्ट र ट्युरोक पनि पहिले बिग ब्याङ सिद्धान्तमा विश्वास गर्थे। पछि उनीहरूले 'बिग ब्याङ' सिद्धान्तमा धेरै कमजोरी देखे र यसको विकल्पमा 'अनन्त ब्रह्माण्ड'को साहसिक सिद्धान्त अघि सारे। यस नयाँ सिद्धान्तले वास्तवमा ब्रह्माण्डको इतिहासलाई नै पुनर्लेखन गर्ने प्रयास गरेको छ।
'बिग ब्याङ' सिद्धान्तअनुसार स्थान (स्पेस), समय, पदार्थ र ऊर्जा सबैको आरम्भ 'बिग ब्याङ'पछि भएको हो र ब्रह्माण्ड एक दिन शून्यमा परिणत भई यसको अन्त्य हुनेछ। त्यसैले यस सिद्धान्तअनुसार 'बिग ब्याङ' पटके खगोलीय घटना हो। तर, स्टाइन्हार्ट र ट्युरोकले प्रस्ताव गरेका पछिल्लो 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तअनुसार 'बिग ब्याङ' ब्रह्माण्ड उत्पत्तिको सन्दर्भमा पहिलो र अन्तिम पटकको खगोलीय घटना होइन। यो नियमित दोहोरिइरहने चक्रीय घटना हो। 'बिग ब्याङ' स्थान र समयको आरम्भ होइन। स्थान र समयको आरम्भ कैयौँ ब्रह्माण्डीय चक्रअघि वा अनन्तकालअघि भएको हो।
स्टाइन्हार्ट र ट्युरोकले अघि सारेका 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तअनुसार ब्रह्माण्डको अन्त्य कहिल्यै हुँदैन। एउटा ब्रहमाण्डको अवसान भएपछि अर्काे बिग ब्याङ सुरु हुन्छ र नयाँ ब्रह्माण्डको निर्माण प्रक्रिया सुरु हुन्छ। यसरी नयाँ निर्माण भएको ब्रह्माण्डमा नयाँ पिँढीका आकाशगंगा, तारा, ग्रह र जीवको निर्माण हुनेछन्। यस सिद्धान्तअनुसार ब्रह्माण्ड निर्माण, अवसान र पुनर्निर्माणको चक्र अनन्त कालसम्म निरन्तर रहन्छ र प्रत्येक चक्र पुरा हुन केही खर्ब वर्ष लाग्नेछ। यस सिद्धान्तलाई वैज्ञानिक भाषामा 'साइक्लिक थ्योरी' पनि भनिन्छ।
'अनन्त ब्रह्माण्ड'को सिद्धान्तअनुसार ब्रह्माण्ड निर्माणको प्रत्येक चक्रको आरम्भ 'बिग ब्याङ'बाट आरम्भ हुन्छ। 'बिग ब्याङ' हरेक ब्रह्माण्डीय चक्रअघि र पछिको एक घटना हो। हरेक अघिल्लो चक्रले आउँदो पछिल्लो चक्रलाई निर्धारण गर्छ। उदाहरणका लागि वर्तमान ब्रह्माण्डको स्वरूप पछिल्लो 'बिग ब्याङ'बाट निर्धारण भएको हो भने त्यसैगरी वर्तमान ब्रह्माण्डमा आज भइरहेका घटनाले अर्को 'बिग ब्याङ' र त्यसबाट उत्पत्ति हुने नयाँ ब्रह्माण्डको स्वरूप निर्धारण गर्नेछ। 'बिग ब्याङ' सिद्धान्तले ब्रह्माण्डको एक दिन अवसान हुने परिकल्पना गरेकाले कतिपयले यसलाई निराशावादी सिद्धान्त मान्छन् भने 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तले ब्रह्माण्डको कहिल्यै अवसान नहुने परिकल्पना गरेकाले यसलाई बढी आशावादी सिद्धान्त मान्छन्।
'अनन्त ब्रह्माण्ड'को सिद्धान्त अहिलेसम्म शिशु अवस्थामै छ। तैपनि स्टाइन्हार्ट र ट्युरोक यस नयाँ सिद्धान्तले आजसम्मका सबै खगोलीय अवलोकन र घटनालाई साबिकको 'बिग ब्याङ' सिद्धान्तले जत्तिकै प्रभावकारी ढंगले व्याख्या गर्नसक्ने मात्र नभई 'बिग ब्याङ' सिद्धान्तले राम्ररी व्याख्या गर्न नसकिएका ब्रह्माण्डसम्बन्धी कतिपय पक्षलाई समेत तर्कपूर्ण रूपले व्याख्या गर्नसक्ने दाबी गर्छन्। 'अनन्त ब्रह्माण्ड'को सिद्धान्त र विषयवस्तुलाई समेटेर स्टाइन्हार्ट र ट्युरोकले संयुक्तरूपमा सन् २००७ मा 'एन्डलेस युनिभर्स' शीर्षकको पुस्तक प्रकाशित गरेका छन्। पछिल्लो समय उक्त पुस्तकले वैज्ञानिक समुदायमा ठूलो चर्चा पाएको छ। ब्रह्माण्डशास्त्रमा रुचि भएका सर्वसाधारणलाई पनि उक्त पुस्तक उपयोगी र रोचक हुनेछ।
'अनन्त ब्रह्माण्ड'को परिकल्पना वास्तवमा नयाँ होइन। पश्चिमी जगतमा पनि ५०० ई. पू. सम्म अनन्त ब्रह्माण्डकै कल्पना गरिन्थ्यो। सन् १९२० को दशकमा आइन्स्टाइनले पनि अनन्त ब्रह्माण्डको कल्पना गरेका थिए। तर त्यतिबेला उक्त सिद्धान्तको समर्थनमा पर्याप्त वैज्ञानिक आधार जुटाउन सकिएको थिएन र उक्त सिद्धान्तले निरन्तरता पाउन सकेन। यसैगरी विष्णु पुराणलगायतका कतिपय प्राचीन हिन्दु ग्रन्थमा पनि अनन्त ब्रह्माण्डको विस्तृत वर्णन गरिएको स्टाइनहार्ट र ट्युरोकद्वारा प्रकाशित पुस्तक 'एन्डलेस युनिभर्स'मा उल्लेख गरिएको छ। विष्णु पुराणमा उल्लेख भएअनुसार एक ब्रह्माण्डको अन्त्य भएर अर्काे ब्रह्माण्डको निर्माण हुन करिब ३ खर्ब वर्ष लाग्छ। स्टाइनहार्ट र ट्युरोकले अघि सारेको 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तअनुसार पनि एक ब्रह्माण्डको अन्त्य भएर अर्काे ब्रह्माण्डको निर्माण हुन करिब त्यत्तिकै समय लाग्ने देखिन्छ।
'अनन्त ब्रह्माण्ड'को सिद्धान्तलाई विश्वका ब्रह्माण्डशास्त्रीले पूर्णरूपमा स्वीकार गरिसकेका छैनन्। तापनि कतिपय विज्ञले यो नयाँ सिद्धान्तलाई बहुसंख्यक ब्रह्माण्डशास्त्रीले हाल समर्थन गर्दै आएको 'बिग ब्याङ' सिद्धान्तको एक प्रबल र तर्कपूर्ण विकल्पका रूपमा लिन थालेका छन्। 'बिग ब्याङ' सिद्धान्तका समर्थक तथा विश्वप्रसिद्ध ब्रह्माण्डशास्त्री स्टिफन हकिङले समेत स्टाइनहार्ट र ट्युरोकले अघिसारेका 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तलाई 'बिग ब्याङ' सिद्धान्तको 'चुनौतीपूर्ण विकल्प'का रूपमा स्वीकारेका छन्। 'अनन्त ब्रह्माण्ड'को सिद्धान्त कालान्तरमा प्रचलित 'बिग ब्याङ' सिद्धान्तलाई विस्थापित गर्न सफल हुन्छ वा हँुदैन भन्ने चाहिँ भविष्यले बताउनेछ। परन्तु, यस नयाँ सिद्धान्तले ब्रह्माण्डशास्त्रीबीच गम्भीर बहसको थालनी भने गरेको छ।
पछिल्लो समयमा ब्रह्माण्डशास्त्रका क्षेत्रमा उल्लेखनीय उपलब्धि भएपनि 'बिग ब्याङ'अघिको अवस्थाको ब्रहमाण्डको उत्पत्ति कसरी भयो? भन्ने सबैभन्दा महत्वपूर्ण प्रश्न आज पनि अनुत्तरित नै छ। कतिपय वैज्ञानिक उक्त अवस्थाको ब्रह्माण्ड कुनै अलौकिक शक्ति वा ईश्वरले सृष्टि गरेका थिए भन्नेमा विश्वास गर्छन् भने स्टिफन हकिङजस्ता ब्रह्माण्डशास्त्री सुरुको अवस्थाको ब्रह्माण्ड वैज्ञानिक तथा भौतिक नियमअनुसार शून्यबाट स्वउत्पत्ति भएको हो भन्ने मान्यता राख्छन्। 'बिग ब्याङ' सिद्धान्तले जस्तै पछिल्लो 'अनन्त ब्रह्माण्ड'को सिद्धान्तले पनि यो महत्वपूर्ण प्रश्नको चित्त बुझ्दो जवाफ भने दिनसकेको छैन।
दर्शकलाई कुनै लामो नाटकको एउटा दृश्यमात्र हेरेर सम्पूर्ण नाटकको वास्तविक कथा अनि त्यसका पात्र, दृश्य र संवादबारे सही अनुमान गर्न कठिन भएजस्तै ब्रह्माण्डको आजको अवस्था हेरेर अबौँ वर्षअघि यसको उत्पत्ति कसरी भयो र पछि यसको भविष्य के हुन्छ भनेर पुरा विश्वासका साथ भन्न वैज्ञानिकका निम्ति कठिन र चुनौतीपूर्ण छ। तर, यति हुँदाहुँदै पनि ब्रह्माण्डको विगत, वर्तमान र भविष्यबारे ज्ञान आर्जन गर्न वैज्ञानिकहरू जति सफल भएका छन् त्यसैलाई पनि ठूलो मानव उपलब्धि मान्नुपर्छ।
प्रकाशित: २५ जेष्ठ २०६९ ०१:५१ बिहीबार

