२७ चैत्र २०८१ बुधबार
image/svg+xml २:१ पूर्वाह्न
विचार

भ्रष्टाचारविरुद्ध जनता जाग्ने बेला

विश्वका अनेकन् संस्थाको विभिन्न सुशासन सम्बन्धी अध्ययन प्रतिवेदनमा संसारमै अत्यधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा परेकोे मेरो देश नेपाल ! एउटा देश आफैं कसरी भ्रष्टाचारी हुन सक्छ? त्यो त केही भ्रष्टले गरेको भ्रष्टाचारले नेपाललाई अत्यधिक भ्रष्टाचार हुने मुलुकको दर्जामा पुर्‍याएको हो।

म एक जिम्मेवार नागरिक। एक भ्रष्टाचार व्याप्त देशको नागरिक। उसो भए के अब म पनि भ्रष्टाचारीमा गनिने भएँ ? भ्रष्टाचार आफैं नगरे पनि ! म भ्रष्टाचार गर्दिन, भ्रष्टाचारी होइन भने पनि नहुने। देश अति भ्रष्टाचारीको सूचीमा रहुन्जेल बाहिरियाले हेर्दा त सबै नेपाली भ्रष्टाचारी नै हुने भए। चाहे जोसुकैले गरेको किन नहोस्। के यसको मतलब नेपालीहरू सबै जन्मसिद्ध भ्रष्टाचारी हुने भो अब? आफ्नो हैसियत स्विकार्न बाध्य भएँ। भ्रष्टाचारले जकडिएको समाजको एक सदस्य। भ्रष्टाचारीको छाप लागेको मुलुकको जनता। के यसको मतलब भ्रष्टाचारको मूल जरो नै हामी नेपाली जनता?

हुन पनि हो, जनताबाटै सुरु भएर जनतामै टुंगिन्छ भ्रष्टाचार। जनताले स्वतन्त्रताको चाहना राख्यो। तर स्वतन्त्रताको मतलब जे पनि गर्न स्वतन्त्र भन्ने होइन। जनताको आफ्नै स्वराज चाह्यौं। स्वराज भनेको बहुसंख्यक जनताको हितका लागि काम गर्ने राज्य व्यवस्था हुनुपर्ने हो न कि आफैं राजा। लोकतन्त्रको स्थापना भयो। लोकतन्त्रले लोक कल्याणकारी राज्य प्रणालीको कल्पना गरेको हुन्छ। अराजक भिडतन्त्र होइन। जनताले आफ्नो र देशको हित गर्ने, सुशासन गर्ने जननायकको आवश्यकता महसुस गर्‍यो। त्यो नेता जोसँग देश बनाउने विहङ्गम दृष्टि होस्। जसले देशमा सुशासन कायम गरी सुख, शान्ति र समृद्धि फैलाओस्। जनताको मुहार खुसीले हँसिलो पारोस्।

हजारौं नेताका आकांक्षीमध्येबाट केही व्यक्तिसित मात्रै सही अर्थमा नेतृत्वदायी क्षमता हुन्छ। योग्य नेतृत्वको चयन बाटोमा हिँडिरहेको सामान्य भिडबिचबाट हुन सक्दैन। भिडले उचालेको नेता र भिडलाई सही दिशानिर्देश गर्दै डोर्‍याउन सक्ने नेतामा अवश्य भिन्नता हुन्छ।

सही नेतृत्व त्यो हो, जुन क्षमतावान् मानिसबिचबाट छानिएको हुन्छ। चुनिएको हुन्छ। कसैको आशीर्वादको टीका थापेर बनिँदैन नेता। जनता सार्वभौम त्यतिकै भएका होइनन्। जनतासित त्यस्तो शक्ति छ, जसले आफूलाई मन पर्ने मानिसलाई सत्तामा पुर्‍याउन सक्छ। अनि मन नपरेकालाई सडकमा। ती शक्तिशाली जनता आफ्नो पक्षमा ल्याउन तिनका इच्छा चाहनाअनुरूपका विचार अनि कार्यक्रम अघि सार्नुपर्ने हुन्छ दल र नेताहरूलाई। नभए टेरपुछ लगाउँदैनन् जनता। त्यसका लागि जनइच्छा र चाहनालाई महत्त्व दिनुपर्ने हुन्छ।

जनताको चाहना र आवश्यकता के हो भन्ने राम्रोसित बुझेको हुनुपर्छ एउटा नेताले। जनताको मन जितेको हुनुपर्छ आफू जित्नका लागि। जनताको मन जित्न त्यति सजिलो छैन। साँच्चै भन्ने हो भने एक सफल नेतामा शुद्ध आचरण, सदाचार, उच्चकोटीको विचार हुनु पनि जरुरी हुन्छ। तर हाम्रो समाज अनि यसका अगुवाहरू विचारभन्दा अर्थप्रधान हुन गएर पो फसाद पर्‍यो। अधिक आर्थिक चाहनाले मानिसलाई लोभी बनाउँछ। धेरै लोभले मानिसलाई व्यभिचारी बनाइदिन्छ। व्यभिचारले आचरणलाई भ्रष्ट बनाइदिन्छ। भ्रष्ट आचरण नै आखिरमा भ्रष्टाचार बन्न पुग्छ।

भ्रष्टाचार धेरै थरीका भए पनि हामी कहाँ धन र सम्पत्तिसित जोडिएर हेरिन्छ यसलाई। छिटो छिटो अत्यधिक धनसम्पत्ति जोड्ने चाहनाले मानिसलाई भ्रष्टाचारको दलदलमा फसाउँछ। सामान्यतः इमान्दारीपूर्वक धन सम्पत्ति जोडजाम गर्न समय लाग्छ। छिटो छरिटो रातारात धनसम्पत्ति आर्जन गर्न सकिँदैन। कम समयमै अत्यधिक सुख सुविधा भोग गर्ने चाहनाले मानिसलाई केही हदसम्म सदाचार त्याग्न पनि उक्साइरहेको हुन्छ।

त्यसैले त होला, जहाँ गयो त्यहीं भ्रष्टाचारको गन्ध। सायदै कुनै त्यस्तो ठाउँ होला, जहाँ भ्रष्टाचारको जालो नफैलिएको होस्। सर्वव्यापी भ्रष्टाचार। भ्रष्टाचारको दागमा लटपटिएका धेरै भए पनि सबभन्दा बढी भ्रष्टाचारको हिलो छ्यापिएकामध्ये राजनीतिक दल र कर्मचारीतन्त्र नै पर्छन् यो देशमा।

मुलुक हाँक्ने मुख्य संयन्त्र र त्यसका अगुवा नै भ्रष्ट भए भने अरू के नै चोखो बाँकी रहन्छ र? जनताको इच्छा आकांक्षा पनि अपरम्पार भइसक्यो अहिले। ती जनआकांक्षा पूरा गर्न दलहरूलाई पनि कसै न कसै, कतै न कतैबाट सहयोगको खोजी गर्नैपर्ने हुन्छ। सहयोगका लागि आह्वान गरिन्छ, अनुरोध गरिन्छ। केही सहयोगी हातहरू अघि सर्छन् मतलबी हातहरू। केही दिऊँ भनी अघि बढेका ती स्वार्थी हातहरू अनि ती सहयोगी भनाउँदाहरू नाफासमेत जोडेर आफ्नो सहयोग खर्च उठाउने कसरत गर्छन्।

अन्ततोगत्वा त्यो सबै खर्चको हिसाबको मार ठोक्किने जनताकै टाउकामा हो। बज्रिन्छ जोडले। बजार भाउदेखि दैनिक जीवनका आवश्यक सेवामा अकस्मात हुने मूल्य वृद्धिसम्म। नाफाखोरहरूको पक्षपोषण। सरकारको लाचारीपन। कुनै आश्चर्य भएन। स्वाभाविक रूपमै स्विकारिन्छ। स्विकार्न लगाइन्छ। गगनचुम्बी बजार भाउको मारमा रन्थनिएका तिनै जनता, आधा भरिएको पेट लिएर रात काट्न विवश हुन्छन्। ती भ्रष्टाचारीहरूको अनैतिक कमाइले जोडिएका सम्पत्ति हेरेर बस्न बाध्य हुन्छन्। अब यो भ्रष्टाचारको कहालीलाग्दो कथा कतिन्जेल लेखेर बस्ने ? जनता नब्युँझिए देश पनि नसुध्रिने भयो।

प्रकाशित: १२ फाल्गुन २०८१ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App