७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

शिक्षण विधिमा विद्यार्थीको भविष्य

सामान्य अर्थमा शिक्षण विधि पठनपाठनमा अवलम्बन गर्न सकिने विभिन्न कलाको समिश्रण हो। शिक्षण र विधि मिलेर बनेको यो शब्दको अर्थ पढाइ र पढाउने तरिका हुन आउँछ। तर फराकिलो अर्थमा शिक्षण विधि शिक्षाको गुणस्तर उकासी व्यक्तिको जीवनस्तरमा इँटा थपेर उसको सामाजिक, आर्थिक, सांस्कृतिक तथा हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयोग हुने एक हतियार हो।

नेपालको परिपेक्षमा हेर्ने हो भने २०७८ सालको जनगणनामा साक्षरता दर बढे पनि व्यक्तिमा देखिनु पर्ने सकारात्मक परिवर्तन आएको देखिँदैन। यसो हुनुमा नेपालमा भएका शैक्षिक संस्थाहरूको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ।

दक्ष जनशक्तिको अभाव, राजनीतिक नियुक्ति, भौगोलिक विकटताका कारण हाम्रो देश नेपालमा शैक्षिक गुणस्तरमा ह्रास आएको छ। शैक्षिक सामग्रीको सही प्रयोग गर्न नसक्दा पनि विद्यार्थीमा कुनै पनि सुधार आएको देखिँदैन। यसरी विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउन मात्र शिक्षकले शिक्षा प्रदान गर्छ भने त्यस्तो ज्ञानले कुनै पनि औचित्य राख्दैन। शिक्षा जीवनपयोगी हुनुपर्छ र बदलिँदो परिप्रेक्ष्यमा तादात्म्य राख्ने हुनुपर्छ। शिक्षण विधिका चरणहरूलाई माध्यम बनाइ विद्यार्थीमा हरेक सिपको विकास गरी उसको जीवनमा आमूल परिवर्तन ल्याउन सक्नु शिक्षाका प्रमुख उद्देश्य हुनुपर्छ।

शिक्षण विधि शिक्षकको एक हतियार हो। यो धारिलो हुन सक्यो भने मात्र यसले अपेक्षित नतिजा दिन सक्छ। विद्यार्थीमा विकास भएका र आर्जन गरेका जीवनपयोगी सिपका कारण उसले भविष्यमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न सक्छ। तर नेपालमा अझै पनि पुरातन सोच भएका शिक्षक पाइन्छन्। उनीहरूले आफ्नो सोचलाई समयअनुकूल परिवर्तन गर्न सकेका छैनन्। अर्को पक्ष के छ भने प्रभावकारी शिक्षण विधिमा ध्यान नदिई विद्यार्थीसँग नजिक रहन चाहने शिक्षकले उनीहरूलाई अहित गरिरहेका हुन्छन्। यस्तो अवस्थामा विद्यार्थीले कुनै पनि राम्रो कुरा शिक्षकबाट ग्रहण गर्दैनन्।

कक्षाकोठामा गएपछि मात्र सिद्धान्तको कुरा गरेर ४० मिनेटमा शिक्षकले आफ्नो कुरा मात्र राख्छ भने त्यो एक मृत कक्षा हुन जान्छ। त्यसैले बदलिँदो समयअनुसार शिक्षकले आफ्नो शिक्षण विधि परिवर्तन गर्नुपर्छ र शिक्षण गर्ने सिपको सोहीअनुसार विकास हुनुपर्छ। २१औँ शताब्दीको समयलाई विद्यार्थीलाई विज्ञान र प्रविधिसँग टाढा राख्नुहँुदैन। तर विडम्बनाको कुरा के हो भने कतिपय ठाउँमा अभिभावकलाई शिक्षकले विद्यार्थीलाई मोबाइल र कम्प्युटर छुन दिनुहुन्न भनेर पठाउने गर्छन् । यस्तोखालको सोचाइले ढुङ्गे युगलाई इंगित गर्छ। यस्ता साधनको सही उपयोगले विद्यार्थीको ज्ञानका स्तर बढ्छ।

फराकिलो सोचाइ राखी भूगोल अनुकूल स्रोत र साधन उपयोग गरी शिक्षकले आफ्नो शैक्षिक गतिविधिलाई लैजान सकेमा विद्यार्थीको ज्ञानदेखि व्यवहारसम्ममा अवश्य नै परिवर्तन आउँछ। कहिलेकाहीँ कक्षाकोठामा विद्यार्थीलाई शिक्षकको भूमिका दिएमा उसमा नेतृत्व गर्ने कला विकास हुन्छ। यसैगरी शिक्षकले विद्यार्थीकेन्द्रित शिक्षण विधि अंगाल्दा बच्चाको चौतर्फी विकास हुन्छ। शिक्षकले समयलाई ख्याल राखी उचित शिक्षण विधिलाई अपनाएमा जस्तोसुकै विद्यार्थीले सफलता हासिल गर्छ। कुनै पनि विद्यार्थी कमजोर हुँदैन।

बच्चालाई विद्यालयमा शिक्षकले प्रश्नपत्र आफैँ निर्माण गर्न लगाउने र त्यसैबाट कक्षा परीक्षा लिएमा बच्चाको भित्री दिमाग बल्ल सक्रिय हुन्छ। शिक्षकले बच्चालाई किताबी ज्ञान मात्र दिएमा बच्चा लगाव लगाएको घोडा जस्तो हुन्छ। तर त्यही बच्चालाई पढाइप्रति कसरी ध्यान दिने भन्ने कुरामा उत्प्रेरणा दिएमा उसले विभिन्न स्रोतको माध्यमद्वारा आफ्नो पढाइसम्बन्धी समस्याको समाधान आफैँ खोजी अघि बढ्छ। यसरी बच्चालाई घरमा भएको प्रविधिलाई कसरी आफ्नो पढाइसम्बन्धी समस्या समाधान गर्ने भन्नेबारे विभिन्न उपाय सिकाएमा बच्चा प्रविधिमय हुनेछ र अन्य ज्ञानको खोजी आफैँ गर्नेछ।

सरकारी तथा निजी विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शिक्षण विधि र शैक्षिक सामग्रीको सही प्रयोग हुनुपर्छ। विद्यार्थीकेन्द्रित शिक्षालाई बढी ध्यानमा राखेमा बच्चाले निर्धक्क भएर आफ्नो काम गर्नेछ। र, हरेक ठाउँमा विद्यार्थी आफैँले नेतृत्व गर्न सक्छ। यसरी शिक्षा जस्तो महत्त्वपूर्ण कुरामा कमजोरीपन भएमा अन्य पूर्वाधारमा पनि ठूलो क्षति पुग्न जानेछ।

प्रकाशित: २७ पुस २०८० ००:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App