२१ चैत्र २०८१ बिहीबार
image/svg+xml २३:५५ अपराह्न
विचार

‘किन’ बाटै सुरु हुन्छ क्रान्ति

अध्ययनका लागि रुचिपूर्ण विभिन्न पुस्तकमध्ये सिमोन सिनेकको पुस्तक स्टार्ट विथ ह्वाई अर्थात् ‘किनबाट सुरु’ एक हो। सफलताको मुख्य अवधारणा ‘किन, किन अनि किन ?’ मा लुकेको हुन्छ।

कुनै उद्देश्यबिनाको राजनीति, व्यापार, शिक्षा वा केही पनि विषय जोडिएको हुँदैन र त्यसलाई सफल बनाउने प्रेरणा स्रोत हो ‘किन’। त्यसैले जे काम गर्नु अगाडि सोचेर गर। किन गर्ने, के लाभ मिल्छ, कसलाई लाभ मिल्छ, के सिकाइ मिल्छ र दीर्घकालीन लाभ हासिल गर्न र बहुजनहिताय कसरी गर्ने भन्ने सोच्नुपर्छ। त्यसको प्रक्रिया के हो, प्रक्रियाको उपलब्धि कसलाई, किन, कसरी प्राप्त हुन्छ भन्ने नसोचेर नै व्यक्ति आफ्नो व्यक्तिगत जीवनमा होस् वा राज्यको नेतृत्वमा, सामाजिक सेवामा होस् वा आध्यात्मिक क्षेत्र, कहीं पनि स्थिर र विश्वसनीय बन्न सक्दैन।

पुस्तकका पाना जति अगाडि बढ्दै जान्थे, लाग्थ्यो ओहो ! यो पुस्तक त एकपटक हाम्रा नेताले पढिदिए पनि थोरै जवाफदेही, कर्तव्यपरायण र इमानदार बन्थे कि, आफ्नो भूमिका र नेतृत्वका उद्देश्य, जिज्ञासा र दीर्घकालीन दुष्टिकोणबारे केही स्पष्ट हुन्थे कि भन्ने भाव आइरह्यो। यो पुस्तकको सार समीक्षा र नेतृत्वको गहनतालाई मनन गर्दै जाँदा नेपालको राजनीतिक अस्थिरता, पटकपटकको सरकार परिवर्तन, दल विभाजन, दलबिचको गठबन्धन, बारम्बार हुने राजनीतिक संकट र सुदृढ शासन व्यवस्थाको अभावजस्ता कारणले धेरै पक्षलाई किन भनेर हेर्न खोज्दा व्यक्तिगत र दलगत स्वार्थबाहेक नागरिक समुदाय र राज्य अट्न नसकेको महसुस हुन्थ्यो। सिमोन सिनेकको प्रेरणा, उद्देश्य र गहिराइलाई पछ्याउँदै जाँदा नेपालको राजनीतिक स्थिति र राज्यको परिस्थितिलाई यसरी हेर्न सकिने रहेछ

–स्पष्ट र साझा ‘किन’को अभाव

नेपालको राजनीतिक अस्थिरताको मुख्य कारण नेता तथा दलले ‘किन’ भन्दा ‘के’ र ‘कसरी’ मा ध्यान केन्द्रित गर्नु हो। अधिकांश राजनीतिक दलले साझा राष्ट्रिय दृष्टिकोणभन्दा अल्पकालीन शक्ति, गठबन्धन र व्यक्तिगत लाभलाई प्राथमिकता दिन्छन्।

दीर्घकालीन स्थायित्व र राष्ट्रिय प्रगतिप्रतिको प्रतिबद्धताभन्दा व्यक्तिगत महत्त्वाकांक्षाका कारण पटक पटक सरकार परिवर्तन हुने गरेको छ। राजनीतिक नेताहरूले जनतालाई एकताबद्ध उद्देश्यसाथ प्रेरित गर्न असफल हुन्छन्, जसले मोहभंग, मतदाताको उदासीनता र बारम्बार विरोध प्रदर्शन हुन्छ।

उत्प्रेरणा अभाव

पुस्तकमा सिनेक भन्छन्– कमजोर संगठनहरू विश्वास र बफादारीलाई उत्प्रेरित गर्नुको सट्टा हेरफेर, डर, प्रोत्साहन र अल्पकालीन प्रतिज्ञामा निर्भर हुन्छन्। नेपालका राजनीतिक नेतृत्वले जातीय, क्षेत्रीय र वैचारिक विभाजनलाई सशक्त राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्नुको साटो आफ्नो पक्षमा मत प्राप्त गर्न प्रयोग गर्छन्। चुनावी अभियान, पपुलिस्ट नारा, अल्पकालीन वाचा र आर्थिक प्रोत्साहनले भरिएका हुन्छन्, जसले विश्वास वा दीर्घकालीन राजनीतिक स्थिरता निर्माण गर्दैन। पटक पटक पार्टी विभाजन र बदलिँदो गठबन्धनले वैचारिक प्रतिबद्धताको कमी देखाउँछ।

प्रेरणा दिने नेतृत्वको अभाव

स्थिर शासन भएका देशका नेताले नागरिकलाई आफ्नो नेतृत्व ‘किन’ भनेर प्रेरित र एकताबद्ध गर्छन्। नेपालमा राष्ट्र निर्माण र दीर्घकालीन प्रगतिभन्दा पनि अस्तित्व र व्यक्तिगत शक्तिमा केन्द्रित नेता छन्। दूरदर्शी नेतृत्वको अभाव छ। नेतृत्वले साझा दृष्टिकोणसाथ सबै दल र विचारधाराका मानिसलाई एकताबद्ध गर्न सक्नुपर्छ, यहाँको नेतृत्व यसमा चुकेको छ। यसको परिणाम राज्यले राजनीतिक अनिश्चितता, जनविश्वासको कमी र कमजोर शासन प्रणाली भोगिरहेको छ।

आगामी बाटो

अस्थिरताबाट पार पाउन नेपाली राजनीतिले नेता र नागरिक दुवैलाई प्रेरणा दिने बाध्यकारी ‘किन’मा ध्यान केन्द्रित गर्नुपर्छ। स्पष्ट राष्ट्रिय उद्देश्य जस्तै– दिगो विकास, समावेशी शासन र दीर्घकालीन आर्थिक वृद्धिले राजनीतिक कार्यहरूलाई मार्गदर्शन गर्नुपर्छ। नेताहरूले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर देशको हितलाई प्राथमिकता दिनुपर्छ। दूरदृष्टिमा आधारित नेतृत्वका लागि सार्वजनिक मागले पार्टीलाई शक्ति संघर्षबाट राष्ट्र निर्माणमा जान प्रेरित गर्न सक्छ। त्यसैले नेपालको राजनीतिक अस्थिरता साझा रूपमा मेरो नेतृत्व ‘किन’ भन्ने भावना अर्थात् दलीय स्वार्थभन्दा माथि उठेर एकीकृत राष्ट्रिय दृष्टिकोणको अभावबाट उत्पन्न भएको हो।

नेतृत्व दीर्घकालीन बफादारीसाथ सङ्घर्षरत प्रेरणादायी पात्र हो। नेतृत्वले आदेश दिने मात्र होइन, इमानदार नेताले आफ्नोपनलाई बलियो नेतृत्व र गहिरो विश्वास अनि बफादारीको उदाहरणबाट प्रस्तुत गर्नुपर्छ। नेताहरूले विश्वास जगाउनुपर्छ, देशलाई एकताबद्ध बनाउनुपर्छ र अल्पकालीन शक्तिको खेलभन्दा दीर्घकालीन स्थिरतामा ध्यान केन्द्रित गर्नुपर्छ। यदि नेपाली राजनीतिले सिनेकको सिद्धान्तलाई आत्मसात गर्न सक्यो भने स्थिर, दूरदर्शी र प्रगतिमुखी शासन प्रणालीको विकास हुन सक्छ।

व्यक्तिगत रूपमा त सफलता हासिल गर्नका लागि सुमधुर र स्थायी सम्बन्ध, सहज र शान्त दैनिक दिनचर्या, कर्ममा कौशलता र भविष्यका रणनीतिहरू अनि कडा परिश्रममा ध्यान केन्द्रित गर्नु जरुरी हुन्छ भने राष्ट्रिय नेतृत्व लिनेले यो कुशलता प्रमाणित गर्न नसक्ने हो भने दिशाहीन योजनातिर अघि बढिरहेको भन्नुपर्छ।

यस्तै अक्षम नेतृत्वले गर्दा नागरिकमा आशा एवं विश्वास मरेको छ। भ्रष्टाचार, शक्ति संघर्ष, सामाजिक उदासीनता, सुस्त विकास र अविश्वसनीयता ‘किन’मा केन्द्रित हुन नसक्नुको उपज हो। प्रत्येक दिन बिहान ब्युँझेर आँखा खोल्दा अस्तित्वलाई धन्यवाद दिएसँगै प्रश्न उत्पन्न हुनुपर्छ– मेरो जीवन, नेतृत्व र जिम्मेवारीको उद्देश्य के हो ? चुनौती र प्रतिकूलतालाई पनि आत्मसात गर्दै केवल आफ्नो जिम्मेवारीमा अडिग र आशावादी हुनु असल नेतृत्वको गुण हो। जब ‘किन’ भन्ने जिज्ञासा र उद्देश्य स्पष्ट हुँदैन, कुनै पनि नेतृत्वले स्थिरता र स्पष्टताको उदाहरण दिन सक्दैन।

असल नेतृत्वले समग्र राज्य र नागरिक समुदायको आन्तरिक उद्देश्यलाई ध्यान केन्द्रित गरेको हुनुपर्छ, न कि व्यक्तिगत लाभको अपेक्षा। धेरै सन्तले आफूलाई चेतनाको स्तरमा स्थित गराएका थिए, केवल एक जिज्ञासाको माध्यमबाट– म को हुँ र किन छु ? मैले ममार्फत यो सृष्टिलाई के गर्न सक्छु ? म हुनुको रहस्य के हो ? उनीहरूका हरेक ध्यान, प्रार्थना र अनुष्ठानको उद्देश्य हुन्थ्यो– कसरी म संसारका लागि सत्य र निष्ठाका लागि उचित मार्गदर्शन गर्न सक्छु ?

भागवत गीताले अर्जुनलाई व्यक्तिगत लाभका लागि होइन, धार्मिकताका लागि युद्ध गर्न सिकाउँछ। एक ध्यानी केवल आफू शान्त हुनका लागि ध्यान गर्दैन, आफूमार्फत सबैको अस्तित्वको प्रकृति बुझ्न र आफ्नो भूमिकाको गहिरो उद्देश्यसँग परिचित हुन साधना गर्छ। ओशो दर्शनले बताउँछ- बाहिर कुनै उद्देश्य नखोज, भित्रतिर फर्केर आफ्नो अस्तित्व पत्ता लगाऊ र जीवनलाई भित्री सत्यबाट स्वाभाविक रूपले बग्न देऊ। त्यसैले हरेक भूमिका, जिम्मेवारी र कर्तव्यपरायणताको उद्देश्यअनुरूपको उपलब्धि हासिल गर्न ‘किन, किन अनि किन ?’ भन्ने बोधले झस्क्याइरहनुपर्छ।  

प्रकाशित: २२ फाल्गुन २०८१ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App